कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जर्मनीमा खेल्दै काठमाडौं किकर्सका युवा

राजु घिसिङ

म्युनिक — काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको ५६ वर्ष पुरानो प्रतियोगिता भीआर–बैंक कपमा शनिबारदेखि प्रतिस्पर्धा गर्दै छ । म्युनिकमा तीन दिने ट्रेनिङ क्याम्प आयोजना गरेपछि प्रतियोगिता खेल्न लागेको हो ।

जर्मनीमा खेल्दै काठमाडौं किकर्सका युवा

एसभी मामेन्डर्फद्वारा आयोजित प्रतियोगिता ५४ औं भीआर बैंक कपमा यू–६, यू–८, यू–९, यू–१०, यू–११, यू–१३ र यू–१५ गरी सात उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । काठमाडौं किकर्सको टिम यू–१३ मा सहभागी हुन म्युनिक आइपुगेको हो । १३ खेलाडीसहितको टिम मंगलबार जर्मनी आइपुगेको हो । स्कटिस प्रशिक्षक ली मेन्सनले सम्हालेको टिमले तीन दिन स्पोर्ट्ससुले ओभरहाकिङमा ट्रेनिङ क्याम्प सञ्चालन गरेपछि प्रतियोगिता खेल्न लागेको हो ।

कोभिड–१९ महामारीअघि इटाली, स्विट्जरल्यान्डलगायत युरोपका थुप्रै देश सहभागी प्रतियोगितामा यसपालि जर्मनीबाहिरको टिम नेपालमात्रै आएको आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौं किकर्ससहित २० क्लबका ६४ टिम सहभागी छन् । तीन दिन चल्ने प्रतियोगितामा कुल २ सय ९० खेल हुनेछ । काठमाडौं किकर्सले प्रतिस्पर्धा गर्ने यू–१३ उमेर समूहमा १६ टिम छन् । यसमा आठ–आठ टिम गरी दुई समूहमा विभाजन गरिएको छ । त्यसैले सहभागी टिमले कम्तीमा सात खेल खेल्नेछ । समूहका शीर्ष तीन टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिग चरणको प्रतिस्पर्धा शनिबार र आइतबार हुनेछ भने फाइनलसहित नकआउट खेल सोमबार हुनेछ ।

कपअन स्पोर्ट्स सेन्टर कपनलाई मुख्यस्थल बनाएर काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा नियमित प्रशिक्षण गराउँदै आएको काठमाडौं किकर्सका अध्यक्ष नवीन पाँडेले यू–१३ टिमको जर्मन यात्राबारे भने, ‘नेपाली खेलाडीलाई युरोपको व्यावसायिक लिग खेल्न योग्य बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो । त्यसका लागि युवा खेलाडीलाई सानैदेखि अन्तर्राष्ट्रिय तहमै एक्सपोजर दिन आवश्यक छ र यसैका लागि हामीले यू–१३ टिमलाई भीआर बैंक कपमा आफ्नो स्तरको मापन गर्न जर्मनी ल्याएका हौं । यो यात्रा हाम्रो सुरुआत हो । अर्को वर्षदेखि यस किसिमका ट्रेनिङ क्याम्प र प्रतियोगितामा सहभागितालाई बढीभन्दा बढी बनाउने छौं ।’ किकर्स टिमले बिहीबार जर्मन महारथी बायर्न म्युनिकको रंगशाला आलियन्ज एरिना र बायर्न म्युजियमको भ्रमण गरेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×