कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

पोखरा थन्डर्सको ‘प्लेअफ’ पक्का

नेपाल सुपर लिगमा प्लेअफ नजिक रहेर पनि ललितपुर सिटीको त्यहाँ पुग्ने बाटो एकाएक कठिन, बुटवल–लुम्बिनी पनि गणितीय सम्भावनामा
हिमेश

काठमाडौँ — पोखरा थन्डर्सका लागि मंगलबार बुटवल–लुम्बिनी एफसीमाथि प्राप्त जित वास्तवमै सुखद रह्यो । नवीन न्यौपानेले सम्हालेको पोखरेली टिमले त्यो काम गरेको छ, जुन पहिलो संस्करणमा गर्न सकेको थिएन । त्यो भनेको पोखरा नेपाल सुपर लिगमा यसपालि प्लेअफलाई छनोट हुने पहिलो टिम बनेको छ । टिम ७ खेलबाट १४ अंक बटुल्दै शीर्षस्थानमा उक्लेको छ । आफ्नो अन्तिम खेलको नतिजा जस्तै रहे पनि पोखरा शीर्ष चारमा रहने निश्चित भएको छ । 

पोखरा थन्डर्सको ‘प्लेअफ’ पक्का

पोखराको अन्तिम खेल छ धनगढी एफसीविरुद्ध । वर्ष ०७८ मा पोखरा गोल अन्तरकै कारण शीर्ष चारमा प्रवेश गर्नबाट वञ्चित भएको थियो । तर, अब पोखरासामु त्यो पीडा बिर्सने बहाना मिलेको छ । पोखरालाई यसपालि विजयी गोल सम्भव भयो दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा । आयुष घलानको उत्कृष्ट पासमा मोसेस ग्याबाहले गोल गरे । यस प्रदर्शनसँग घानाका ग्याबाह प्रतियोगितामा अहिलेसम्म सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा चौथो गोलसहित अगाडि छन् ।

आयुषको पास वास्तवमै कति राम्रो रह्यो भने ग्याबाहको गोल सजिलो देखियो । बुटवल–लुम्बिनीका लागि भने यो हार स्वाभाविक रूपमा निराशाजनक रह्यो । यसले टोलीको प्लेअफ सम्भावना कमजोर बनाएको छ । अब कुनै पनि प्रकारको सम्भावनाका लागि बुटवल–लुम्बिनीले जितेर मात्र पुग्ने छैन । अरू टिमको नतिजा पनि आफूअनुकूल हुनुपर्नेछ । बुटवल–लुम्बिनी ७ खेलबाट ७ अंकमै सीमित रहेर सातौं स्थानमा रह्यो ।

बुटवलको सम्भावना पूर्णतः समाप्त भएको छैन । तर, यो धेरै अर्थमा गणितीय मात्र हुन सक्नेछ । त्यसैले पनि प्रशिक्षक विजय महर्जनले माने, अबको खेल प्रतिष्ठाका लागि हुनेछ ।

अर्कोतर्फ पोखराका प्रशिक्षक न्यौपानेले भने टिमको पहिलो लक्ष्य सफल भएको बताए । उनले भने, ‘टिमले विश्वास देखाएको छ शीर्षस्थानमै लिग टुंग्याउने । टिमले कडा मिहिनेत गरेको छ । अरूभन्दा हाम्रो टिम बलियो देखिएको छ र यसलाई हामी निरन्तरता दिन चाहन्छौं ।’

ललितपुरलाई लज्जा र आपत्ति

आफ्नो टिमको खराब प्रदर्शनलाई लुकाउने सबैभन्दा राम्रो उपाय बनेको छ, रेफ्रीको आलोचना । यसकै अर्को उदाहरण बन्यो ललितपुर सिटी एफसीले दिनको पहिलो खेलमा स्पोर्टिङ इलामविरुद्ध बेहोरेको हार । आलोचना मात्र होइन, सक्दो गाली गर्ने चलन देखिएको छ । ललितपुरले यो खेल खेल्नै सकेको थिएन । खेलाडीहरूले अनगिन्ती व्यक्तिगत भुल गरे । प्रशिक्षक इयान एन्ड्र्यु गिलानीले पनि माने, ललितपुर हारकै लागि योग्य थियो ।

