कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
एसिया कप २०२३

भारत आठौंपल्ट च्याम्पियन

एएफपी

कोलम्बो — पेस बलर मोहम्मद सिराजले २१ रन खर्चेर छ विकेट लिँदै गरेको उत्कृष्ट प्रदर्शनको मद्दतले भारतले श्रीलंकालाई आइतबार १० विकेटले पराजित गर्दै आठौंपल्ट एसिया कप जितेको छ । सिराजले एकै ओभरमा चार विकेट लिएपछि श्रीलंका १५.२ ओभरमा ५० रनमै समेटिएको थियो ।

भारत आठौंपल्ट च्याम्पियन

त्यसको जवाफमा भारतीय ओपनरद्वय ईशान किसन र शुबमन गिलले ६.१ ओभर मात्र उपयोग गर्दै जितको लक्ष्य हात पारे । यस सफलतासँगै अर्को महिना सुरु हुने एकदिवसीय विश्वकपका लागि भारतले प्रभावशाली तयारी पाएको छ । भारतका लागि शुबमन गिलले २७ र ईशान किसनले २३ रन बनाए । उनीहरूले जितसम्म पुग्न हतारो देखाए । एसिया कप इतिहासमै सबैभन्दा छोटो फाइनलमा बायाँ हाते ब्याटर ईशानले मथिशा पाथिरानाको बलिङमा लगातार दुई चौका प्रहार गरे । गिलले अर्को छेउ तीन चौका प्रहार गरे । रोहित शर्माको भारतले पूरा प्रतियोगितामा एकै खेल मात्र गुमाएको थियो ।

श्रीलंकाको ब्याटबाट ५० ओभरको खेलमा प्रदर्शन निराशाजनक रह्यो । यसले फाइनल हेर्न पुगेका दर्शक निराश रहे । उनीहरूले १ सय १६ मिनेटको खेल मात्र हेर्न पाए । घरेलु टिमले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । वर्षाका कारण खेल केही ढिला सुरु भएको थियो । त्यसयता जसप्रित बुमराहले पहिलो ओभरमै कुशल परेरालाई शून्य रनको स्थितिमै आउट गरे ।

त्यसपछि आक्रमणको जिम्मेवारी सिराजले उठाए । वर्षाले खेल बिथोलिने सम्भावनाबीच उनले बललाई मज्जाले स्विङ गरे । यसै क्रममा उनले ३२ रनमा चार विकेटको आफ्नो पूर्वउत्कृष्ट प्रदर्शनलाई उछिन्ने । उनले पथुम निशान्कालाई दुई रनमा आउट गरेयता लगातार बला सदिरा समराविक्रम र चरिथा असलन्कालाई आउट गरे । उनले ह्याट्रिक भने गर्न सकेनन् । सिराजको ह्याट्रिक विकेट रोकेका धनञ्जय डी सिल्भाले आफूले सामना गरेको पहिलो बलमै चौका त प्रहार गरे तर अर्को बलमै उनी पनि आउट भए र यसले भारतीय समर्थकमाझ खुसीयाली छाएको थियो ।

सिराजले श्रीलंकाली कप्तान डसुना सानकालाई आउट गर्दै पाँचौं विकेट लिए । उनले १६ बलमा पाँच विकेट लिएका हुन् । यो एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडै पाँच विकेट लिएको प्रदर्शन हो । सन् २००३ मा चामिन्दा भासले पनि आफ्नो पहिलो १६ बलमै ५ विकेट लिएको प्रदर्शन गरेका थिए । कुशल मेन्डिसले तीन चौका प्रहार गरे, तर उनी सिराजको छैटौं सिकार बने ।

२००४ मा श्रीलंकासँगै जिम्बावे र २०२० मा कीर्तिपुरमा नेपालसँग अमेरिका ३५ रनमै आउट भएर सबैभन्दा कम स्कोरको खतरातर्फ श्रीलंका पनि मोडिएको थियो । श्रीलंकाले त्यसलाई जसोतसो उछिन्न सक्यो । हार्दिक पान्ड्याले अन्तिम तीन विकेट लिएपछि श्रीलंकाको इनिङ्स ९० मिनेट मात्र चलेको थियो ।

प्रकाशित : आश्विन १, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×