कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अल्झिएको घोषित पुरस्कारको गाँठो

१० महिनाअघि घोषणा गरेको पुरस्कार रकम अझै नपाउँदा यू–१९ क्रिकेट टोलीका खेलाडीहरू पुनः खाली हात महत्त्ववपूर्ण प्रतियोगिता खेल्न जाँदै
विनोद पाण्डे

काठमाडौँ — एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली बुधबार दुबई जाँदै छ । तर, यू–१९ का खेलाडीले १० महिनाअघि घोषित पुरस्कार रकम अझै पाएका छैनन् । उनीहरू पुनः खाली हात महत्त्वपूर्ण प्रतियोगिता खेल्न जाँदै छन् । 

अल्झिएको घोषित पुरस्कारको गाँठो

देव खनालको अर्धशतक र दीपेश कँडेलको ५ विकेट पछि निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा घरेलु टोली यूएईलाई ७ रनले हराएर यू–१९ एसिया छनोट जित्दै नेपाली टोली यू–१९ विश्वकपमा पुगेको थियो । आठौंपल्ट यू–१९ विश्वकपलाई छनोट नेपाल सन् २०१६ यता भने पहिलोपल्ट पुगेको थियो ।

सरकारले उत्साही भएर यू–१९ विश्वकपमा पुगेको र उपाधि विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद विकास नियमावली जारी भएको दुई वर्ष बित्न लाग्यो । खेलाडीलाई घोषणा गरिएको जनही ३ लाख त्यही नियमावलीभित्र नै थियो । नियामवलीअन्तर्गत नै रहेको र घोषित पुरस्कार रकम एक वर्ष पुग्न लाग्दा पनि यू–१९ क्रिकेट टोलीले त्यो रकम पाउन सकेका छैनन् ।

असोजमा नेपाली यू–१९ टोलीले मलेसिया गएर एसीसी प्रिमियर यू–१९ कप जित्यो । खेलकुद पुरस्कार कार्यविधिअनुसार यसवापत खेलाडीले जनही १ लाख पाउने छन् । एसीसी प्रिमियर यू–१९ कप जितेको आधारमा नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको थियो । नेपालले भारत, पाकिस्तान, अफगानिस्तासँग खेल्ने अवसर पाएको छ । यही प्रतियोगिता खेल्न नेपाली यू–१९ टोली यूएई जान लागेको हो ।

यू–१९ एसिया कप खेल्न जान लागेको नेपाली टोलीको बिदाइमा मंगलबार प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसामु यू–१९ का प्रशिक्षक जगत टमाटाले घोषित पुरस्कार रकम नपाएको भन्दै गुनासोको गाँठो फुकाइहाले । खेलाडीहरूको तर्फबाट आफ्नो भनाइ राखेको जनाउँदै टमाटाले भने, ‘उपाधि जितेको हाम्रो टोलीलाई जुन पुरस्कार रकम घोषणा भयो, त्यो अझै पाइएको छैन । त्यसलाई दिने घोषणा मन्त्रीज्यूले आज गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेको छु ।’

यो पुरस्कार घोषणाले निकै सकस बनाइसकेको र अहिले त्यस्तो अवस्था नरहेको दाबी मन्त्री लिम्बूले गरे । उनले आफ्नो मन्तव्यका क्रममा भने, ‘मन्त्रालयमा सानो कामले रोकिएको छ । अर्थले स्वीकृति दिएर पैसा आइसकेको छ । विगतमा जुन खालको जटिलता थियो, त्यो सबै गाँठो फुकाएर अहिले सजिलो बनाइएको छ । हामीले के प्रतिबद्धता जनाएका छौं भने खेलाडीले खेल जितेर आएको ७ देखि १५ दिनभित्र रकम निकासा गरिसक्नुपर्छ । कतिपय विषय मन्त्रालयमा काम गर्ने साथीहरू छुट्टीमा रहँदा र अरू केहीले पुरस्कार रकम समय दिन सकिएको छैन ।’

