लिग उपाधि होड त्रिकोणात्मक

सहिद स्मारक लिगमा मनाङ मर्स्याङ्दीको लगातार सात खेल बराबर, टोलीलाई रेलिगेसन तनाव
हिमेश

काठमाडौँ — यसपल्ट सहिद स्मारक लिगको सबैभन्दा प्रमुख विशेषता हो, शीर्षस्थानमा उक्लेयता प्रत्येक टिमले राम्रो प्रदर्शनका लागि संघर्ष गर्नु । चर्च ब्वाइजको कथा पनि यही रह्यो । लिगको २१ औं चरण समाप्त हुँदा चर्च ब्वाइज नै पहिलो स्थानमा रहने छ । तर, टोलीले पछिल्ला दुई खेलमा लगातार दुई बराबरी खेलेको छ ।

बिहीबार मनाङ मर्स्याङ्दीबीचको खेल गोलरहित रह्यो । यो खेल जितेको भए चर्च ब्वाइजले ५ अंक अन्तरले अगाडि रहन सक्थ्यो ।

बराबरीले यो अग्रता फेरि तीनै अंकमात्र रह्यो । यो नतिजाले के स्पष्ट पारेको छ भने अब लिग उपाधि होड त्रिकोणात्मक भएको छ । त्यसमध्ये शीर्षमा रहेको चर्च ब्वाइज त भइहाल्यो, त्यसपछि दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र र जावलाखेल युथ रहेका छन् । मछिन्द्रको ३५ अंक छ भने जावलाखेल एक अंकले पछाडि छ । बिहीबार अर्को खेलमा चौथोमा रहेको सातदोबाटो फ्रेन्ड्सको हातबाट नमीठोसँग पराजित रह्यो । टोलीको उपाधि चुनौती समाप्त जस्तै भएको छ ।

सातदोबाटोसँग २९ अंक छ । लिगमा ५ चरणका खेल बाँकी छँदा चर्च ब्वाइजले संकटा, एपीएफ, जावलाखेल, थ्रीस्टार र खुमलटारको सामना गर्नेछ । मछिन्द्रले आर्मी, सातदोबाटो, पुलिस, हिमालयन शेर्पा र मनाङको चुनौती बेहोर्ने छ । जावलाखेलले भने एपीएफ, आर्मी, चर्च ब्वाइज, सातदोबाटो र थ्रीस्टारविरुद्ध खेल्नेछ । लिगको नतिजा प्रवृत्ति अहिले जस्तै रहने हो भने उपाधि होड अन्तिम दिनको खेलसम्म चल्न सक्नेछ ।

‘हामी उपाधि हकदार छौं’

चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन एक अर्को बराबरीमा निराश रहे । तर, उनको दाबी थियो, ‘हामी उपाधिका लागि हकदार नै छौं र अन्त्यसम्म लिग जित्नका लागि प्रयासरत रहने छौं । मैले सुरुदेखि भन्दै गरे जस्तै चर्च ब्वाइजको आक्रमण अलि कमजोर छ र यसैले समस्या उत्पन्न गरिरहेको छ ।’ प्रशिक्षक महर्जनले फेरि एकपल्ट रेफ्रीको निर्णयबारे विरोध गरे । खेलका क्रममा प्रकाश नाथ र उनका सहायकको चर्च ब्वाइजको बेञ्चसँग दोहोरो तनाब जारी रह्यो ।

महर्जनले थपे, ‘रेफ्रीको निर्णयमा धेरै कमजोरी छन् र हामीले लगातार गुनासो गरिरहेका छौं । यसको पनि कारण भनेको त्यही हो, रेफ्रीले पनि लगातार खेलाइरहनुपरेको छ । यसले गर्दा उनीहरू थाकेका छन् । थकाइकै कारण रेफ्रीको निर्णयहरू कमजोर भइरहेका छन् ।’ मनाङका लागि यो बराबरी उत्तिकै नमीठो किन रह्यो भने टोलीको यो लगातार सातौं बराबरी हो । एक समय लगातार ६ खेल गुमाएको मनाङले त्यसलगत्तै एक खेल जितेको थियो । त्यसयता भने मनाङ जित निकाल्न संघर्षरत छ । टोलीले लगातार सात खेलबाट सातै अंकमात्र बटुल्न सकेको छ । ‘हामी जितको पूर्ण हकदार थियौं, तर ३ अंकबाट वञ्चित रह्यौं,’ मनाङका मुख्य प्रशिक्षक विष्णु गुरुङले भने ।

खेलमा मनाङकै वर्चस्व थियो । गोलको सबैभन्दा नजिक पनि मनाङ नै पुगेको थियो । दोस्रो हाफमा कोफी टिमोथीको प्रहार पोस्टमा लागेर फर्केको थियो र मनाङलाई भाग्यले साथ नदिएको नै देखियो ।

