कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

वाग्मती खेलकुद : १३ स्वर्णसहित चितवन च्याम्पियन

सुवास विडारी

मकवानपुर — दोस्रो वाग्मती खेलकुदमा एथलेटिक्सतर्फ चितवन टिम च्याम्पियन भएको छ । ट्र्याक एन्ड फिल्डमा उत्कृष्ट प्रदर्शन गरेको चितवनले १३ स्वर्ण, ७ रजत र ९ कांस्य पदक जितेको छ । 

सिन्धुपाल्चोक दोस्रो हुँदा ५ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भए । दुवैले समान ३ स्वर्ण, ३ रजक र २ कांस्य पदक जितेका छन् । पुरुषतर्फ चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित चुनिए । सुजितले तीन स्वर्ण र एक रजत पदक तथा डिनाले दुई स्वर्ण र एक रजत जितेका थिए ।

१०० मिटर दौडको स्वर्ण डिना र काठमाडौंका सहनचन्द्र शाहले जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा पुरुषतर्फ सहनचन्द्रले ११.८६ सेकेन्डमा दुरी पार गरे । डिनाले १४.१९ सेकेन्डमा दौड पूरा गरिन् ।

१० हजार मिटर दौडमा महिलातर्फ सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट लगाइन् । दोलखाकी सोनु घतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य जिते । पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गी स्वर्ण, काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य जित्न सफल भए ।

महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् । उनले १ मिनेट ९ सेकेन्ड लगाइन् । पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डसाथ स्वर्ण प्राप्त गरे ।

चार गुणा ४०० मिटर रिलेको महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानमा रहे । पुरुषमा सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते । पुरुष ट्रिपलजम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य जिते ।

महिलामा चितवनकी आशिका गुरुङले ९.६७ मिटर उफ्रिँदै स्वर्ण जितिन् । ज्याभलिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटरसहित स्वर्ण जितिन् । पुरुषमा चितवनकै दीपेश महतोले ४९.४० मिटरबाट स्वर्ण जिते ।

राजु र रिहानालाई स्वर्ण

चितवनका राजु गरञ्जा र काठमाडौंकी रिहाना शेरचनले ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् । हेटौंडा उपमहानगरपालिका–११ स्थित थाना भञ्ज्याङमा सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन राजुले पुरुष सिंगल्स र रिहानाले महिला सिंगल्समा स्वर्ण जिते । राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१–१०, २१–५ ले हराए । रिहानाले काठमाडौंकी मनीषा खड्कालाई २१–५, २१–६ ले हराइन् ।

महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया वज्राचार्य र राहिता शाक्यमाथि २१–१७, २१–१६ को जित रच्यो । पुरुष डबल्समा ललितपुरका शशिन डंगोल र संगीता तामाङको जोडीले सफलता पायो । उनीहरू फाइनलमा धादिङका लक्ष्मण र राम मल्ल ठकुरीको जोडीलाई २१–१२, २१–१६ ले हराए । मिक्स डबल्समा मकवानपुरका अभिषेक बोस र आयुष्मा नेपालको जोडीले स्वर्ण जिते । उनीहरूले धादिङका अश्विन थापामगर र रुबिना थापालाई २१–४, २१–१८ ले हराए ।

महिला फुटबल फाइनलमा बिहीबार सिन्धुली र काठमाडौ भिड्ने भएका छन् । गौरीटार रंगशालामा सिन्धुलीले नुवाकोटलाई ३–० ले र काठमाडौंले चितवनलाई २–० गोलले हराए ।

प्रकाशित : जेष्ठ ११, २०८० ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×