कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फिडे मास्टर रुपेशलाई सुरुमै झट्का

सुवास विडारी

मकवानपुर — हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उद्घाटन दिनमै बुधबार नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल पराजित भएका छन् । उनी भारतीय खेलाडी १४३३ रेटिङ पंकज बोर्सेसँग पराजित भएका हुन् ।

फिडे मास्टर रुपेशलाई सुरुमै झट्का

पहिलो चरणमा विदेशी खेलाडीको दबदबा रहँदा पूर्व नेपाल च्याम्पियन सीएम पुरुषोत्तम चौलागाईं भारतीय पीयूष कुमारसँग बराबरीमा रोकिएर अंक बाँडे ।

पहिलो चरणमा भारतीय खेलाडी सुवन्यण कुण्डु, अर्विन्दरप्रित सिंह, राहुल गुरुङ, बंगलादेशी अबु सुफियान सकिल, आईएम मोहम्मद मिजाउद्दिन, शेख नाजिर, देवराज चटर्जी, मोहम्मद सरिफ हुसैन, नएम हक र श्रीलंकन सचिनी रणसिंघे विजयी भएका छन् ।

नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवाल र सुश्रुत दाहाललगायतका खेलाडी विजयी भएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंकाका ८६ खेलाडीको सहभागिता छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा पाँच दिनसम्म चल्ने प्रतियोगितामा स्विस लिगका आधारमा ९ चरणको खेल हुनेछ ।

नेपाल बुद्धिचाल महासंघको महासचिव धरमबहादुर लामाका अनुसार प्रतियोगिताका विजेताले १ लाख २५ हजार, दोस्रोले ७५ हजार, तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । चौथोलाई २५ हजार, पाँचौंलाई २० हजार, छैटौंदेखि दसौंसम्मलाई जनही १५ हजार प्रदान गरिनेछ । एघारौंदेखि पन्ध्रौं हुनेसम्मले ११ हजार पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०८० २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×