कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

यूएईसँग मिठो बदला

निकै दमदार प्रदर्शन गरिरहेको नेपाल अघिल्लो शुक्रबार यूएईसँग ४ विकेटले पराजित भएको थियो, जसका कारण यूएईले नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । गत वर्षको फेब्रुअरीमा पनि नेपालको यात्रा सेमिफाइनलमा रोकिएको थियो ।
विनोद पाण्डे

काठमाडौँ — नेपालसामु यूएईको खेल जित्दै एउटा होइन, दुइटा बदला लिनुपर्ने खास कारण थियो । यस बदलाले नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेटसम्म पनि डोर्‍याउँथ्यो । नेपालले शुक्रबार असाधारण हिसाबमा खेल्दै यही प्रकृया पूरा गरी ट्वान्टी–२० विश्वकप यात्रा तय गरेको थियो ।

यूएईसँग मिठो बदला

निकै दमदार प्रदर्शन गरिरहेको नेपाल अघिल्लो शुक्रबार यूएईसँग ४ विकेटले पराजित भएको थियो, जसका कारण यूएईले नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो ।

जबकि डबल राउन्ड रोबिन लिगमा नेपालले यूएईलाई दुई पटक पराजित गरेको थियो । यूएईले हङकङविरुद्धको एक खेलमात्र जित्न सकेको थियो । त्यसैले एक हिसाबले त्यो हार नेपालका लागि अप्रत्याशित जस्तै थियो । ट्वान्टी–२० मा यसअघि खेलिएको खेलमा भने खासै नौलो थिएन ।

गत वर्षको फेब्रुअरीमा नेपालको यात्रा सेमिफाइनलमा रोकिएको थियो । ओमानको मस्कटमा यूएईले नेपाललाई ६८ रनले हराएको थियो । जतिबेला मोहम्मद वासिमले ४८ बलमा ७० र वृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाएपछि यूएईले १७५–७ को स्कोर बनाएको थियो । जवाफमा नेपाल १८.४ ओभरमा १ सय ७ रन बनाई अलआउट भएको थियो ।

यूएईमाथि यो दुवै बदलासहित शुक्रबार नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । नेपालले यूएईविरुद्धको विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जितेको हो । तिनै वासिम र वृत्य यूएईका प्रमुख खेलाडी थिए । सोमपाल कामीको एउटा चमत्कारी ओभरमा उनीहरू दुवै आउट भएपछि नेपालले यूएईको बढ्दो रन गतिमा अंकुश लगाएको थियो ।

‘नेपालले विश्वकप नखेलेको पनि धेरै भइसकेको थियो, त्यसैले यो सफलताले निकै खुसी दिएको छ, वर्ष २०२३ ले हामीलाई धेरै दिएको छ, त्यसैले आफूलाई भाग्यमानी सम्झिरहेको छु,’ सोमपालले भने, ‘क्रिकेट खेल्दा जहिले पनि एउटा सपना थियो, नेपाललाई राम्रो स्थानमा लगेर देशको प्रतिनिधित्व गरौं । अब हामी विश्वकप खेल्न गइरहेका छौं ।’

१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७.१ ओभरमै पूरा गर्‍यो । आसिफ अविजित ६४ रन बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पार गरे । उनले कुल ५१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३४ रन बनाए । उनले २० बल खेलेर २ चौका र २ छक्का प्रहार गरे ।

कुशल भुर्तेल २ चौका प्रहार गरी ११ रन बनाई आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेलेर ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलांश केस्वानी र बसिल हमिदले १–१ विकेट लिए ।

एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान थियो । त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरी नेपालसँगै विश्वकपमा स्थान बनाएको हो । १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमै पूरा गरेको थियो । नेपाल र ओमानले आइतबार फाइनल खेल्नेछन् ।

नेपालले दशकपछि ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि विश्वकप २०१४ बंगलादेशमा खेलेको थियो । आउँदो विश्वकप जुन ४ देखि ३० सम्म हुनेछ । अमेरिकाको डालास, न्युयोर्क र फ्लोरिडाबाहेक वेस्ट इन्डिजको ७ स्थानमा हुनेछ ।

मूलपानी क्रिकेट मैदानमा यसअघि टस जितेपछि पहिला ब्याटिङ गरेको यूएईलाई नेपालले १३४–९ को स्कोरमा रोकेको थियो । चोटका बावजुत खेलेका वृत्या अरविन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए । हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए । उनले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए । नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चे । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चे ।

सोमपालले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरे । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहितले पनि १ विकेट लिए ।

प्रकाशित : कार्तिक १८, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×