कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लमजुङमा पुस १२ देखि त्रिवेणी कप, प्रथम पुरस्कार ८ लाख

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका-७ सहजीस्थित ११ ‘ए’ साइडको रंगशालामा पुस १२ गतेदेखि ३१ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिता हुँदैछ ।

लमजुङमा पुस १२ देखि त्रिवेणी कप, प्रथम पुरस्कार ८ लाख

आयोजक त्रिवेणी युवा क्लबले बेंसीसहरमा मंगलबार पत्रकार भेटघाट गर्दै त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताबारे जानकारी दिएको हो । प्रथम पुरस्कार राशि ८ लाख रुपैयाँ पुर्‍याइएको छ । द्वितीय पुरस्कार ४ लाख रुपैयाँ पुर्‍याएको आयोजक बताएको छ । गत वर्ष प्रथम पुरस्कार ५ लाख रुपैयाँ र दोस्रो पुरस्कार ३ लाख रुपैयाँ थियो । विजेताले कप, स्वर्णपदक तथा प्रमाणपत्र साथै उपविजेताले कप, कांस्यपदक र प्रमाणपत्र पाउनेछन् ।

गत वर्ष ५०/५० हजार रुपैयाँ दिएको सेमिफाइनल पराजित २ टिमलाई यस वर्ष दोब्बर बढाएर १/१ लाख रुपैयाँ दिइने भएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०/२० हजार रुपैयाँ दिइने भएको छ । टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ ।

क्लबका नवनिर्वाचित अध्यक्ष राजकुमार घिमिरेले फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यावसायिकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले यस वर्ष पुरस्कार राशि बढाएको बताए । उनका अनुसार प्रतियोगितामा कम्तीमा १६ टिमले भाग लिने अपेक्षा छ । ७ टिमले सम्पर्क गरिसकेको उनले जनाए ।

प्रतियोगितामा दैनिक ७ हजारले हेर्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि ४७ लाख १० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । क्लबका पूर्वअध्यक्ष एवं खेल संयोजक सिजन श्रेष्ठले यस वर्ष ‘ए’ डिभिजन क्लबहरु पनि प्रतियोगितामा सहभागी हुने बताए ।

त्रिवेणी युवा क्लबले गुरुङ समुदायको नयाँ वर्ष (तमू ल्होसार)लाई मध्यनजर राख्दै साँस्कृतिक कार्यक्रम र बेंसीसहरको बैंक चोकदेखि मनाङे चौतारासम्म सडक महोत्सव आयोजना गर्ने भएको छ । क्लबका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले खसी बाजी राखेर सुरुआत गरिएको त्रिवेणी कप फुटबल प्रतियोगिता यस क्षेत्रकै प्रतिष्ठित प्रतियोगिता बन्न सफल भएको दाबी गरे ।

राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्यसचिव श्रीधर शर्माले खेलको विकासमा परिषद् लागीपरेको दाबी गरे । उनले गण्डकी प्रदेशका सबै खेलका रेफ्री र कोचको वर्गीकरण आवश्यक रहेको औंल्याए । उनले रेफ्री र कोचको सूचीकृत गरिने समेत बताए ।

प्रकाशित : मंसिर १२, २०८० २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×