सेभियाले जित्यो युरोपाकप


बुडापेस्ट — सेभियाले कीर्तिमानी रच्दै सातौं पल्ट युरोपाकप जितेको छ । उसले बुधबार पुस्कास एरेनामा भएको फाइनलमा एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको हो । स्पेनी टिमका लागि गोन्जालो मोन्टिएलले पेनाल्टीबाट निर्णायक गोल गरे ।


मोन्टिएलले कतार विश्वकप फाइनलमा पनि अर्जेन्टिनाका लागि पेनाल्टीमा विजयी गोल गरेका थिए । निर्धारित समयको खेल भने १–१ को बराबरीमा रहेको थियो । रोमाका लागि रोजर इबानेज र जियानलुका मानचिनी पेनाल्टीमा गोल गर्न चुके ।
सेभियाले खेलेका सबै सात युरोपा लिग फाइनल जितेको छ । पछिल्लो जितसँगै सेभिया अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ । रोमाका प्रशिक्षक जोसे मोउरिन्हो भने पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनलमा पराजित भए ।
प्रकाशित : जेष्ठ १८, २०८० ०६:२३