मन्त्री लिम्बूसँग क्रिकेट खेलाडीहरूले घोषित रकम नपाएको गुनासो गरेको यो पहिलो होइन । असोजमा चीनमा सम्पन्न हाङचउ एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध कीर्तिमानको ओइरो लगाएर विजय हात पार्दा मन्त्री लिम्बू नेपाली राष्ट्रिय टोलीलाई बधाई दिन ड्रेसिङ रूम नै पुगेका थिए । तर, कप्तान रोहित पौडेलले घोषित पुरस्कार पाउने हो भने खेलाडीलाई धेरै राहत पुग्ने कुरा मन्त्रीसामु राखेका थिए । लगत्तै नेपाल फर्किएका मन्त्री लिम्बूले नेपाली क्रिकेट टोली चीनबाट फर्किएपछि हातमै चेक दिने वाचा गरेका थिए ।

त्यसको एक महिनापछि नेपाली राष्ट्रिय टोली घरेलु मैदानमा यूएईलाई पराजित गर्दै आईसीसी ट्वान्टी–२० विश्वकपमा पुगेकै दिन अर्थ मन्त्रालयले खेलाडीलाई घोषित पुरस्कार रकम १ करोड ५७ लाख ५० हजार निकासा गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । त्यसमा राष्ट्रिय टोलीका लागि ७९ लाख र यू–१९ पुरुष विश्वकप छनोट विजेता नेपाली टोलीलाई ४६ लाख निकासा भएको जनाइएको थियो । त्यही रकम पनि नेपाली यू–१९ टोलीले पाएका छैनन् ।

दुई दिनमा नेपाली यू–१९ टोलीको खातामा पैसा आउने दाबी मन्त्री लिम्बूले गरिहाले । ‘हामीले आजै यो बिदाइका क्रममा पुरस्कार दिन खोजेका थियौं । तर केही नमिल्दा खाली हात जस्तो हुन पुग्यो । आस गर्दागर्दै खेलाडी साथीहरू जहाँ गए पनि पुरस्कार रकमकै विषय उठाइरहनुभएको छ,’ उनले भने, ‘त्यो अवस्था नआओस् भनेर हामी लागेका छौं । अहिले फेरि यो प्रसंग आएको छ, यसले पुनः घोषित पुरस्कार रकमबारे अपडेट गराएको छ । खेलाडीहरू उच्च मनोबलका साथ खेल्नुस्, पुरस्कार रकम पाइहाल्नुहुन्छ । घोषित पुरस्कार रकम दिने झन्झटिलो प्रक्रियाबाट हामीले पार पाइसकेका छौं, त्यसैले निराश हुनुपर्दैन ।’ मन्त्री लिम्बुले यू–१९ खेलाडीलाई ढुक्क भएर खेल्न जान आग्रह गर्दै अहिले मन्त्रालय थुप्रै नीति निर्माण गर्ने र संशोधन गर्ने प्रक्रियामा लागिरहेको बताए । यसअर्न्तगत खेलाडीको बिमाको विषय पनि समावेश रहेको उनले जनाए ।

यू–१९ एसिया कप

यू–१९ एसिया कपमा नेपालको समूह भारत, पाकिस्तान, अफगानिस्तान छन् । नेपालले शुक्रबार पाकिस्तान, आइतबार अफगानिस्तान र मंगलबार भारतविरुद्ध खेल्नेछ । सबै खेल दुबईमा हुनेछ ।

कप्तान देव खनालले तयारीको हिसाबमा सबै राम्रो भएको जनाए । ‘राष्ट्रिय टोलीसँग ४–५ वटा म्याच खेलेका थियौं, त्यसले हाम्रो तयारी झनै राम्रो भयो । मूलपानी र कीर्तिपुरमा गएर खेल्यौं, त्यसले हामीलाई फरक विकेटको अनुभव दिलायो,’ कप्तान देवले भने, ‘हामी टेस्ट राष्ट्रविरुद्ध खेल्दै छौं । राष्ट्रिय टोलीका दाइहरूले निकै राम्रो खेल्दै आउनुभएको छ, हामीले पनि त्यही लय कायम राख्ने लक्ष्य बनाएका छौं । यू–१९ का पछिल्ला दुई प्रतियोगिताका १० खेलमा हामीले जसरी खेलेका छौं, त्यसैलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’

