कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल सुपर लिग तालिकामा हलचल

धनगढी एफसी अपराजित रहँदै नेपाल सुपर लिगको शीर्षस्थानमा, बुटवल लुम्बिनी पनि माथि चढ्दै
धनगढी एफसी २–२ इलाम स्पोर्टिङ
बुटवल लुम्बिनी २–१ काठमाडौं रेजर्स

काठमाडौँ — ‘डबल हेडर’ को सुपर स्याटर्डे । यो दिनले नेपाल सुपर लिगमा पस्केका दुई खेल वास्तवमै रोमाञ्चक रहे । दशरथ रंगशालामा प्रसंग चलिरहेको थियो किन गोल भएन भनेर । तर, यी दुई खेलले देखायो, गोल त हुन्छ । यिनै दुई खेलको नतिजाले लिग तालिकामा पनि गजब हलचल देखिएको छ ।

नेपाल सुपर लिग तालिकामा हलचल

सुरुआती दुई खेल गुमाएर कमजोर सुरुआत गरेको बुटवल–लुम्बिनी एफसी शीर्ष चारमा उक्लन सफल रह्यो । टोलीले काठमाडौं रेजर्सलाई हरायो । अब यसमै कायम रहन बुटवलले भरपुर प्रयास गर्नेछ ।

प्रतियोगितामा सहभागी ९ टिमका ९ प्रशिक्षकमध्ये सम्भवतः सबैभन्दा ‘लो प्रोफाइल’ का प्रशिक्षक हुन्, विजय महर्जन । उनी प्रायः दोहोर्‍याएर भन्ने गर्छन्, ‘फुटबलमा जे पनि हुनसक्छ ।’ यिनै महर्जनले बुटवल–लुम्बिनीलाई क्वालिफायर/इलिमिनेटरका लागि बलियो प्रत्याशी बनाएका छन् ।

आफ्ना पछिल्ला ३ खेलबाट ७ अंक बटुलेको टिमका प्रशिक्षक महर्जनको नयाँ भनाइ छ, ‘जित्नैपर्ने खेल थियो र जितियो । त्यसैले सबै खुसी छन् ।’

यो नतिजापछि बुटवल–लुम्बिनी तेस्रो स्थानमा उक्लेको छ । नतिजा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स भने पाँचौं स्थानमा झरेको छ । काठमाडौंले भने एकाएक लय गुमाएको देखिएको छ । टोलीले पछिल्ला ३ खेलमा २ अंक मात्र बटुलेको छ । यसले टोली दबाबमा आएको छ । तय छ, काठमाडौंका लागि अबको खेलमा सजिलो हुने छैन । तर, टोलीका प्रशिक्षक बालगोपाल महर्जन भने अझै आत्मविश्वासी छन् । भन्छन्, ‘अबका बाँकी ४ खेल जितेर शीर्षमा रहने हो ।’

आफ्नो टिमको कमजोर नतिजा पछाडिको कारण उनले खोजेका छन् । उनका अनुसार सायद टिमको आत्मविश्वासमा केही कमी छ । टिमलाई भाग्यले पनि साथ दिइरहेको छैन । यता मैदानमा बुटवल–लुम्बिनीले स्टेफन विनोङको गोलबाट २९ औं मिनेटमा अग्रता लिएको थियो । काठमाडौंले वर्ष ०७८ मा उपाधि जित्दा उनी त्यस टिमका प्रमुख खेलाडी थिए । अहिले विनोङ नयाँ क्लबका लागि छाइरहेका छन् । यसपल्ट उनको गोलसंख्या पनि ३ पुगेको छ ।

यतिमात्र होइन, उनले पछिल्ला ३ खेलमा लगातार गोल गरेका छन् । कप्तान एरिक विष्टले ६१ औं मिनेटमा दोस्रो गोल गरे । आफ्नो परिचित बायाँ खुट्टाको सटिक प्रहार मदतमा उनले बललाई पोस्टको दिशा दिए । यो खेलमा जिलेप्सीजंग कार्कीले खुबै मिहिनेत गरेर खेले । उनी पूरा ९० मिनेट मैदानको चारैतर्फ छाइरहे । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा राजीव लोप्चनले काठमाडौंका लागि एक गोल फर्काए । तर, त्यो नतिजा फरक पार्न पर्याप्त रहेन ।

योसँगै यसपल्टको प्रतियोगितामा काठमाडौंको अपराजित यात्रा त टुट्यो नै । टोलीको लगातार ५ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

दिनको पहिलो खेल भने बराबरी टुंगियो । त्यसको अर्थ धनगढी एफसीको अपराजित यात्रा भने कायम रह्यो । यससँगै धनगढी फेरि शीर्षस्थानमा उक्लेको छ ४ खेलबाट ६ अंकसहित । खेलमा भने लागिरहेको थियो स्पोर्टिङ इलामले धनगढीलाई सजिलै हराउने छ, किनभने पहिलो हाफमा गोलको अग्रता लिएको थियो ।

त्यो पनि दुई मिनेटको अन्तरमा । सुरुमा फोडे कमाराले ४५ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा ओमार थिओमले दोस्रो गोल थपे । यो भाग्यमानी गोल रह्यो । गोलरक्षक मोहमद ताहाले अविश्वसनीय रूपमा फुत्काएको बलमा थिओमले नजिकबाट गोल गरेका हुन् । खेल त्यत्तिकैमा सकिएन । दोस्रो हाफको ६९ औं मिनेटमा रिचर्ड आयेमाङले पेनाल्टीबाट गोल गर्दै धनगढीलाई खेलमा फर्काए ।

खेलको निर्णायक मोड ८३ औं मिनेटमा आयो, जतिबेला सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेका आफिज ओलावालले हेडबाट गोल गरे । यसैक्रममा उनले फेरि आफूलाई एकपल्ट प्रमाणित गरे । नेपाली घरेलु फुटबलमा खेलेका विदेशी खेलाडीमध्ये आफू किन उत्कृष्ट छु भन्ने प्रस्ट्याए । यसपल्टको संस्करणमा उनको यो दोस्रो गोल हो । खेलपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले भने, ‘दोस्रो हाफमा हाम्रो पुनरागमन रह्यो ।’ उनका समकक्षी मेघराज केसीको भनाइ भने फरक रह्यो । उनको भनाइ थियो, ‘हामीले राम्रो खेलेनौं, तर गोल भयो ।’

आजको खेल
एफसी चितवनविरुद्ध ललितपुर सिटी

प्रकाशित : मंसिर २४, २०८० ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×