यससँगै मनाङ २५ अंकमै सीमित रह्यो । लिगले १५ औं चरण छुँदा मुख्य प्रशिक्षकमा गुरुङ आएका थिए । त्यसयता उनी पहिलो जितका लागि संघर्षरत छन् । उनले मनाङसँग दुई वर्षको अनुबन्ध गरेको छ । उनको नजर अर्को सिजनको लिगमा छ । उनले आफ्नो योजना सुनाए, ‘यसपल्ट टिम बनाउँदा केही समस्या भएको छ । अर्को सिजन यी सबै समस्या समाधान गर्नेछौं । क्लब व्यवस्थापनले राम्रो टिम बनाउने भनेको छ, अबको लिगमा हामी च्याम्पियन हुने टिम लिएर आउने छौं ।’

फ्रेन्ड्सको सानदार जित

रेलिगेसनबाट बच्न लगातार संघर्ष गरिरहेको फ्रेन्ड्सले बिहीबारको अर्को खेलमा सानदार जित निकालेको छ । यस क्रममा फ्रेन्ड्सको सिकार बनेको छ सातदोबाटो । सातदोबाटोमै भएको खेलमा फ्रेन्ड्सका लागि टोरिक जेब्रिनले दुई गोल गरे भने रफिक इमानु र प्रकाश बुढाथोकीको नाममा एक–एक गोल रह्यो । आफ्ना प्रमुख खेलाडी घाइते रहेको हुनाले सातदोबाटो समस्यामा छ । टोलीको यो लगातार दोस्रो हार हो । यो जितपछि फ्रेन्ड्सको २४ अंक भएको छ । टोली १२ औं स्थानमा उक्लेको छ ।

फ्रेन्ड्सले चार चरणपछि रेलिगेसन क्षेत्र छाडेको छ । संकटा भने पहिलो पटक रेलिगेसन क्षेत्रमा झरेको छ । संकटाको २३ अंक छ । टोलीमाथि चर्को दबाब सिर्जना भएको छ । खुमलटार अन्तिम स्थानमा छ । टोलीको खातामा २१ अंक छ । मनाङ मर्स्याङदीसम्म पनि रेलिगेसन तनावमा रहेको छ । मनाङ ११ औं स्थानमा छ । टोलीको पछाडि तीन टिममात्रै छन् । मनाङभन्दा अगाडि पुलिस छ । पुलिसको पनि समान २५ अंक छ ।

आजका खेल

पुलिसविरुद्ध खुमलटार

हिमालयनविरुद्ध थ्रीस्टार

प्रकाशित : जेष्ठ १२, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई ‘ट्रान्जिट’ बनाएर लागूऔषध ओसारपसार

केही नेपालीसहित अधिकांश भारतीय र अफ्रिकीमूलका भरिया पक्राउ परेका छन्, जसमा महिलाको संख्या बढ्दो देखिन्छ
युरोप तथा अफ्रिकी मुलुकदेखि नेपालको बाटो हुँदै थाइल्यान्ड, ब्राजिल, भारत, हङकङ, भेनेजुएलासम्म लागूऔषध तस्करी
लिला श्रेष्ठ

काठमाडौँ — अवैध लागूऔषध ओसारपसारको ट्रान्जिटका रूपमा नेपाली भूमि प्रयोग हुँदै आएको विभिन्न अनुसन्धानले देखाएका छन् । नेपाल, भारत, अफ्रिकालगायत मुलुकका नागरिक ठूलो परिणामको लागूऔषधसहित पक्राउ परे पनि मुख्य कारोबारी भने नगन्य मात्रामा पक्राउ पर्ने गरेका छन् ।


नेपाल ल्याइएका अधिकांश लागूऔषध ट्रान्जिट बनाएर अन्य देशमा लैजाने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

