कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लाओसविरुद्ध अञ्जन विष्टको कीर्तिमानी गोल

हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग अन्जन विष्टको बराबरी
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली स्ट्राइकर अञ्जन विष्टले लाओसविरुद्ध कीर्तिमानी गोल गरेका छन् । बिहीबार दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा विष्टले नेपाली पुरुष टिमका लागि सबभन्दा बढी गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् ।

लाओसविरुद्ध अञ्जन विष्टको कीर्तिमानी गोल

विष्टले खेलको ४८‍औं मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् । यसअघि खेलको पहिलो हाफमा ३३औं मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले गोल गर्दै अग्रता दिलाएका थिए ।

सिनियर टिमसँग नौ वर्षको यात्रामा अञ्जनको १३ गोल भएको छ । उनले अन्तिम गोल साफ २०२३ को पहिलो खेल (कुवेतविरुद्ध ३–१ को हार) मा गरेका थिए, जसले उनलाई हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमाननजिक पुर्‍याएको थियो ।

यसअघि म्यानमारविरुद्धको खेलमा उनलाई रायमाझी र खड्कासँग कीर्तिमानी बराबर गर्ने अवसर थियो तर उनले त्यसबेला गोल गर्न सकेनन् । विंगर वा स्ट्रइकरको भूमिकामा राष्ट्रिय टिमका लागि प्रभावशाली प्रदर्शन गरिरहेका २५ वर्षीय अञ्जन केही वर्षयता नेपाली टिमको अग्रपंक्तिका मुख्य हतियारका रूपमा स्थापित छन् ।

सन् २००३ मार्चमा दशरथ रंगशालामा भएको एएफसी कप २००४ छनोटमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो, जहाँ हरि र नीराजनले दुई–दुई गोल गरेका थिए । हरिको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल नै त्यही हो ।

नीराजनले सन् २००८ मा भएको साफ च्याम्पियनसिपमा माले (माल्दिभ्स) मा पाकिस्तानविरुद्ध निकालेको ४–१ को जितमा आफ्नो करिअरको अन्तिम गोल गरेका थिए । त्यसैले १३ गोलको कीर्तिमानलाई १३ वर्षपछि अन्जनले बराबरी गरेका छन् ।

प्रकाशित : आश्विन २५, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?