कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

बेंसीसहरमा त्रिवेणी कप फुटबल प्रतियोगिता सुरु

आश गुरुङ

लमजुङ — गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप फुटबल प्रतियोगिताको ३१ औं संस्करण लमजुङ सदरमुकाम बेंसीसहरमा बिहीबारबाट सुरु भएको छ ।

बेंसीसहरमा त्रिवेणी कप फुटबल प्रतियोगिता सुरु

त्रिवेणी रंगशाला सहजी खेलमैदानमा भएको उद्घाटन खेलमा सुन्दरबजार फुटबल क्लबले आयोजक त्रिवेणी युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । खेलको १६ औं मिनेटमा त्रिवेणीका टिम क्याप्टेन टंक गुरुङले पेनाल्टीमार्फत गोल खाता खोले पनि त्यसपछि कुनै गोल गर्न नसक्दा उपाधिको दाबेदार मानिएको आयोजक त्रिवेणी युवा क्लब पहिलो दिन नै प्रतियोगिताबाट बाहिरिएको छ ।

लगातार ३ गोल गरेको सुन्दरबजार फुटबल क्लबले पहिलो हाफमा कुनै गोल गर्न सकेन । दोस्रो हाफको २ मिनेटमै दिपेश घलेले गोल फर्काएपछि आयोजक त्रिवेणीसँग खेल बराबरी भएको थियो । त्यसपछिको रोमाञ्चक खेलमा सुन्दरबजारका तर्फबाट २२ औं मिनेटमा सरोज तामाङले फ्रिकिकमार्फत गोल गरेपछि थप हौसिएको सुन्दरबजार टीमका एरोन थापाले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित सुनिश्चित गरेको हो । दोस्रो हाफमा लगातार ३ गोल गरेको सुन्दरबजार फुटबल क्लबले अब पुस १६ गते लमजुङ मर्स्याङ्दी युवा क्लबसँग खेल्नेछ ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं आयोजक त्रिवेणी युवा क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले सदरमुकाममा रहेको खेलमैदानलाई थप व्यवस्थित गर्न आवश्यक रहेको र यसका लागि प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाए । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सहजी खेल मैदान बेंसीसहरको गहना भएको भन्दै यसलाई थप व्यवस्थित गर्न नगरपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

शुक्रबारको पहिलो खेल बेंसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाबीच बिहान साढे ९ बजे हुनेछ । दोस्रो खेल सामना युवा क्लब तुरतुरे र काष्ठमण्डम रेस्टुरेन्ट एण्ड बार फुटबल क्लब काठमाडौंबीच मध्याह्न साढे १२ बजे हुने छ ।

शुक्रबारको अन्तिम खेल पेन्गुइन एजुकेसन भरतपुर २४ र ठडराई अधिकारी समाज दुईथोकबीच दिउँसो साढे २ बजे हुने खेल संयोजक सिजन श्रेष्ठले जानकारी दिए । कुल २१ टिमले सहभागिता जनाएको प्रतियोगितामा विभागीय टिमहरु त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लब साथै क्वीन गोर्खाज युकेलगायत प्रतिष्ठित टीमहरुले भाग लिने त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

प्रतियोगितामा विजयी टिमलाई ८ लाख रुपैयाँ, त्रिवेणी कप, जनही स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । उपविजेताले ४ लाख रुपैयाँ, जनही रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमीफाइनल पराजित २ टीमलाई १–१ लाख रुपैयाँ प्रदान गरिने भएको छ । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०–२० हजार रुपैयाा दिइने छ ।

प्रकाशित : पुस १२, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×