२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विश्वकप क्रिकेट छनोट : वेस्ट इन्डिज र जिम्बावेको समूहमा नेपाल

काठमाडौँ — नेपालले अर्को महिना हुने विश्वकप क्रिकेट छनोटमा वेस्ट इन्डिज र जिम्बावेलगायत राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटको खेल तालिका मंगलबार प्रकाशित गरेको छ ।

विश्वकप क्रिकेट छनोट : वेस्ट इन्डिज र जिम्बावेको समूहमा नेपाल

नेपाल समावेश समूह ‘ए’ मा वेस्ट इन्डिज र जिम्बावेसहित नेदरल्यान्ड्स र अमेरिका छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् । समूह ‘ए’ का खेलहरू हरारे र समूह ‘बी’ का खेलहरू बुलावायोमा हुनेछ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज लगातार दोस्रो पटक विश्वकप छनोट खेल्न लागेको हो ।

वेस्ट इन्डिजले जिम्बावेमा हुने विश्वकप छनोटका लागि साई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

त्यस्तै रिची बेरिङ्टनको कप्तानीमा स्कटल्यान्डले पनि विश्वकप छनोटका लागि टोली घोषणा गरिसकेको छ । नेपाल क्रिकेट संघले सोमबार २२ सदस्यीय टोलीको घोषणा गरेको थियो । नेपाली टोलीको प्रशिक्षण बुधबार सुरु हुँदै छ । नेपाली टोली दक्षिण अफ्रिकामा १० दिन प्रशिक्षण गरेर जिम्बावे पुग्ने कार्यक्रम छ ।

समूहका शीर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् । समूह चरणमा जोडेको अंक सुपर लिगमा जोडिने छ भने एउटा समूहबाट गएको टोलीले अर्को टोलीको शीर्ष ३ टोलीसँग मात्र सुपर लिगमा खेल्ने छ । त्यही अंक जोडेर शीर्ष दुई टोली फाइनल खेल्नेछन् । फाइनलमा पुग्ने टोली अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

आयोजक भारतसहित एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष आठभित्र रहेका अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिका विश्वकपमा सोझै छनोट भइसकेका छन् । वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, श्रीलंका र आयरल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष आठमा नपरेपछि विश्वकप छनोट खेल्न आएका हुन् ।

स्कटल्यान्ड, ओमान र नेपाल विश्वकप लिग २ को शीर्ष तीन स्थान हात पार्दै विश्वकप छनोटमा पुगेका हुन् । अमेरिका र यूएई छनोटको प्लेअफबाट विश्वकप छनोटमा पुगेका हुन् । क्रिकइन्फोका अनुसार विश्वकप छनोटमा रनआउटका लागि थर्ड अम्पायर प्रयोग हुनेछ भने सुपर लिगमा डीआरएस सञ्चालनमा ल्याइने छ ।

नेपालले उ्दघाटन दिन जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेलेर विश्वकप छनोटको सुरु गर्नेछ । त्यस्तै अमेरिकासँग जुन २०, वेस्ट इन्डिजसँग जुन २२ मा र नेदरल्यान्ड्ससँग जुन २४ मा खेल्ने छ । त्यसअघि नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग हरारेमा अभ्यास खेल खेल्नेछ । जुन २९ देखि सुपर लिगका खेल हुनेछ भने जुलाई ९ मा फाइनल हुनेछ । प्रतियोगितामा कुल २४ खेल हुनेछ । जिम्बावेमा लगातार दोस्रो पटक विश्वकप छनोट प्रतियोगिता हुन लागेको हो । सन् २०१८ मा

भएको पछिल्लो विश्वकप छनोटबाट नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो भने वेस्ट इन्डिज र अफगानिस्तान विश्वकपमा पुगेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?