भारतमा पहिलोपल्ट नेपाली गल्फरले जिते उपाधि
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपाली गल्फर सुवास तामाङ आइतबार आईजीयू १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जित्न सफल भएका छन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगितामा ट्रफी जितेको पहिलो पटक हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![भारतमा पहिलोपल्ट नेपाली गल्फरले जिते उपाधि](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/11111111111111111-17122023043355-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
रोयल कोलकाता गल्फ क्लबमा म्याच–प्ले फर्म्याटमा खेलिएको ३६ होलको फाइनलमा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवासले भारतीय गल्फर रोहितलाई ९/७ ले पराजित गरेका थिए । सन् १८९२ मा सुरु भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् ।
पहिलो ९ होलमा पछि परेको अवस्था उल्टाएर १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण विजेता सुवासले सात होल बाँकी रहँदा उपाधि आफ्नो पक्षमा पारेका हुन् । चौथो वरीयताका सुवास र तेस्रो वरीयताका रोहितबीचको पहिलो ९ होलको प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो ।
सुरुको दुई दिन स्ट्रोक प्ले फर्म्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच प्लेलाई छनोट भएका थिए । स्ट्रोक प्लेमा सुवास १ ओभर ७३ र २ अन्डर ७० खेल्दै चौथो भएका थिए । म्याच प्लेको सुरुआती तीन राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमिफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित पाएका थिए ।
नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति पाएका सुवास दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरुण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत छन् । नेपाल गल्फ संघले डिसेम्बर २१ मा अर्का एमेच्योर गल्फर राहुल विकलाई पनि प्रशिक्षणका लागि तरुण सरदेशाई एकेडेमीमा पठाउने जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)