कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातदोबाटोको ध्यान शीर्ष चारमात्रै

हिमेश

काठमाडौँ — ‘हामी लिग उपाधिको होडबाट लगभग बाहिरिएका छौं, अब हाम्रो लक्ष्य शीर्ष चार मात्रै ।’ यो निराशाजनक भनाइ अरू कसैको होइन, प्रशिक्षक सनोज श्रेष्ठको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मंगलबार दशरथ रंगशालामा भएको खेलमा पुछारको खुमलटार युवासँग पराजित भएपछि सातदोबाटोका प्रशिक्षक श्रेष्ठ यति यथार्थ स्विकार्न बाध्य रहे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा पुलिस क्लबले एक अर्को जित निकाल्यो । स्तब्ध हुने टिम रह्यो थ्रीस्टार ।

प्रतियोगिता यी दुई खेलसँगै २० औं चरणका खेल सकिएका छन् । लिग तालिकाले एउटा ठोस स्वरूप लिएको छ । यसले स्पष्ट भन्छ, कुन टिम कता रहने भन्ने स्थिति अझै अनिश्चित छ । सातदोबाटो विजयी रहेको भए उपाधि होडमै कायम रहने थियो । तर, हारले टिम २९ अंकमै सीमित भई चौथो स्थानमै रह्यो । यो शीर्षस्थानमा रहेको चर्च ब्वाइजसँग ८ अंकको अग्रता हो । प्रशिक्षक श्रेष्ठले खेलको विश्लेषण गर्दै भने, ‘पहिलो हाफमा हाम्रो प्रदर्शन निकै खराब रह्यो ।’

सातदोबाटोले पहिलो हाफमा आफ्नो दोस्रो रोजाइका खेलाडीलाई बढी उतारेको थियो । यसको कारण थियो प्रमुख खेलाडी घाइते हुनु । दोस्रो हाफमा सातदोबाटोले जोखिम उठाउँदै दीपकराज सिंह ठकुरीलाई खेलाएको थियो । दीपकराजलाई खुट्टामा चोट छ । यसले तयार पारेको स्थिति कति डरलाग्दो छ भने उनले एक महिनापछि हुने साफ च्याम्पियनसिप गुमाउने अवस्थासम्म हुनसक्छ । तर, लिग तालिका कस्तो छ भने खेलाडी चोटबीच खेल्न बाध्य छन् ।

जितका बावजुत खुमलटार २१ अंकसहित अन्तिम स्थानमै रह्यो । यसले टोलीलाई धेरै उत्साह र आत्मविश्वास भने दिलाउने छ । अहिले तत्कालका लागि प्रशिक्षकविहीन खुमलटारले व्यवस्थापक अञ्जन राणा क्षेत्रीकै नेतृत्वमा खेलिरहनुपरेको छ । उनले भने, ‘प्रशिक्षकलाई लिएर हाम्रोमा के मिलेन भन्नै सकिएन । अहिले हामीले नै टिमलाई प्रशिक्षण गराइरहेका छौं ।’ उनले रेलिगेसनबाट जोगिन सक्दो सबै गर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो समय खुमलटारमाथि खेल मिलेमतोको आरोप पनि लागेको थियो । यसबाट उनले स्पष्टीकरण पनि दिए । क्षेत्रीले भने, ‘हामी अंक तालिकाको पुछारमा छौं, त्यसैले हामीमाथि यस्तो आरोप लागेको हो । यसमा कुनै सत्यता छैन । अंकतालिकाको अगाडि रहेको टिमलाई कसैले यस्तो आरोप लगाउन सकेका छैनन् । आरोप लागेपछि हामीले अनुसन्धान पनि गरेका थियौं र यसमा हामीले कसैलाई दोषी पाएनौं । अब हाम्रो ध्यान टिमलाई अझ राम्रो बनाउनेमै हुनेछ ।’

उनले थपे, ‘अहिले क्लब व्यवस्थापन सकारात्मक छ ।’ खेलको निर्णायक गोल भने मेसुके ओलुमोउले ३८ औं मिनेटमा गरे । खेलले एक घण्टा छुँदा उनलाई घाइते भएर मैदानबाटै सिधै अस्पताल लैजानुपरेको थियो । व्यवस्थापक क्षेत्रीका अनुसार उनको चोट गम्भीर भने छैन र एक दिनको आरामपछि उनी मैदानमा फर्कन सक्छन् ।

यता पुलिस रेलिगेसनबाट बच्ने सम्भावना बलियो भएको छ । थ्रीस्टारलाई १–० ले हराएपछि पुलिसको २५ अंक भएको छ । टोली आठौं स्थानमा उक्लेको छ । पुलिसको यो जितमा अहमद हिजाजीले २८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । हारले थ्रीस्टारमाथि अविश्वसनीय रूपमा रेलिगेसनको तनाव बढेको छ । एक समय उपाधिका लागि चुतौती पेस गरेको थ्रीस्टार अहिले क्लब इतिहासमै सर्वाधिक खराब लयमा छ र लगातार कमजोर प्रदर्शन गरिरहेको छ । थ्रीस्टारको २६ अंकमात्रै छ र यो रेलिगेसन क्षेत्रबाट ५ अंकको दूरीमात्रै हो । अबका केही खेलमा पनि प्रदर्शन नसुध्रिने हो भने थ्रीस्टार पेचिलो स्थितिमा पुग्न सक्नेछ ।

