कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

जुम्लामा निर्माणाधीन १३ करोडको रंगशालामा एथ्लेटिक्स गराउन नमिल्ने

डीबी बुढा

जुम्ला — कर्णाली प्रदेशको जुम्लामा झण्डै १३ करोडको लागतमा खेलकुद रंगशाला निर्माणको काम सुरु भएको छ । खेलकुद मैदान अभावले खेलाडीहरुले भीरपाखामा कष्टकर अभ्यास गरिरहेका बेला बन्न लागेको रंगशालाले खेलाडीहरु उत्साहित छन् । फुटबलबाहेकका खेल सम्बद्ध व्यक्तिहरूले भने एथ्लेटिक्सलगायतका प्रतिस्पर्धा गराउन नमिल्ने भन्दै आलोचना गर्न थालेका छन् ।

जुम्लामा निर्माणाधीन १३ करोडको रंगशालामा एथ्लेटिक्स गराउन नमिल्ने

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासिममा रंगशाला निर्माणको काम सुरु भएको छ । रंगशाला निर्माणको जिम्मा कविन्द्र निर्माण सेवाले पाएको छ । गत भदौ २३ गतेदेखि रंगशाला निर्माणको काम सुरु भएको निर्माण सेवाका इन्जीनियर कविन्द्र महतोले जानकारी दिए ।

उनका अनुसार अहिले ग्राउण्डको संरचना बनिरहेको छ । यससँगै ८५ मिटर लामो प्यारापिट निर्माण हुनेछ । जसको तल ग्राउण्डमा शौचालय, बाथरुम, माथि सटर र त्यसमाथि प्यारापिट निर्माण हुने निर्माण कम्पन्नीका प्रतिनिधि तथा इन्जिनियर वीरेन्द्र महतोले जानकारी दिए ।

जिल्लामा करोडौंको रंगशाला निर्माण हुनु राम्रो पक्ष भए पनि एथ्लेटिक्स खेल आयोजना गर्न नमिल्ने गरेर स्टिमेट भएको धावक हरिबहादुर रोकायाले बताए । कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जिल्लामा रंगशाला बन्नु खुसीको कुरा भए पनि एथ्लेटिक्सलाई नसमेटिएकोमा दु:ख व्यक्त गरे ।

‘रंगशाला निर्माणमा खेलाँची भयो । जिल्लामा रंगशाला बन्नु खुसीको कुरा हो । तर यो रंगशालाले एथ्लेटिक्सलाई समेट्दैन । राष्ट्रिय तथा क्षेत्रीय स्तरको टुर्नामेन्ट समेत गर्न मिल्दैन । केवल प्रशिक्षण गर्न मात्र प्रयोग हुन्छ,’ क्लबका अध्यक्ष शाहीले भने ।

रंगशाला बनाउने सन्दर्भमा खेलाडीहरुसँग परामर्श नभएको र मनोगत हिसाबले डीपीआर गरेर निर्माण कार्य सुरु भएको भन्दै एथ्लेटिक्सका खेलाडीहरूले असन्तुष्टि जनाएका छन् ।

'हामीले त जग्गा खरिद गरेर ठूलो खेलमैदान बनाउने सुझाव दिएका थियौं । अहिले प्यारापिट बनाउन आवश्यक छैन । प्यारापिट बनाउने रकमले जग्गा खरिद गरौं । अन्तर्राष्ट्रिय मापदण्डको बनाएर सबै खेलप्रेमीको ध्यान जुम्ला केन्द्रित गरौं भन्ने थियो,' कर्णाली प्रदेश खेलकुद परिषदका अध्यक्षसमेत रहेको शाहीले भने, ‘कहाँबाट योजना बन्यो । डीपीआर कसरी बन्यो ? अचम्म लागेको छ ।’

