कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

यूएईलाई पराजित गरी दशकपछि नेपाल विश्वकप खेल्न आतुर

विनोद पाण्डे

काठमाडौँ — नेपालले यूएईसँग बदला लिँदै अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट हुने अवसर पाएको छ । ओमानसँग ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपाल समूहको उपविजेता भएर यूएईसँग खेल्नुपरेको हो ।

यूएईलाई पराजित गरी दशकपछि नेपाल विश्वकप खेल्न आतुर

अन्तिम ओभरको पहिलो ३ बलमा विवेक यादवले लगातार छक्का प्रहार गरे पनि नेपालले जित हात पार्न सकेन । १ सय ४६ रनको विजय लक्ष्य पाएको नेपाल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० ओभर खेल्दै १ सय ४० रनमा अलआउट भयो ।

दीपेन्द्रसिंह ऐरी घाइते भएपछि प्रतियोगितामा खेल्ने मौका पाइरहेका विवेकले अन्तिम ओभरलाई सनसनी बनाए । सुरुमा रक्षात्मक भएर खेलेका विवेक अन्तिम ओभरमा आक्रामक बनेका थिए । यो खेलबाट नेपाली क्रिकेटले अर्का एक खेलाडी पाएको भन्दै नेपालका प्रशिक्षक मोन्टी देशाईले विवेकको प्रशंसा गरेका थिए ।

नेपाल विश्वकप पुग्नेमा मोन्टी विश्वस्त छन् । ‘हामीले लाइनक्रस गर्न सकेनौं । छनोट अझै सकिएको छैन, एक खेल अझै बाँकी छ । हामी विश्वकपमा छनोट हुन सक्छौं । त्यसका लागि खेलाडीले जिम्मेवार भएर खेल्नुपर्छ,’ प्रशिक्षक मोन्टीले भने, ‘यो खेलबारे भन्नुपर्दा हामीले खेल र प्रतिद्वन्द्वीको पनि सम्मान गर्नुपर्छ । ओमानले लामो समयदेखि एकरुपको प्रदर्शन गर्दै आएको छ र दुई पटक ट्वान्टी–२० विश्वकप पनि खेलिसकेको छ ।’

सोमपाल कामी र सन्दीप लामिछानेलाई ब्याटिङमा माथि पठाउने निर्णयमा नेपालले माथ खाएको हो । आसिफ शेख तेस्रो ओभरमै आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङमा आएका सोमपालले ९ बलमा १२ रनमात्र बनाउन सके ।

टोलीको समर्थनमा नेपाली समर्थक ।तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

सन्दीप जोरा १२ रन बनाई सातौं खेलाडीको रूपमा आउट भएपछि नेपाललाई ३१ बलमा ६१ रन बनाउनुपर्ने अवस्था थियो । यस्तो अवस्थामा करणभन्दा अगाडि सन्दीपलाई ब्याटिङमा पठाइएको थियो । तर, सोमपाल र सन्दीपलाई ब्याटिङमा माथि पठाउने निर्णयप्रति मोन्टीले प्रतिरक्षा गरे ।

‘नेपाली टोलीका ११ जना खेलाडी नै ब्याटिङ गर्न सक्छन् । एउटा योजनामा हिँडिरहेकाले सोमपाललाई माथि पठाउने निर्णय एउटा प्रयोगमात्र थिएन,’ उनले भने, ‘सोमपाल माथिल्लोक्रममा धेरै पटक खेलेका छन् । एसिया कपमा माथि ब्याटिङका लागि पठाउँदा उनले राम्रो गरेका थिए ।’ पहिलो दुई खेलमा सिंगापुर र मलेसियालाई हराएर ओमानसँगको खेलअगाडि नै नेपाल सेमिफाइनल पुगिसकेको थियो । तर, ओमानसँगको हारले नेपाल समूह उपविजेतामै खुम्चियो । ओमानले बहराइनसँग कीर्तिपुरमा सेमिफाइनल खेल्नेछ ।

बहराइन मूलपानीमा कुवेतसँग ४ विकेटले पराजित भएको थियो । तर समूह ‘बी’ बहराइन, हङकङ र कुवेतको समान २ अंक भए पनि रनरेटमा बहराइन अगाडि रह्यो ।

यूएईले मूलपानीमा सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्‍यो । मूलपानी सबै ३ खेल जितेर यूएई समूह ‘बी’ को विजेता बन्यो । गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट हुन असफल भयो । यूएईले नेपाललाई ६८ रनले हराएको थियो ।

मोहम्मद वासिमले ४८ बलमा ७० र वृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाएपछि यूएईले १७५–७ को स्कोर बनाएको थियो । जवाफमा नेपाल १८.४ ओभरमा १ सय ७ रन बनाई अलआउट भयो । वासिम अहिले यूएईको कप्तान बनिसकेका छन् भने बिहीबार हङकङसँगको खेलमा नाडीमा चोट लागेका कारण वृत्याले नेपालविरुद्धको सेमिफाइनल खेल गुमाउन सक्ने छन् ।

ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको छनोटअघिको नेपाल ट्वान्टी–२० आई त्रिकोणात्मक शृंखलामा डबल राउन्ड रोबिन लिगका दुवै खेलमा नेपालले यूएईलाई मूलपानीमा हराएको थियो । तर, फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

शुक्रबार मूलपानीमा यूएईसँग सेमिफाइनल खेल्दा यी दुवै खेल पक्कै पनि नेपालको मस्तिष्कमा हुनेछ । तर, नेपालको लक्ष्य भने अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकपमै हुनेछ । यूएईलाई पराजित गरी दशकपछि नेपाल पुनः ट्वान्टी–२० विश्वकप खेल्न आतुर छ ।

प्रकाशित : कार्तिक १७, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×