पछिल्ला ९ खेलमा थ्रीस्टार जितविहीन छ । यसमध्ये ४ खेलमा पराजित भएको छ । बाँकी ४ खेल भने बराबरीमा टुंगिएका छन् । यी ९ खेलमा उपलब्धि अधिकतम २७ अंकमध्ये थ्रीस्टारले ५ अंकमात्र बटुलेको छ । लिगको २० औं चरणको समाप्तिमा चर्च ब्वाइज ३७ अंकमा शीर्षस्थानमा छ । टोलीको पछाडि दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र ३४ अंकसहित छ । पुछारमा भने खुमलटारसँगै फ्रेन्ड्सको २१ अंक छ । त्यसमाथि एनआरटी र संकटा समान २३ अंक लिएर बसेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

शीर्षमा टिक्न किन गाह्रो ?

हिमेश

काठमाडौँ — ‘कम्तीमा हामी नै अगाडि रहने छौं,’ चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माने । तर, उनी ढुक्क हुन सकेका छैनन् । सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्वाइजले सोमबार हिमालयन शेर्पालाई हराएको भए अग्रता ५ अंक हुन्थ्यो । १–१ को बराबरीले चर्च ब्वाइजको अग्रता ३ अंकमात्र भयो । 

चर्च ब्वाइज ३७ अंकमै रह्यो र यो दोस्रो स्थानको मछिन्द्रमाथि ३ अंकको अग्रता हो । लिगको २० चरण समाप्तिमा चर्च ब्वाइज नै अगाडि रहनेछ । ‘हामी तीन अंक प्राप्त गर्नकै लागि खेलेका थियौं, तर सफल भएनौं । हाम्रो आक्रामणमा केही समस्या छ । हामी त्यसको समाधान गर्ने प्रयासमा छौं र यो आवश्यक छ,’ प्रशिक्षक महर्जनले थपे । उनलाई पनि एउटा प्रश्नले सताइरहेको छ । यो हो, शीर्षमा टिक्न कसैलाई किन गाह्रो भइरहेको छ ? लिगको २० चरण समाप्तिमा आइपुग्दा चार टिम शीर्षमा रहेका छन् ।

त्यसमध्ये चर्च ब्वाइज र जावलाखेल युथ समान आठपल्ट पहिलो स्थानमा रहे । सातदोबाटो र मनाङ मर्स्याङ्दी समान दुई चरण अगाडि रहेका छन् । नेपाली घरेलु फुटबलका सबैभन्दा सफल प्रशिक्षक महर्जनसँग उक्त प्रश्नको उत्तर छ । उनी भन्छन्, ‘यसपल्टको लिगमा सबैले लगातार खेलिरहनुपरेको छ । त्यसैले खेलाडी घाइते भएका छन् अनि थाकेका छन् । त्यसैले सबैको प्रदर्शन एकरुपको समान रहन सकेको छैन ।’ यो नै हो शीर्षमा टिक्न गाह्रो हुनुको कारण ।

यसै कारण अबको साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन प्रभावित हुन सक्नेछ । प्रशिक्षक महर्जनले भने यसमा चिन्ता पोखे । उनको डर छ, ‘साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । जहाँ भारत र कुवेतजस्ता ठूला टिम छन् । मलाई चिन्ता के छ भने हाम्रा खेलाडीले प्रतियोगिताअगाडि पर्याप्त आराम पाउने छैनन् । यसले प्रदर्शनमा प्रभावित हुन सक्नेछ । कम्तीमा पनि खेलाडीलाई दुई साताको आराम चाहिन्छ, जुन हाम्रा खेलाडीले पाउने छैनन् ।’

च्यासल रंगशालामा भएको खेलमा चर्च ब्वाइजले १३ औं मिनेटमा अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । पहिलो हाफकै ३६ औं मिनेटमा अबायोमी फाकुल्नेले हिमालयनका लागि बराबरी गोल फर्काए । हिमालयन भने २६ अंकसहित सातौं स्थानमा रह्यो । चर्च ब्वाइजसँग यो बराबरी धेरै अर्थमा हिमालयनका लागि राहतपूर्ण रह्यो, त्यसैले टोलीका प्रशिक्षक सुमन श्रेष्ठ सन्तुष्ट नै देखिए । उनले भने, ‘शीर्ष टिमविरुद्ध बराबरीको नतिजा ठीकै रह्यो ।’

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा त्रिभुवन आर्मीले फ्रेन्ड्समाथि सजिलै ३–० ले विजय नतिजा निकाल्यो । आर्मीका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा पहिलो गोल गरेयता नवयुग श्रेष्ठले ७५ औं मिनेटमा दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुदील राईले तेस्रो गोल गरे । यो नतिजापछि आर्मीको २९ अंक भएको छ । टोली पाँचौं स्थानमा उक्लेको छ । फ्रेन्ड्स भने २१ अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमै रह्यो । टोल्मीाथि दबाब झन् बढिरहेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० ०६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×