कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

म्याराथन धावकद्वयलाई लिनिङको साथ

काठमाडौँ — १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जानेक्रममा रहेका म्याराथन धावकद्वय राजन रोकाया र पुष्पा भण्डारीलाई खेलकुद पोसाक कम्पनी लिनिङले प्रायोजन गरेको छ । लिनिङ नेपालले खेलाडीलाई दौडिदा लगाउने जुत्तासहित कपडा प्रदान गरेको थियो । 

म्याराथन धावकद्वयलाई लिनिङको साथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव सम्राट कुसारी, नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्ट र लिनिङ नेपालका कार्यकारी प्रमुख राजन महर्जनले राजन र पुष्पालाई खेल सामग्री प्रदान गर्नुका साथै एसियाली खेलकुदमा जानका लागि बिदाइ गरेका थिए ।

लिनिङ नेपालका महर्जनले खेलाडीलाई सामग्री प्रदानका अवसरमा भने, ‘म्याराथनमा हाम्रो उपमहाद्धिपमा नेपालको इतिहास गर्विलो रहेको छ, हारको मनस्थितिमा नरहन र हारे पनि नजिकको हारका लागि मिहिनेत गर्नु खेलाडीका लागि अतिआवश्यक रहेको छ ।’ उनले अन्तिम समयमा भएकाले लिनिङको यो सानो सहयोगमात्र रहेको जनाए ।

एथ्लेटिक्स संघका सचिव विष्टले लिनिङको यो सानो सहयोग भए पनि यसले म्याराथन खेलाडीको मनोबल उच्च पार्ने जनाए । राखेपका निमित्त सदस्यसचिव कुसारीले चीनका राष्ट्रपतिको निमन्त्रणमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि अमेरिकाबाट एसियाली खेलकुद उद्घाटन समारोहमा उपस्थिति हुन चीनको हानचउ पुग्ने जनाउँदै १९ औं एसियाली खेलकुदलाई नेपालले उत्सवको रुपमा लिएको जनाए ।

२५ वर्षे राजनको यो पहिलो एसियाली सहभागिता हो । त्रिभुवन आर्मी क्लबसँग आबद्ध उनले फागुनमा भएको एसियन क्रसक्रन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । उनी त्यसमा टिम इभेन्टमा पहिलो भएका थिए भने व्यक्तिगततर्फ पाँचौं भएका थिए । प्रधानसेनापति ओपन म्याराथन विजेता राजन कान्तिपुर हाफ म्याराथनमा दोस्रो भएका थिए ।

पुष्पा पनि पहिलो पटक एसियाली प्रतियोगितामा खेल्न लागेकी हुन् । उनले सन् २०२१ र २०२३ मा बंगलादेशको बंगबन्धु म्याराथनमा पहिलो भएकी थिइन् भने २०२२ को संस्करणमा दोस्रो भएकी थिइन् । २०१९ मा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा २ घन्टा ५०.११ मिनेटका साथ रजत पदक जितेर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसै वर्ष बंगलादेशमा बंगबन्धु जित्नेक्रममा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई सुधार्दै २ घन्टाम ४८.०२ सेकेन्डको समय निकालेकी थिइन् ।

एसियन क्रसक्रन्टीमा पुष्पा व्यक्तिगतमा छैटौं र टिमतर्फ दोस्रो भएकी थिइन् । नेपाल एपीएफ क्लबकी २६ वर्षे पुष्पा यस वर्ष भएको कान्तिपुर म्याराथनमा तेस्रो भएकी थिइन् ।

प्रकाशित : आश्विन ४, २०८० १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×