कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

नेपाल सुपर लिग : सुल्झियो जटिल प्लेअफ समीकरण

लिग चरणको अन्तिम दिन मैदानबाहिर रहेरै सबैभन्दा ठूलो हार आत्मसात् गर्ने टिम बन्यो झापा एफसी
बुटवल–लुम्बिनी १–० वीरगन्ज, काठमाडौं १–० ललितपुर
हिमेश

काठमाडौँ — अब प्रस्ट भएको छ नेपाल सुपर लिगको शीर्ष चारमा कुन–कुन टिम रहने छ भनेर । यसका लागि शनिबार लिग चरणको अन्तिम खेलको अन्तिम ह्विसलसम्मै कुर्नुपर्‍यो । तर, यसले गजबको संयोग भने अगाडि ल्याएको छ । 

नेपाल सुपर लिग : सुल्झियो जटिल प्लेअफ समीकरण

लिगको आठौं चरणमा भिडेका टिम नै प्लेअफको सुरुआती दुई खेलमा भिड्नेछन् । त्यो भनेको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध धनगढी एफसी अनि इलिमिनेटरमा काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसी ।

दशरथ रंगशालामा लिग चरणको अन्तिम खेल थियो डिफेन्डिङ च्याम्पियन काठमाडौं र ललितपुरबीच । खेलको नतिजा काठमाडौंको पक्षमा १–० ले रह्यो । टोलीलाई यो खेल जसरी पनि जित्नु थियो र जित्यो पनि । निर्णायक गोल भने आन्द्रेस निआको नाममा रह्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डाइभिङ हेडको मदतमा गोल गरे । उनका लागि क्रस मिलाउने काम गरेका थिए विदेशी खेलाडी तोजिडिनोभ कोमोउनले ।

काठमाडौंको यो जितपछि १२ अंक भएको छ । ललितपुर भने १० अंकमै सीमित रह्यो । शीर्ष चारमा रहेर कसले कोसँग प्लेअफ खेल्ने हो, त्यसको निर्णयको आधार भने शनिबारकै पहिलो खेलले गरेको थियो । त्यसमा बुटवल–लुम्बिनी एफसीले वीरगन्ज युनाइटेडलाई १–० ले हराएको थियो । वीरगन्जले भने जित्नैपर्ने खेल थियो । तर जितेन । बुटवल–लुम्बिनीका लागि चन्दन दासले एरिक विष्टको पास सदुपयोग गर्दै दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरे ।

यो जितपछि बुटवल–लुम्बिनीको पनि १० अंक भयो । टोली छैटौं स्थानमा रह्यो । अन्तिम दिनको खेलमा मैदानमा सबैभन्दा ठूलो हार बेहोर्ने टिम वीरगन्ज भयो । मैदानबाहिर रहेर पनि खेल्दै नखेलेर सबैभन्दा ठूलो हार आत्मसात् गर्ने टिम भने झापा एफसी रह्यो । झापा १० अंकसहित पाँचौं स्थानमा रह्यो । अन्तिम दुई लिग खेलको नतिजा टोलीको अनुकूल आएको भए झापाको पनि प्लेअफ खेल्ने सम्भावना जीवित थियो । तर, त्यो भएन ।

यो अर्थमा भाग्यमानी टिम भने ललितपुर सिटी रह्यो । तीन टिम समान १० अंकमा रहेकामा त्यसमध्ये झापा र लुम्बिनी–बुटवलभन्दा गोल अन्तरले ललितपुर अगाडि रह्यो । ‘कन्सर्न्ड टिम’ बीच ‘हेड टु हेड’ मा ललितपुर अगाडि रहेको हो । यी तीन टिमबीचको खेलमा ललितपुरले बुटवल–लुम्बिनीलाई २–० ले हराएको थियो भने झापासँग गोलरहित बराबरी खेलेको थियो । झापाले भने बुटवल–लुम्बिनीलाई १–० ले पराजित गरेको थियो । त्यस अर्थमा तीनै टिमबीचको खेलमा मात्र ललितपुर र झापाको ४ अंक भयो भने बुटवल–लुम्बिनीको शून्य । समान ४ अंकको स्थितिमा पनि ललितपुर गोलअन्तरमा झापाभन्दा अगाडि रह्यो । ललितपुरको प्लस टु । झापाको प्लस वान मात्रै । यसरी प्लेअफको समीकरण कठिन र जटिल बनाउने काम लिग चरणको अन्त्यतिर निस्केको अनपेक्षित नतिजाले नै गरेको थियो । यिनै अनपेक्षित नतिजाले नै लिग चरणको अन्तिम ह्विसलसम्म सनसनी कायम राख्यो ।

सुल्झियो जटिल ‘प्लेअफ’ समीकरण पनि । खेलपछि स्वभाविक रूपमा काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन खुसी देखिए । उनले भने, ‘आज जित्नैपर्ने आवश्यकता रहेको हुनाले हामी दबाबमा थियौं । पहिलो हाफमै गोल निस्केपछि हामीलाई सजिलो भयो । दोस्रो हाफमा एक खेलाडी कम भएर खेल्नुपर्दा पनि गाह्रो भयो ।’ खेलको ७५ औं मिनेटमा अमित तामाङलाई रेफ्री प्रज्ज्वल क्षेत्रीले सिधा रातो कार्ड देखाएका थिए । फोर्थ अफिसियल राम दसनसँगको सल्लाहमा यो निर्णय सुनाइएको थियो ।

पूरा घटना रेफ्री क्षेत्रीले आफैं देखेनन् । तर भएको के थियोभन्दा अमितले निखिल कदमलाई टाउकोले हानेर लडाएका थिए । हारमा ललितपुरका प्रशिक्षक इयान एन्ड्र्यु गिलान निराश त रहे तर उनले अब नयाँ अवसर थपिएको माने । उनले भने, ‘यो हारमा हामी दुःखी छौं । तर हाम्रोसामु प्लेअफ अवसर पनि छ । त्यसैले अब हाम्रो ध्यानमा त्यसमा केन्द्रित हुनुपर्नेछ ।’ आइतबार एक दिनको विश्रामपछि प्रतियोगिता अब क्वालिफायर/इलिमिनेटरको चरणमा प्रवेश गर्नेछ ।

सोमबारको खेल (क्वालिफायर १)

पोखरा थन्डर्सविरद्ध धनगढी एफसी

मंगलबारको खेल (इलिमिनेटर)

काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी

प्रकाशित : पुस ८, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×