कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल सुपर लिग : चितवन र बुटवलको बराबरी

काठमाडौँ — खेलको इन्ज्युरी समय सुरु हुँदा लागिरहेको थियो, एफसी चितवन त जित नजिक पुगेको छ । अन्त्यमा चितवन टिम फेरि बराबरीमा रोकिएको छ । दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमै बुटवल–लुम्बिनी एफसीका लागि स्टेफन विनोङले गोल गरेपछि नेपाल सुपर लिगमा बिहीबारको खेल बराबरीमा टुंगियो ।

नेपाल सुपर लिग : चितवन र बुटवलको बराबरी

यो नतिजाले दुवै टिमलाई फाइदा हुने छैन तर कम्तीमा हार टार्न सकेको उपलब्धि भने रहनेछ । ‘खेलको अन्तिम क्षणमा गोल खानु पक्कै पनि दुःखद हुन्छ,’ चितवनका प्रशिक्षक मेहराज उद्दिनले भने । तर उनले आफ्ना खेलाडीको प्रदर्शनको प्रशंसा गरे । उनले थपे, ‘चितवन टिम नयाँ छ, यसको निर्माण कार्य चलिरहेको छ । अबको दिनमा टिमको प्रदर्शन अझ राम्रो हुनेछ ।’

नतिजापछि चितवनको ४ खेलबाट ५ अंक भएको छ र पाँचौं स्थानमा छ । यो खेल जितेको भए चितवन शीर्ष चारमा प्रवेश गर्न सफल हुन्थ्यो । अर्कोतर्फ बुटवल–लुम्बिनी भने ४ अंकसहित छैटौं स्थानमा छ । टोलीसामु जितसँगै शीर्ष चारमा उक्लने अवसर थियो तर त्यस्तो भएन । किनभने बुटवल–लुम्बिनीले खाएको गोल आफ्नै भुलमा भएको थियो ।

क्यामरुनी गोलरक्षक मोहमदोउले खेलको ४९ औं मिनेटमा बल क्लियर गर्ने प्रयासमा एउटा फितलो प्रहार गरेका थिए । त्यो बल सिधै उत्सव राईसम्म पुग्यो । त्यसमै उनले गरेको सिधा प्रहार गोलमा परिणत भयो । आफ्नो फिक्का प्रहार छोप्न गोलरक्षक मोहमदोउसामु थप मौका थियो, तर उनको बचाउ प्रयास उत्तिकै कमजोर रह्यो ।

अहिलेसम्म मोहमदोउले बुटवलका लागि सबै ४ खेल खेलेका छन् । यसबीच उनको बलमाथि नियन्त्रण गर्ने कला भने अत्यधिक कमजोर देखिएको छ । उनमा बलमाथि ‘ग्रिप’ गर्ने कौशलता अभाव देखिन्छ । यसै कारण उनी निरन्तर कमजोर प्रदर्शन गरिरहेका छन् । सम्भवतः उनको यो कमजोरीले टिमलाई महँगो मूल्य चुकाउन बाध्य पार्न सक्नेछ ।

‘हामीले एउटा निकै खराब गोल खायौं । यो खेल हामीले जित्नकै लागि खेलेका थियौं । तर बराबरीमा चित्त बुझाउनुपर्‍यो । हाम्रो ४ खेलबाट ४ अंकमात्र छ । हामीमाथि दबाब बढेको छ । तर, फुटबलमा सबै सम्भावना खुला हुन्छ र हामीले अबका बाँकी खेलमा अझ राम्रो खेल्न प्रयास गर्नेछौं ।’

प्रकाशित : मंसिर २२, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×