कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्र

ओमानसँग बदला लिने नेपालको दाउ

टस जितेर पहिला ब्याटिङ गर्दै
विनोद पाण्डे

काठमाडौँ — नेपालले ओमानविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

ओमानसँग बदला लिने नेपालको दाउ

दीपेन्द्रसिंह ऐरीको स्थानमा नेपालले सन्दीप जोरालाई प्लेइङ ११ मा राखेको छ । यूएईविरुद्धको सेमिफाइनलमा एङकलमा चोटका बावजुद दीपेन्द्रले खेलेका थिए । तर नेपालले यूएईविरुद्ध आरामदायी विजय हात पार्दा उनले ब्याटिङ र बलिङ गर्नु परेको थिएन ।

रोहितको कप्तानीमा रहेको नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहरा रहेका छन् । सेमिफाइनल खेलेको टोलीबाट ओमानले कुनै परिवर्तन गरेको छैन ।

फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

नेपालले दोस्रो पटक ट्वान्टी-२० विश्वकप खेल्ने छ । नेपालले २०१५ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकपबाट डेब्यु गरेको थियो । ओमानले तेस्रो पटक ट्वान्टी-२० विश्वकप खेल्ने छ । ओमानले २०१६ र २०२१ मा ट्वान्टी-२० विश्वकप खेलेको थियो । २०२१ मा यूएईसँगैं सहआयोजक हुँदा ओमानले आयरल्यान्डलाई पनि पराजित गरेको थियो ।

ओमानसँग फाइनलमा खेल्दा नेपाल सामु बदला लिने अवसर रहेको छ । लिगचरणको अन्तिम खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो, जसका कारण ओमान समूह विजेता भएको थियो भने नेपाल उपविजेतामै सीमित भएको थियो । विवेक यादवले पहिलो ३ बलमा लगातार छक्का प्रहार गरे पनि त्यो नेपाललाई विजय दिलाउन पर्याप्त भएको थिएन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फाइनल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ । शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो क्षति भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यस खेलबाट टिकट विक्रीबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ ।

यस्तै भूकम्पको शोकमा नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेलिरहेका छन् ।

प्रकाशित : कार्तिक १९, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×