कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लिग-२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्ने

पहिलो पटक डच टोली एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न नेपाल आउँदै

काठमाडौँ — अघिल्लो महिना भारतमा एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेदरल्यान्ड्स फेब्रुअरीमा नेपाल आउने भएको छ । आईसीसी विश्वकप लिग-२ को सन् २०२४–२७ को साइकलको सुरुआत नेपालबाट हुने भएपछि नेदरल्यान्ड्ससहित नामिबिया काठमाडौं आउन लागेका हुन् ।

लिग-२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले लिग-२ को अगामी साइकल नेपालबाट सुरु हुने र त्यसमा नेदरल्यान्ड्स र नामिबिया काठमाडौं आउन लागेको जनाएको छ । फेब्रुअरी १७ बाट लिग २ को सुरुआत हुने भनिए पनि पूर्ण तालिका आएको छैन । नेदरल्यान्ड्स पहिलो पटक नेपाल आएर एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । नेपालले २०१८ को अगस्ट १ मा एमस्ट्राडाम गएर नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेको थियो ।

नेदरल्यान्ड्सले गत महिना एकदिवसीय विश्वकपमा बंगलादेश र दक्षिण अफ्रिकालाई पराजित गरी सनसनी मचाएको थियो । दक्षिण अफ्रिकामाथि नेदरल्यान्ड्सले पाएको ३८ रनको विजयलाई उक्त विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा मानिएको थियो ।

२०१९–२०२३ को विश्वकप लिग-२ सर्कलमा नेपालले ३६ मध्येको १९ खेल जितेर तेस्रो भई सिधै विश्वकप छनोटमा पुगेको थियो । सो क्रममा नेपालले अन्तिम १२ मध्येको ११ खेल जितेर अविश्वसनीय प्रर्दशन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो ।

नेदरल्यान्ड्सलाई २०१९–२०२३ को सर्कलमा सुपर लिगमा राखिएको थियो र टोलीले शीर्ष १२ राष्ट्रविरुद्धको २४ खेलमा ३ मा मात्र विजय हात पार्न सकेको थियो । यसपटक नेदरल्यान्ड्सलाई लिग-२ मा राखिएको छ । नेदरल्यान्ड्सलाई समावेश गरेपछि विश्वकप लिग-२ खेल्ने राष्ट्रको संख्या ८ पुगेको छ ।

नेदरल्यान्ड्स, नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, नामिबिया र क्यानडाले यसपटक लिग-२ मा प्रतिस्पर्धा गर्नेछन् । नेपालले गत वर्ष नामिबियाविरुद्ध लिग-२ मा घरेलु मैदानमा खेलिएको दुवै खेलमा सफलता हात पारेको थियो ।

प्रकाशित : मंसिर १५, २०८० १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×