कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

पोखरामा ओलम्पियनको पुनर्मिलन

दीपक परियार

पोखरा — नेपाली ओलम्पियनहरूको छाता संगठन नेपाल ओलम्पियन संघको आह्वानमा नेपाली ओलम्पियन पोखरामा भेला भएका छन् । संघले आयोजना गरेको दोस्रो ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रम सहभागी हुन ५० जनाभन्दा बढी ओलम्पियन पोखरा आएका छन् । 

पोखरामा ओलम्पियनको पुनर्मिलन

संघले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दीपक विष्टले पोखरामा पहिलोपल्ट ओलम्पियनहरू एकै ठाउँमा जम्मा हुने अवसर मिलेको बताए । उनका अनुसार शनिबार बिहान प्रभात फेरी तथा साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुनर्मिलन तथा सम्मान कार्यक्रम हुनेछ । आइतबार संघको वार्षिक साधारणसभा हुनेछ । आइतबार नै गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीसँग ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ ।

आइतबारसम्म हुने कार्यक्रमको पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीले समन्वय गरेका छन् । संघको आयोजनामा पहिलो ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौंमा भएको थियो । उपत्यकाबाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ यसपल्ट पोखरामा आयोजना गर्न लागिएको संघका अध्यक्ष विष्टले बताए ।

सन् १८६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष विष्टले बताए । ‘पहिलो पुनर्मिलन तथा सम्मान कार्यक्रम सफल भएबाट पनि हामी दोस्रो संस्करणको कार्यक्रम आयोजनाका लागि उत्साहित भएका छौं,’ उनले भने ।

नेपालले पहिलोपल्ट सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रूपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को सदस्यता प्राप्त गरेको थियो ।

झन्डै ६ दशकको अन्तरालमा ५० जना नेपाली खेलाडीले ग्रीष्म (८८ जना) र शीतकालीन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्यांक छ । त्यसमध्ये १० जनाको निधन भइसकेको छ । केही ओलम्पियन विदेशमा छन् । ‘खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आबद्ध हुन ओलम्पियनलाई अभिप्ररित गर्ने उद्देश्यका साथ पुनर्मिलनलगायत अन्य कार्यक्रमको आयोजना गर्न लागिएको हो,’ अध्यक्ष विष्टले भने, ‘कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधिको पनि सहभागिता रहन्छ ।’

कार्यक्रमको स्थानीय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले कार्यक्रमले गण्डकी प्रदेशमा खेलकुदमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरे ।

प्रकाशित : जेष्ठ १८, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×