कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

निसिमको प्याराग्लाइडिङ दुर्घटना छानबिन गर्न परिवारको माग

नवौं राष्ट्रिय खेलकुदमा अवैध रूपमा प्याराग्लाइडिङलाई समावेश गराइँदा निसिमको ज्यान गएको परिवारको आरोप
दीपक परियार

पोखरा — नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलट निसिम थापाको मृत्यु भएको घटनाको छानबिन गर्न परिवारले माग गरेको छ । प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा त्रिभुवन आर्मीबाट खेलेका थापाको ०७९ असोज ३० मा पोखराको सराङकोटबाट उडान भरेको केही समयमै दुर्घटनामा परेर निधन भएको थियो ।

निसिमको प्याराग्लाइडिङ दुर्घटना छानबिन गर्न परिवारको माग

आयोजकको लापरबाहीले दुर्घटना निम्तिएको बताउँदै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने परिवारको माग छ ।

निसिमका बुवा प्रकाश थापा र आमा सावित्री थापा मोक्तानले बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ प्रतियोगिता नै अवैध रूपमा समावेश हुँदा छोराले ज्यान गुमाउनुपरेको दाबी गरेका छन् । निसिम थापा फाउन्डेसनमार्फत परिवारले कात्तिक २१ मा पर्यटन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

फाउन्डेसनका अध्यक्ष प्रकाश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा), नेपाल हवाइ खेलकुद संस्था (ना) को गम्भीर लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाए । ‘प्राधिकरणको अनुमतिबिना नै राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ समावेश गरी लापरबाहीपूर्वक बिना तयारी छोटो समयमा प्रतियोगिता गरिएको छ,’ उनले भने, ‘यस कार्यमा संलग्नलाई कारबाही हुनुपर्छ ।’ नाका अध्यक्षसहित १२ सदस्यीय निर्णायक समिति, नेफाको ३ सदस्यीय खेल सञ्चालन उपसमितिले प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुदमा समावेश गराएको उनको आरोप छ ।

राष्ट्रिय खेलकुदमा समावेश हुने अन्य खेलबारे ६ महिनाअघि नै टुंगो लागे पनि प्याराग्लाइडिङ भने बिना तयारी १६ दिनअघि मात्रै प्रतियोगितामा सामेल गराइएको थापाले बताए । ‘अपार्टमेन्टको संरचना बनिरहेको ठाउँमा बिना अध्ययन अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गरियो,’ उनले भने, ‘रड नै रड ठडिएको ठाउँलाई छल्न खोज्दा पनि निसिमको निधन भयो । ब्लु स्काई टेकअफको नजिकै त्यस्तो संरचना नभएको भए पनि ज्यान बच्न सक्थ्यो ।’ नाले निसिमको बिमासम्बन्धी कागजपत्र पनि उपलब्ध नगराएको र व्यावसायिक उडानका क्रममा भएको दुर्घटनाको मात्रै बिमा दाबी गर्न पाउने बताएको उनले सुनाए । प्याराग्लाइडिङ प्रतियोगिताको तयारीका लागि नेफा र नाले ठूलो धनराशि प्राप्त गरे पनि त्यसबमोजिम लगानी नगरेको उनको आरोप छ ।

निसिमकी आमा सावित्रीले व्यक्तिगत कमजोरीले नभई आयोजककै कमजोरीले आफ्नो छोराले ज्यान गुमाएको बताइन् । निसिमले अन्तिमसम्म प्रतियोगितालाई महत्त्व दिएकाले रेस्क्यु ग्लाइडरसमेत नफ्याँकेको दाबी गरिन् । ‘अब फेरि यस्तो लापरबाहीले कसैले आफ्नो छोराछोरी गुमाउनुनपरोस्,’ उनले भनिन्, ‘दोषीलाई कारवाही हुनुपर्छ । दण्डित गर्ने भन्दा पनि जवाफदेहिता खोजेका हौं ।’

सराङकोटको ब्लु स्काई टेकअफबाट निसिमले टेक अफ गरेको ४/५ मिनेटमै नजिकैको अपार्टमेन्ट निर्माणस्थलमा खसेका थिए । सराङकोटमै रहेको आर्मीको मेडिकल टिमले उनलाई तत्काल पोखराको मेट्रो सिटी अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

पोखराको आकाशसँग चिरपरिचत २६ वर्षीय निसिम अनुभवी पाइलट थिए । उनले १७/१८ वर्षको उमेरमै प्याराग्लाइडिङ सुरु गरेका थिए । भारतमा प्रशिक्षण लिएका उनी विश्व हवाई खेलकुद महासंघ (एफएआई) को लाइसेन्सप्राप्त खेलाडी थिए । भारत, इन्डानेसिया, कोरिया र चीनमा भएका विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेका थिए । पछिल्लोपल्ट पोखरा एड्रेनलाइन प्याराग्लाइडिङमा व्यावसायिक पाइलटमा रूपमा कार्यरत थिए ।

प्रकाशित : मंसिर २०, २०८० २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×