कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भरतपुरमा क्वाड्राङ्गुलर ट्वान्टी–२० क्रिकेट सिरिज सुरु, चितवन र नवलपुर विजयी

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा आइतबारदेखि चितवन, नवलपुर, मकवानपुर र पर्सा जिल्लाका चार क्रिकेट टिम सहभागी भएका क्वाड्राङ्गुलर ट्वान्टी–२० क्रिकेट सिरिज सुरु भएको छ । भरतपुर–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना क्रिकेट मैदानमा पहिलो दिन चितवन र नवलपुर विजयी भएका छन् ।

भरतपुरमा क्वाड्राङ्गुलर ट्वान्टी–२० क्रिकेट सिरिज सुरु, चितवन र नवलपुर विजयी

चितवनले पर्सालाई ४३ रनले र नवलपुरले मकवानपुरलाई २२ रनले पराजित गर्‍यो । टस जितेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनायो । प्लेयर अफ द म्याच ओपनर विकल गुप्ताले ४० बल खेली ५३ रन बनाए । पर्साका सेराफुल हवारीले ३, सैफुल्लाह अन्सारीले २ तथा एफाज मन्सुरी, सम्साद मन्सुरी, नसुरिदिन अन्सारी र सम्साद अन्सारीले समान एक विकेट लिए ।

पर्सा १८ ओभरमा ८२ रनमा अलआउट भयो । चितवनका दिवस आचार्यले ४ ओभरमा १३ रन खर्चिएर ३ तथा दानिस इकबाल, क्रिजन गुरुङ र नरेश प्रधानले समान २ तथा दीपेश श्रेष्ठले १ विकेट लिए । पर्साबाट सम्साद मन्सुरीले २८ र सम्साद अन्सारीले २५ रन जोडे ।

दोस्रो खेलमा पहिला ब्याटिङ रोजेको नवलपुरले ९ विकेट गुमाएर १ सय १७ रन बनायो । कमल परियारले १९ बल खेली ३ छक्का प्रहार गर्दै २७, गोविन्द विकले २३ र रिजन काफ्लेले २१ रन बनाए । मकवानपुरका रिजन ढकालले ४ तथा समीर चौलागाईं, शुभ कंसाकार, साकार गजुरेल र सुवर्ण भट्टले समान १ विकेट लिए ।

मकवानपुर ९ बल बाँकी छँदा ९५ रनमा अलआउट भयो । सन्देश बस्नेत र गोकुल अधिकारीले समान २१, सुमन सुनारले १६ र शुभले ११ रन बनाए । नवलपुरका अपरिचित पौडेलले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चिएर ३ विकेट लिँदै प्लेयर अफ द म्याच बने । शिशिर भुसाल र कुमार रानाले समान २ तथा सुदीप अर्यालले १ विकेट लिए ।

सोमबार नवलपुर र पर्सा तथा चितवन र मकवानपुरबीच खेल हुनेछ । चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता सिंगल राउन्ड लिगका आधारमा खेलाइनेछ । सहभागी चार टोलीले हरेकसँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल मंसिर २७ मा हुनेछ । विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले अहिले सम्मिलित चार जिल्लाले आउँदा दिनमा पनि मिलेर प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको जनाए ।

प्रकाशित : मंसिर २४, २०८० २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×