कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कोशीको सान्त्वना जित

पोखरा — सेमिफाइनल समीकरण पूरा भए पनि केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा बुधबार कोशी प्रदेशले सान्त्वना जित पाएको छ । पोखरामा जारी प्रतियोगितामा कोशीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलोलाई ९ विकेटले पराजित गर्‍यो । खेल जिते पनि कोशी घर फर्किने छ  ।

कोशीको सान्त्वना जित

खेलमा आयोजक नीलोले दिएको ६८ रनको लक्ष्य कोशीले १ विकेट गुमाएर ७.४ ओभरमा पूरा गरेको थियो । टस जितेर फिल्डिङ रोजेको कोशीका फिर्दोष अन्सारीले ओपनर रोनिम तिवारीलाई शून्यमा पेभेलियन फर्काएपछि आयोजक टोली दबाबमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले समान १० रन र शुभम खनालले ९ रन जोड्नुबाहेक चार खेलाडी गोल्डेन डकआउट भए ।

आयोजकलाई सस्तैमा समेट्न म्यान अफ द म्याचसमेत रहेका श्रवण यादवले ३.५ ओभरमा ८ रन दिएर ३ विकेट लिए । कमल खत्री र फिर्दोषले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा कोशीका लागि ओपनर सोनु अन्सारीले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३५ रन बनाए । तेस्रो नम्बरमा आएका मिनास थापाले ७ बलमा १८ रन र अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे ।

अंकित भने शुभम खनालको बलमा आउट भए । बिहीबार पोखरा रंगशालामा हुने सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र वाग्मती प्रदेश तथा एपीएफ र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : मंसिर १४, २०८० ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×