विश्व कृतिमानी धावक हरीबहादुर रोकायाले पनि रंगाशाला खेलकुद र खेलमैत्री नबन्ने भन्दै आलोचना गरेका छन् । उनले भने, ‘यो रंगशाला खेलकुद र खेलाडीमैत्री भएन । फुटबलमा पनि नौ जनाले मात्र खेल्न मिल्ने रंगशाला बन्न थाल्यो । न नेश्नल भयो न त इन्टरनेश्नल मापदण्डको नै बन्यो,' उनले भने, ‘रंगशालाको डीपीआर गर्दा खेलाँची भयो ।’ उनका अनुसार चन्दननाथ नगरपालिकाका प्राविधिकले पहिले एक पटक डीपीआर देखिएका थिए । तर रोकायाले उक्त डीपीआरको प्रारम्भिक चरणमै असन्तुष्टि व्यक्त गर्दै सुझाव दिएका थिए ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सब इन्जिनियर चन्द्र खड्काले भने जग्गाको बनोट र क्षेत्रफलको आधारमा रंगशालाको डीपीआर बनाएर निर्माणको काम सुरु भएको बताएका छन् । ‘जग्गा पाउन पहल भयो । सरकारले जग्गा किन्ने रकम नदिने र जग्गा नि:शुल्क प्राप्त नहुने भएपछि रंगशाला अहिलेको जमिन अनुसार बन्न लागेको हो,’ खड्काले भने । साथै फुटबलका लागि राम्रो रंगशाला बन्ने उनको दाबी छ । तर अन्य खेलप्रेमी अगुवाहरूले भने ठूलो रकममा रंगशाला बन्ने भएपछि धेरै खेललाई लक्षित गरेर बनाउनुपर्ने तर्क गरिरहेका छन् ।

रंगशालाको लम्बाइ २ सय मिटर र चौडाइ करिब १ सय मिटर रहेको छ । सम्झौता अनुसार रंगशाला २ वर्षमै निर्माणको काम सकिने बताइएको छ । रंगशाला निर्माण शीर्षक अन्तर्गत रहेको कुल ५० करोड बजेटमध्ये १३ करोड लगानीमा रंगशाला निर्माण हुन लागेको हो । बाँकी रहेको ३७ करोड लगानीमा ११ वटा संचरना निर्माण हुन लागेका हुन् । जसमा रानीताल पार्क, चन्दननाथ नगरपालिका अगाडि सटर, चन्दननाथ–८ को पक्की वडा कार्यालय भवन र जुम्ला बजारमा कटिङ ढुंगा छापिनेछ ।

त्यस्तै, कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु–कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, ढाणथपलादेखि भण्डारीवाडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायत ११ वटा संरचना रंगशालासँगै निर्माण हुने निर्माण कम्पन्नीले जनाएको छ । हाल चन्दननाथ नगरपालिकाको अघि सटर, जिल्ला प्रहरी कार्यालय अघि आरसीसी सेयर वाल निर्माण र रंगशाला निर्माणले गति लिएको छ भने अन्य कामलाई चाँडै सुरु गर्ने तयारी छ ।

रंगशाला निर्माण २४ महिनामा सकिने गरी सम्झौता भई निर्माण सुरु भएको खड्काले बताए । दुई वर्षभित्र बन्ने रंगशालाले जुम्लाको खेल क्षेत्रको विकासमा टेवा पुर्‍याउने र खेलाडीमा उत्साह थप्ने अपेक्षा गरिएको खड्का बताउँछन् । यस्तै रंगशालाको नाम विश्व कीर्तिमानी धावक ‘हरिबहादुर रोकाया रंगशाला’ राखिने पनि तय भएको छ ।

रंगशाला निर्माणसँगै जुम्ली खेलाडीले हिउँदमा धुलो र हिउँ तथा बर्खामा हिलोमा अभ्यास गर्नुपर्ने समस्या झेल्नु नपर्ने समेत अपेक्षा गरिएको खड्काले बताए ।

प्रकाशित : आश्विन ५, २०८० २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×