गत चैतमा लागूऔषध नियन्त्रण ब्युरोले हवाईमार्ग हुँदै भारतको नयाँदिल्ली लैजान लागिएको ७ किलो ८८७ ग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा भारत मिजोरमकी ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुई छन् । उनीहरू लागूऔषध कोकिनको भरिया मात्र भएको ब्युरोले जनाएको छ । ती दुई महिलालाई लागूऔषध कारोबारीले आतेजाते खर्च दिएर कोकिन लिन इथियोपिया पठाएका थिए । भालाललमी चैत २ मा दिल्लीबाट इथियोपिया हुँदै अफ्रिकी मुलुक गिनी पुगेको र चैत १३ मा उनी कोकिनको लगेज लिएर मोरक्को, दोहा हुँदै काठमाडौं आइपुगेकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सिधै ठमेलस्थित एक होटलमा गएर बसिन् । चैत १४ को बिहान सवा ११ बजे एयर इन्डिगोको विमानबाट नयाँदिल्ली उड्न लाग्दा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र ब्युरोको संयुक्त टोलीले उनलाई ह्यान्ड ब्याग र सुटकेसमा फल्सबटम बनाएर ल्याएको २ किलो ८८७ ग्राम कोकिनसहित उनी पक्राउ परिन् । भालाललमी तीन छोराहरूसँग मिजोरोममा बस्थिन् । उनको श्रीमान्सँग डिभोर्स भइसकेको र ३ वर्षअघि घरमा ग्यास विस्फोटमा परी जलेर घाइते भइन् । उनको अनुहार जलेर कुरूप भएको र उपचारका लागि बढी खर्च लाग्ने पत्ता लगाएर कोकिन कारोबारीले उपचार खर्चको प्रलोभनमा पारी भरिया बनाएको पाइएको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशी बताउँछन् ।

ब्युरोले अपरेसनकै क्रममा चैत १४ मै काठमाडौं महानगर–२६ ठमेलस्थित भालाललमी बसेकै होटलबाट इस्थरलाई पक्राउ गर्‍यो । प्रहरीले उनको ह्यान्ड ब्याग तथा लगेजबाट फल्सबटम बनाएर ल्याएको ५ किलो कोकिन बरामद गर्‍यो । ती दुवै भारतीयले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको पाइएको ब्युरोका प्रवक्ता एसपी जोशीले बताए ।

उनीहरू दुवैलाई एकै व्यक्तिले आतेजाते खर्च दिएर कोकिन लिन पठाएको अनुसन्धानमा खुलेको जनाएको छ । पठाउने व्यक्ति एकै भए पनि छुट्टाछुट्टै नाम बताएका थिए । उनीहरू दुवैलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

त्यस्तै, गत असारमा प्रतिबन्धित लागूऔषध सेतो र खैरो ५१ किलो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकी महिला पक्राउ परे । पक्राउ पर्नेमा २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्ट छन् । सीबीसी र मुरायल गत वर्ष जेठ २९ मा दुबईबाट आएका थिए । प्रहरीले उनीहरूको साथबाट १६ केजी सेतो हेरोइन बरामद गर्‍यो । जेठ ३० मा टिसावालाला र रोजिना दक्षिण अफ्रिकाबाट दुबई हुँदै आएका थिए । उनीहरूबाट ८/८ केजी बरामद भयो । जेठ २६ मा मल्हाको दुबई हुँदै आएकी थिइन् भने मोरोएसी जेठ ३१ मा कतारबाट र मोर्लेस दुबईबाट त्रिभुवन विमानस्थल अवतरण गरेकी थिइन् । मल्हाको ७ केजी सेतो हेरोइनसहित जेठ ३० मा पक्राउ परिन् । मोरोएसीलाई ४ केजी सेतो र २ केजी खैरो तथा मोर्लेस ६ केजी सेतो हेरोइनसहित जेठ ३१ मा पक्राउ परे । उनीहरूले लगेजमा फल्सबटम बनाएर भित्र्याएको हेरोइन केही दिनभित्रै भारत लैजाने तयारी थियो ।

उक्त परिमाणको हेरोइनको अवैध मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबर हुने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यति धेरै परिमाणको हेरोइन एकैपटक बरामद भएको यो पहिलो घटना थियो । सेतो हेरोइन प्रतिकेजी २ करोड रुपैयाँसम्म कारोबार हुने गरेको छ । भारतमा पुर्‍याएपछि यसको मूल्य थप बढाएर कारोबार गर्न सक्ने गरी कारोबारीले ती अफ्रिकन महिलालाई आतेजाते खर्चको व्यवस्था गरी भरियाको रूपमा पठाएको प्रहरीले जनाएको छ । ‘यो हेरोइन नेपालमा खपत हुने भन्ने छैन, नेपाल हेरोइनको बजार पनि होइन, विगतका तथ्य र प्रमाणले यो लागूऔषध भारत लैजानकै लागि ल्याइएको देखिन्छ,’ एसपी जोशीले भने । सातै जना अफ्रिकी महिलाका लागि ठमेलका ५ होटल अफ्रिकाबाटै अनलाइनमार्फत बुकिङ गरिएको थियो । ब्युरोका अनुसार हेरोइन पास गर्न दक्षिण अफ्रिकादेखि भारतसम्मका गिरोहले चरणबद्ध रूपमा सेटिङ गर्ने गरेको यस घटनाबाट खुलेको अनुसन्धान अधिकृतले जानकारी दिए ।

