कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

धनगढी — ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ मा धनगढीमा हुने अवार्डको वर्ष खेलाडी पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सन्जीवनी अस्पताल वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका जनाएका छन् ।

शिवराजले नवौं राष्ट्रिय खेलकुदमा एक सय मिटरमा २३ वर्ष पुरानो किर्तिमान भंग गर्दै तीन स्वर्ण र एक रजत पदक जितेका थिए । नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी बनेका उनले एक र दुई सय मिटर दौड तथा चार गुणा रिलेमा स्वर्ण पदक जितेका थिए ।

दीपेन्द्रले नेपाली क्रिकेट टोलीलाई विश्वकप क्वालिफायरमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । वर्ष २०७९ मा टी –२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका उनले एकदिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्दा एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका थिए ।

प्रकाशले जुनियर कबड्डी च्याम्पियनसिपमा नेपालले ऐतिहासिक कास्य पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका तीन खेलाडीमध्ये नेपाललाई सेमिफाइनलसम्म पुराउन उनले सानदार प्रदर्शन गरेका थिए ।

वर्ष खेलाडी महिला विधामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा छन् । विन्दुको कप्तानीले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमा भएको क्रसकन्टी म्याराथनमा राजपुराले रजत पदक जितेकी थिइन् । वर्षाले नेपाललाई पहिलो पटक साफ यु– १५ महिला च्याम्पियनसिपको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

यसअघि चार विधाको मनोनयन सार्वजनिक गरिसकिएको छ । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा छन् । वर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा छन् । सुदूरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, करातेका आनन्द कामी र फुटबलका जियारत शेख मनोनयनमा पर्दा सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनीषा सिंह, फुटबलकी दीपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा छन् ।

६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाॅकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रममै सम्मान गर्ने जनाएको छ । लाइफटाईम एचिभमेन्ट अवार्ड र स्पेसल अवार्डमा मनोनयन नहुने भएकाले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित : असार ८, २०८० २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×