ललितपुरलाई हराउँदा विजयी गोल गरेका स्पोर्टिङ इलामका फोडे कमाराको सलाम । तस्बिर : केशव थापा/कान्तिपुर

तर, उनका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले यत्तिको पनि स्वीकार्न सकेनन् । उनले त्यस्तो व्यवहार गरे, जुन सर्वथा अस्वीकार रहेको छ । सम्भवतः ललितपुरलाई पनि आफ्ना सहायक प्रशिक्षकको यो हर्कतमा लाजलाग्दो हो । आपत्ति पनि हुँदो हो । अरू सबैलाई त यस्तै हुने भयो नै । सिलाकारलाई निरन्तर खराब व्यवहारका लागि खेल सकिएलगत्तै भारतीय रेफ्री सुरोजित दासले रातो कार्ड देखाए । त्यसपछि उनको व्यवहार थप उग्र रह्यो ।

उनले सुरुमै रेफ्रीतर्फ लात्ती हाने र लगातार अपशब्द प्रयोग गरिरहे । आक्रमण गर्ने धम्की दिए । त्यतिमात्र होइन, उनले प्रयोग गरेका शब्द कुनै जाति, वर्ण र भाषालाई होच्याउने खालको पनि थियो । यस्तो व्यवहारमा यसअघि खेलाडीलाई एक वर्षसम्म प्रतिबन्ध लगाइएको नजिर छ । के उनलाई पनि यस्तै हुनेछ त ? उनले बोलेका शब्द प्रशिक्षक गिलानीले पनि सुने । गिलानीले भने, ‘म नेपाली भाषा बुझ्दिनँ ।’ यसपल्टको प्रतियोगितामै ललितपुरको यो पहिलो हार हो । यसमा तिनै प्रशिक्षक गिलानीको शिर झुकेको देखियो ।

यससँगै उसको छ खेलको सुन्दर अपराजित यात्रामा पनि टुंगो लागेको छ । नेपाल सुपर लिगको छोटो इतिहासमा यो नै सबैभन्दा लामो कीर्तिमान अपराजित यात्राको क्रम हो, जसको अन्त्य निकै खेल भावनाको विल्कुल विपरीत रह्यो । हारले ललितपुर ७ खेलबाट १० अंकमा सीमित रह्यो । अब टोलीको अन्तिम खेल काठमाडौं रेजर्सविरुद्ध छ । एउटा हारको मूल्य कति धेरै महँगो हुन सक्छ भन्ने त्यसको उदाहरण यो खेल हुन सक्छ ।

प्लेअफको नजिक रहेर पनि ललितपुरलाई त्यहाँ पुग्ने बाटो एकाएक कठिन देखिएको छ । सम्भवतः सहायक प्रशिक्षक सिलाकारको व्यवहारले टिमलाई मानसिक दबाबमा राख्नेछ र राम्रो प्रदर्शन गर्न सकारात्मक कारणको कमी हुनेछ । जितले स्पोर्टिङ इलामको भने ८ खेलबाट ८ अंक भएको छ । टोली पाँचौंमा उक्लेको छ । यसअघि नै टोलीको प्लेअफ सम्भावना समाप्त भइसकेको थियो । तर, आफ्नो अन्तिम खेल जितेर इलामले खुसी हुँदै डेब्यु सिजनबाट बिदा लिएको छ ।

प्रशिक्षक मेघराज केसीले भने, ‘हामी हाँसेको अनुहार लिएर प्रतियोगिताबाट बाहिरिएका छौं ।’ उनले फेरि एकपल्ट त्यही तथ्य दोहोर्‍याए । आफ्ना ८ खेलमा इलामले एकपछि अर्को आक्रमण त बुन्यो, तर ती सबै बिरलै निर्णायक भए । इलामको अन्तिम खेलको निर्णायक गोल भने फोडे कमाराको नाममा रह्यो । उनले ५९ औं मिनेटमा सबैभन्दा पहिले ललितपुरका डिफेन्डर नुरेन करिमबाट बल खोसे र विपक्षी गोलरक्षक जेफरी विल्लीलाई बिट गर्दै गोल गरे ।

आजको खेल

झापाविरुद्ध धनगढी

प्रकाशित : पुस ४, २०८० ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×