कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अन्तिम दिनको दुई जितसँगै काठमाडौं किकर्स ११औं स्थानमा

राजु घिसिङ

म्युनिक — काठमाडौं किकर्स फुटबल एकेडेमीले म्युनिकस्थित मामेन्डर्फमा फिन्च्त जुनियर फुटबलको ५४ औं संस्करण ‘भीआर बैंक कप २०२३’ को अन्तिम दिन सोमबार दुवै खेलमा जित रच्दै यू १३ तर्फ सहभागी १६ टिममध्ये ११औं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ ।

अन्तिम दिनको दुई जितसँगै काठमाडौं किकर्स ११औं स्थानमा

किकर्सले समूह चरणको अन्तिम खेलमा टीएसभी मुरेनवेइसलाई २–० ले पराजित गर्यो । उक्त खेलमा विशांख कार्की र अबिन भट्टराईले गोल गरे । आठ टिम रहेको समूह २ मा किकर्सले दुई जित, एक बराबर र चार हारको नतिजासहित सात अंक बटुल्दै छैटौं स्थान हात पार्यो । त्यसपछि किकर्स प्लेअफमा टीएसभी गेल्टेन्डोर्फलाई ३–१ ले हराएर ११ औं स्थानमा रहेको हो । एक गोलले पछाडि परेको स्थिति उल्टाएर किकर्सले पहिलो बिदेश यात्राको अन्तिम खेल जितेको हो, जसमा अबिनले दुई तथा अंगश भुसालले एक गोल गरे ।

कपनस्थित कपअन स्पोर्ट्स सेन्टरलाई मुख्य मैदानको रुपमा उपयोग गर्दै काठमाडौं उपत्यकाका चार स्थानमा प्रशिक्षण दिइरहेको काठमाडौं किकर्स फुटबल एकेडेमीका मुख्य प्रशिक्षक ली मेन्सनले यू १३ टिमको जर्मन यात्राबारे भने, ‘हामीले पहिलो दिन सबै खेल (तीन) हारेका थियौं । तर, हाम्रा युवा खेलाडीहरूले प्रदर्शनमा निरन्तर सुधार गरे । पहिलो दिनको अन्तिम खेल अन्तिम मुभमा भएको गोलले हारेका थियौं । दोस्रो दिन बराबरी खेलेपछि जित हासिल गरेका थियौं । उक्त दिनको अन्तिम खेल एक गोलले हारेपनि प्रतिस्पर्धात्मक रहेको थियो । प्रतियोगिताको अन्तिम दिन सबै खेलाडीले राम्रो गरे, कन्फिडेन्स भएर खेले । त्यसैले दुवै खेल जित्यौं ।’

अमेरिका, जापान, फिलिपिन्समा करिब तीन दशक अनुभव संगालेपछि झण्डै दुई वर्षअघि काठमाडौं किकर्समा आबद्ध भएका स्कटिस प्रशिक्षक लीले भने, ‘पहिलो बिदेश यात्रामै जर्मनीका स्थानीय टिमविरुद्ध यत्तिका (३ जित, १ बराबर, ४ हार) नतिजा भनेको निक्कै राम्रो हो जस्तो लाग्छ । हाम्रा खेलाडी ९–१० वर्षका पनि छन् ।स्थानीय टिमलेजस्तै समान १२ वर्षकै खेलाडीलाई मैदानमा उतारेको भए हामी उपाधि जित्न पनि सक्थ्यौं । शारीरिक रुपमा जर्मनभन्दा निक्कै साना छन् । यस्तै प्रतियोगिता नियमित खेल्न पायो भने नेपाली युवा खेलाडीले धेरै राम्रो गर्नसक्ने यो यात्रामा सावित गरेका छन् ।’

सन् १९६७ मा सुरु भएको प्रतियोगितामा काठमाडौं किकर्स शनिबार एसभी सिलेन्बाखविरुद्ध २–०, एससी उन्टरफाफेनहोफेनविरुद्ध ५–० र एफएसभी इचिङविरुद्ध २–१ ले हारेको थियो । विशांखले दिलाएका अग्रता जोगाउन नसकेको किकर्सले अन्तिम मुभमा गोल बेहोरेपछि तीन अंक जोडेको इचिङ समूह २ को विजेता मात्रै भएन, उसले समूह १ को विजेता एससी माइसाकलाई हराएर यू १३ को उपाधि नै जित्यो ।

किकर्सले आइतबारको पहिलो खेलमा एफसी ल्यान्डस्बरिडविरुद्ध गोलरहित खेल्दै अंकको खाता खोलेको थियो । त्यसपछि पाँचौं खेलमा आएर टीएसभी गेर्नलिन्डेनलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गर्यो । दोस्रो दिनको अन्तिम खेलमा आयोजक एसभी मामेन्डर्फविरुद्ध १–० ले हार्यो । त्यसपछि सोमबार सुधारिएको प्रदर्शन गर्दै किकर्सले मुरेनवेइस र गेल्टेन्डोर्फलाई हराएर ११ औं स्थान हात पारेको हो ।

यस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली टिम बनेको काठमाडौं किकर्स ५४ औं संस्करणको एकमात्र विदेशी टिम पनि हो । यू ६ देखि १५ सम्मका विभिन्न ६ वटा उमेर समूहमा आयोजित प्रतियोगितामा २० क्लबका ६४ टिम सहभागि थिए । चारपल्ट विश्वकप फुटबलको च्याम्पियन जर्मनीको जिल्लास्तरीय क्लब मामेन्डर्फले प्रतियोगिताका २ सय ९० खेल आफ्नै पाँच वटा मैदानमा सञ्चालन गरेको थियो ।


जर्मनीको म्युनिकमा सोमबार सम्पन्न फिन्च्त जुनियर फुटबलको ५४ औं संस्करण ‘भीआर बैंक कप २०२३’ मा प्रतिस्पर्धा गर्दै काठमाडौं किकर्स फुटबल एकेडेमीका खेलाडी (नीलो जर्सीमा) ।तस्बिर : राजु घिसिङ/कान्तिपुर

प्रकाशित : जेष्ठ १५, २०८० २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?