कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल सुपर लिग : ललितपुरको एक पाइला अर्को चरणमा

ललितपुर ३–१ चितवन
हिमेश

काठमाडौं — सम्भवतः ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको अर्को चरणमा एक पाइला राखेको छ । त्यो भनेको कि त क्वालिफायर । होइन भने इलिमिनेटर । यसका लागि ललितपुरले धन्यवाद दिनुपर्नेछ, फ्रान्सेली फरवार्ड पापा केबेलाई । आफ्नो जन्मदिनकै अवसर पारेर उनले दुई गोल गरे । 

नेपाल सुपर लिग : ललितपुरको एक पाइला अर्को चरणमा

अनि ललितपुर १० खेलाडीमा सीमित एफसी चितवनमाथि प्रभावशाली जित निकाल्न सफल रह्यो, भलै चितवनले तेर्साएको चुनौती आफैंमा कमजोर थिएन । लिग चरणका बाँकी तीन खेलमा नाटकीय नतिजा बेहोरेन भने ललितपुरलाई अर्को चरण पुग्नबाट रोक्न सकिने छैन् । यो जितसँगै ललितपुर अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । उसको पाँच खेलबाट नौ अंक भएको छ ।

खेलाडी अक्सनमै भाग्यको साथ पाएको ललितपुर अर्को चरण प्रवेशका लागि बलियो देखिनुका केही ठोस कारण पनि छन् । यसपल्टको प्रतियोगितामा ललितपुर एकै खेलमा तीन गोल गर्ने पहिलो टिम बनेको छ । उसले पाँच खेलमा सात गोल गरेको छ, अरू टिमभन्दा बढी ।

यी सात गोल पनि छ खेलाडीको नाममा, अनि तीन खेलमा क्लिन सिट पनि । ललितपुरले अबका बाँकी खेलमा झापा एफसी, स्पोर्टिङ इलाम र काठमाडौं रेजर्सको सामना गर्नेछ । निश्चित छ, यो स्थितिमा प्रशिक्षक इयान एन्ड्र्यु गिलान खुसी हुने भए नै । उनले खेलपछि भने, ‘पछिल्ला पाँच दिन हाम्रा लागि खुबै राम्रो रह्यो । आजको खेलमा भएका गोल पनि उत्तिकै राम्रा रहे ।’ यी प्रशिक्षक बोल्नमा खुबै सिपालु छन् । उनको अनुसार, यस प्रतियोगिताकै कारण नेपाली फुटबलले राम्रो गरिरहेको छ ।

गिलानले आफ्ना खेलाडी विवेक पौडेलको पनि प्रशंसा गरे । उनलाई लाग्छ, यी मिडफिल्डर स्तर नै बेग्लै छ । ढिलोचाँडो उनी राष्ट्रिय टिममा पनि पर्नेछन् । उनको यो दाबी किन भने विवकेले ५७ औं मिनेटमा अब्बल दर्जाको गोल गरे । चितवनको डिफेन्सले क्लियर गरेको बलमा विवेकले पेनाल्टी एरियाको ठीक बाहिरबाट भलिमा मीठो प्रहार गरे र बलले चितवनका गोलरक्षक विशाल श्रेष्ठलाई कुनै मौका दिएर गोल भएको थियो ।

मोरङका २६ वर्षीय विवेकले पनि विश्वास पोखे, मिहिनेत गर्दै जाँदा राष्ट्रिय टिममा पर्ने छ नै । उनका अनुसार प्रशिक्षणका क्रममा लामो दूरीबाट प्रहार गर्दै गोल गर्ने अभ्यास पनि गरिएको थियो । खेलको पहिलो गोल भने केबेले गरे । उनले दिनेश हेमजनको पासमा वन–टचमा गोल गरे । अनि तुरुन्तै हेमजनतर्फ हातले इंगित गर्दै धन्यवाद पनि दिए । यस्तो किन भन्दा हेमजनले गोलका लागि सटिक पास मिलाएका थिए । केवेको दोस्रो गोल भने दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा निस्केको थियो ।

उनले पेनाल्टीबाट गोल गरेका हुन् । चितवनका उत्सव राईले आदित्य शाक्यलाई लडाएपछि ललितपुरले पेनाल्टीको अवसर पायो, उनी आफैं दोस्रो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे । यसको ठीक अगाडि ८९ औं मिनेटमा चितवनले एक गोल फर्काएको थियो । रफिक इमानुले टोरिच जेब्रिनको थ्रु बलमा गोल गरेका हुन् । त्यति बेला लागि रहेको थियो, खेलको नतिजा जता पनि मोडिन सक्छ, तर त्यस्तो केही पनि भएन् । खेलको अन्त्यतिर केबेको एक प्रहार पोस्टमा लागेको थियो ।

यसले पोस्टको दिशा लिएको भए, उनको ह्याट्रिक पूरा हुने थियो । ‘ललितपुरलाई बधाई छ,’ चितवनका प्रशिक्षक मेहराज उद्दिनले इमानदारितापूर्वक भने, ‘मलाई लाग्छ, खेल राम्रो रह्यो । हाम्रा खेलाडीको प्रदर्शनमा गर्व छ ।’ हारले चितवन पाँच खेलबाट पाँचै अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । उसका लागि अबको बाटो पनि सजिलो हुने छैन । चितवन एकै जितमा मात्र सीमित छ र यो समग्रमा ११ खेलमा प्राप्त एक्लो जित मात्रै हो ।

चितवनले विपक्षी टिमलाई सात गोलको अवसर पनि दिएको छ र यसपल्ट सहभागी टिममध्ये चितवन अहिलेका लागि सर्वाधिक गोल खर्चिने टिम पनि हो । तर प्रशिक्षक उद्दिन भने अझै आशावादी छन् । उनी भन्छन्, ‘अब हाम्रा तीन खेल बाँकी छन् र यी सबै खेल जित्नकै लागि खेल्नेछौं ।’ उनले लगातार खेल्दा समस्या भएको गुनासो पनि पोखे । उनलाई लाग्छ, खेलाडीलाई आरामका लागि पर्याप्त समय चाहिन्छ । चितवनले अबका खेलमा धनगढी एफसी, इलाम र झापाको सामना गर्नेछ ।

सोमबारको खेल : पोखराविरुद्ध काठमाडौं

प्रकाशित : मंसिर २४, २०८० २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×