पक्राउ परेका अधिकांशलाई विदेशमा रहेको गिरोहले आउने–जाने हवाई भाडा, बसोबास खर्च र थप १ हजार ५ सयदेखि २ हजार अमेरिकी डलर दिएर ओसारपसार गराएको ब्युरोले जनाएको छ । यसअघि २०७९ वैशाख ३ मा जाम्बियन नागरिक ३५ वर्षीया कपुतुला अविसर्ग लाजिम्पाटको एक होटलबाट ७ केजी खैरो हेरोइनसहित पक्राउ परेकी थिइन् । भोलिपल्ट उक्त लागूऔषध बुझ्न आएकी भारत मिजोरमकी ३५ वर्षीया लाल्नुन पुईलाई प्रहरीले लाजिम्पाटबाटै पक्राउ गर्‍यो । जिल्ला अदालत काठमाडौंले ती सातै जना अफ्रिकी महिलालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

यी प्रतिनिधि घटना मात्र हुन् । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो ५ वर्षको तथ्यांकमध्ये सन् २०२२ मा लागूऔषध ओसारपसारमा विदेशी महिलालाई भरिया बनाएको र पक्राउ पर्नेको संख्या अन्य वर्षको तुलनामा बढी देखिएको छ । तथ्यांकअनुसार सन् २०१८ मा १५६ जना भारतीय नागरिक पक्राउ परेका छन् भने अन्य ११ विदेशी पक्राउ परेका छन् । जसमध्ये, ५ भारतीय र १ अन्य विदेशी नागरिक पक्राउ परेका छन् । २०१९ मा १८५ भारतीय, २१ अन्य मुलुकका नागरिक पक्राउ परेका थिए ।

२०२० मा ११२ भारतीयमध्ये १ महिला र १५ अन्य विदेशी नागरिक पक्राउ परेकामध्ये ३ जना महिला थिए । २०२१ मा १५० भारतीयमध्ये ५ महिला र अन्य मुलुकका १० जनामध्ये २ जना महिला थिए । २०२२ मा पक्राउ परेका २७७ भारतीयमध्ये १२ महिला र अन्य मुलुकका २७ मध्ये १४ जना महिला थिए । २०२३ को अप्रिलसम्ममा ६६ भारतीय र १३ अन्य विदेशी नागरिक पक्राउ परेका छन् । जसमध्ये २ भारतीय र अन्य मुलुकका ६ महिला छन् ।

लागूऔषध तस्करीमा धेरैजसो विदेशी नागरिक भरियाका रूपमा प्रयोग भएका छन् । पक्राउ पर्ने अधिकांश भारतीयसहित अफ्रिकी मूलका छन् । भरियाका रूपमा केही नेपालीसमेत प्रयोग भएको प्रहरीले जनाएको छ । बरामद भएको लागूऔषध युरोप तथा अफ्रिकन राष्ट्रबाट नेपालको बाटो हुँदै थाइल्यान्ड, ब्राजिल, भारत, हङकङ, भेनेजुएलालगायत देशमा तस्करी हुने गरेको प्रहरी अध्ययनले देखाएको छ । पछिल्लो समय गाँजासमेत विदेशबाट नेपाल भित्रिने गरेको छ ।

कोकिन र हेरोइन भारत हुँदै चीन, थाइल्यान्ड, हङकङ, सिंगापुर, मलेसियालगायत पूर्वी एसियाका मुलुकमा पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘आइस ड्रग’ को रूपमा रहेको एम्फिटामाइन हङकङ, थाइल्यान्ड हुँदै ट्रान्जिटका रूपमा नेपाल ल्याइने गरेको छ । यस्ता लागूऔषध नेपालमा खपत हुने नभई विभिन्न देशबाट नेपाललाई ट्रान्जिट बनाएर आउने र बाहिरिने गरेको पूर्वडीआईजी विकास श्रेष्ठ बताउँछन् । ‘पछिल्लो समय लागूऔषध ओसारपसारमा महिलाको प्रयोग बढेको पाइएको छ,’ उनले भने, ‘संवेदनशीलताको हिसाबले पनि महिलालाई विश्वास गर्ने, काममा लगाउन सजिलो हुने तथ्यले पत्ता लगाएको छ ।’ पुरुषको तुलनामा आपराधिक क्रियाकलापमा महिलाको संलग्नता कम रहेको र लागूऔषध कारोबारमा पनि महिलाप्रतिको भरोसाका कारण कारोबारीले महिलालाई बढी भरियाको रूपमा प्रयोग गरेको पूर्वडीआईजी श्रेष्ठ बताउँछन् ।

प्रकाशित : जेष्ठ १२, २०८० ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×