नेपालले यू–१९ विश्वकप एसिया छनोट र एसीसी यू–१९ प्रिमियर कपमा सबै १० खेल जितेको थियो । यसपालि नतिजाका हिसाबमा नभई प्रदर्शनको हिसाबमा राम्रो गर्ने विश्वास प्रशिक्षक टमाटाको छ । ‘मैदानमा ६–७ घन्टा बिताएका छौं । शारीरिक र मानसिक हिसाबमा हामी बलियो छौं । के गर्नुपर्ने हो, कसो गर्नुपर्ने हो हामीलाई थाहा छ । भारत, पाकिस्तान र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रविरुद्ध खेल्नुपरे पनि हाम्रा खेलाडी त्यसलाई लिएर उत्साही छन् । हाम्रो यू–१९ टोलीको इतिहास हेर्ने हो भने पनि हामीले टेस्ट राष्ट्रलाई हराएका छौं,’ उनले भने ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विश्वकपअघि प्रतियोगिता भइरहेकाले तयारी र अनुभवको हिसाबमा यू–१९ निकै महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘नेपाली यू–१९ ले जुन नतिजा दिइरहेको छ र टोलीमाथि जुन विश्वास छ, त्यसका लागि टोली तयार छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको हाम्रो यू–१९ टोलीको बेन्च स्ट्रेन्थ हो । त्यसैले खेलाडीलाई यो प्रमाणित गर्ने र राष्ट्रलाई जिताउने अवसर पनि हो ।’ नेपाली यू–१९ टोलीसँग धेरै ऐतिहासिक उपलब्धि जोडिएको र यस्तै उपलब्धि जोडिने आशा आफूले लिएको जनाउँदै सचिव खड्काले अबको २–३ साताभित्र क्यानले वर्ष २०२४ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरिने बताए ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले ६ महिनाभित्र दुई महत्त्वपूर्ण विश्वकप खेल्न लागेकाले सरकारबाट ठूलो अपेक्षा राखेको जनाए । ‘राष्ट्रिय टोलीले जुनमा ट्वान्टी–२० विश्वकप र यू–१९ टोलीले जनवरीमा विश्वकप खेल्दै छ । नेपाल यू–१९ टोली एसिया कप खेलेर आएपछि तीन साता विशेष प्रशिक्षण गर्नेछ विश्वकप तयारीका लागि ।

दुवै विश्वकपका लागि हाम्रो खर्च निकै लाग्ने छ,’ अध्यक्ष चन्दले भने, ‘खेलकुद परिषदमा बजेट छैन होला, मन्त्रालयले क्याबिनेटमा लगेर प्रधानमन्त्रीलाई विश्वस्त पारेर दुवै विश्वकप तयारीका लागि प्रशिक्षणको आर्थिक पक्षमा ध्यान दियो भने नतिजा आउने सम्भावना रहन्छ ।’ उनले थपे, ‘हामी ८ वर्षपछि बल्ल विश्वकपमा पुगेका छौं । यो त्यसै छनोट भएको होइन । क्यानको निकै आलोचना भइरहेको र आर्थिक हिसाबमा क्यान अप्ठ्यारोमा रहेको समयमा ७५ दिन लगातार प्रशिक्षण गरेर हामी बल्ल यू–१९ विश्वकपमा पुगेका हौं । लगानी गर्‍यो भने नतिजा आउँछ, तर त्यसका लागि हाम्रो तयारीमा झन्डै १ करोड खर्च भएको छ । त्यसलाई आईसीसी, प्रायोजक र सरकार कतैबाट पनि कुनै रकम दिइएको थिएन । त्यो लगानीको अहिले पनि आवश्यक छ ।’

नेपाली टोली : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा ‘ए’, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द, दीपक बोहरा ‘बी’ । जगत टमाटा (प्रशिक्षक), धीरेन्द्र चन्द (सहायक प्रशिक्षक), रवि थापा (एनालिस्ट), पूरन तिरुवा (फिजियो), वीरेन्द्र चन्द (व्यवस्थापक) ।

प्रकाशित : मंसिर २०, २०८० ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×