१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
एसीसी प्रिमियर कप

फाइनलको निर्णायक ‘मौसम’

वर्षाले नेपाल र यूएईबीचको खेल प्रभावित हुने सम्भावना
विनोद पाण्डे

काठमाडौँ — एसिया कप छनोट आधार रहेकाले एसीसी प्रिमियर कप क्रिकेटको सोमबार हुने फाइनल नेपाल र यूएईका लागि बहुप्रतीक्षित हुनुपर्ने हो । मौसम प्रतिकूलताका कारण त्यो जोस र उत्साह दुवै टोलीमा देखिँदैन । न त प्रशंसकमै त्यो हतारो रहेको पाइन्छ ।

फाइनलको निर्णायक ‘मौसम’

सबैको कारण एउटै छ र प्रश्न पनि त्यही छ, के फाइनल खेल होला ? खेल हुनेमा ढुक्क हुने स्थिति केही छैन । खेल नै नहुने र भएमा सुपर ओभर मात्र हुने डर र त्रास दुवै टोलीमा छ । खेल नै नहुने अवस्था रहेमा नेपाल भाग्यमानी बन्नेछ । तर सुपर ओभर भएमा दुवै टोली निश्चित हुन सक्ने अवस्था छैन ।

नेपाल र यूएईबीच सोमबार हुने फाइनल वर्षाका कारण प्रभावित हुने सम्भावना धेरै छ । शनिबारदेखि सुरु भएको वर्षा काठमाडौं उपत्यकामा निरन्तर रह्यो । जसको कारण ओमान र कुवेतबीच तेस्रो स्थानका लागि भएको खेल नतिजाविहीन भयो ।

ओमानले टस जितेपछि ब्याटिङ गर्न आएको कुवेत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३१.३ ओभरमा १ सय ३० रनमा अलआउट भयो । जवाफमा आएको ओमानले ६ ओभरमा बिनाक्षति ४१ रन बनाएको अवस्थामा वर्षाले पूरै खेल अवरुद्ध पारेको थियो । नतिजा नआएपछि वरीयताका आधारमा ओमानलाई विजयी घोषणा गरिएको थियो ।

प्रतियोगिताको शीर्ष तीन टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको ‘ए’ टोलीसँग एसीसी इमर्जिङ नेसन्स कपमा खेल्न पाउनेछन् । जसअनुरूप नेपाल र यूएईसँगै ओमान पनि इमर्जिङ नेसन्स कपका लागि छनोट भएका छन् ।

प्रिमियर कपको विजेताले एसिया कपमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुरूप नेपाल र यूएईबीचको फाइनल प्रतिस्पर्धा उपाधिसँगै भारत र पाकिस्तान समावेश एसिया कपको समूहमा खेल्न पाउनका लागि पनि हो । तर वर्षाले सोमबार र वैकल्पिक दिन राखिएको मंगलबार पनि कुनै खेल नहुने सम्भावना बढी देखिएको छ । एकदिवसीयमा नतिजा आउन दुवै टोलीले कम्तीमा २०–२० ओभर खेल्नुपर्ने अवस्थालाई पनि मौसमले चुनौती दिइरहेको छ ।

सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ । सोमबार खेल हुन नसकेमा नतिजाका लागि सुपर ओभर खेल्नुपर्ने प्रावधान छ । त्यो पनि नभएमा खेल मंगलबारका लागि सर्नेछ । सोमबार खेल हुँदाहुँदै रोकिएको खण्डमा मंगलबारबाट पुनः सुरुदेखि खेल हुनेछ । मंगलबार पनि खेल नभएमा सुपर ओभर गरिनेछ । पहिलो सुपर ओभर ‘टाइ’ भएमा दोस्रो सुपर ओभर हुनेछ ।

सुपर ओभरका लागि पनि मैदान खेल्न योग्य नभएमा वरीयताको हिसाबमा विजेताको निर्णय हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयताअनुसार यसको निर्णय हुनेछ । यस्तोमा यूएईभन्दा माथि रहेका कारण नेपाल विजेता बन्नेछ । एकदिवसीय अन्तर्राष्ट्रियको विश्व वरीयतामा नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन् ।

सेमिफाइनलमा विजयको नजिक पुगेर वर्षाले रोकिएपछि ओमान शनिबार मूलपानीमा यूएईसँग स्तब्ध भएको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनलमा पनि नतिजा आएको थिएन, जसका कारण माथिल्लो वरीयताका आधारमा नेपाल फाइनल पुगेको थियो । समूह चरणमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले टस हुन पनि दिएको थिएन । हङकङ र बहराइनबीचको खेल पनि यही हालतको थियो, जसको कारण हङकङ समूह चरणबाटै बाहिरिनुको एउटा कारण बन्यो ।

निरन्तर प्रतिस्पर्धाको शृंखला

नेपाल र यूएईबीच हुने सोमबारको फाइनल पछिल्लो ६ महिनामा खेल्न लागेको आठौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नोभेम्बरमा नेपालले घरेलु मैदानमा यूएईसँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो । गएको महिना नेपालले यूएईसँग विश्वकप लिग २ मा चार खेल खेल्यो । दुबईमा भएको खेलमा नेपालले एकमा विजय हात पार्‍यो भने एकमा पराजय भोग्यो । त्यसको लगत्तै यी दुई टोली काठमाडौं आएर खेल्दा नेपालले दुवै खेलमा यूएईलाई पराजित गर्‍यो ।

पछिल्लो तीन महिनामा नेपाल उत्कृष्ट लयमा रहेको छ । नेपालले १७ मध्येको १५ खेल जितेको छ । त्यसमा एकमात्र पराजय यूएईसँग नै रहेको छ । दुबईमा लिग २ को पहिलो खेलमा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

सोमबारको फाइनलले नेपाल र यूएईबीचको निरन्तर प्रतिद्वन्द्वीतालाई नवीकरण गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा पुग्न सकेको छैन भने यूएईले २००४ र २००८ मा गरी दुई पटक छनोट भएर एसिया कप खेलेको छ । आईसीसीको प्रतियोगितामा राम्रो नतिजा दिँदै आए पनि एसिया कपको छनोट आधार रहेको प्रतियोगिताहरूमा नेपाल निर्णायक मौकामा चुक्ने गरेको थियो ।

‘एसिया कपमा खेल्न पाउनु हाम्रो लागि निकै ठूलो अवसर हो, त्यसमा भारत र पाकिस्तानसँग खेल्न पाउने मौका रहेको छ । त्यसैले हामीलाई फाइनल निकै महत्त्वपूर्ण छ,’ नेपालका कप्तान रोहित पौडेलले शनिबार कुवेतसँगको खेलपछि भनेका थिए, ‘यूएईसँगको फाइनल एउटा खेल हो, आफूलाई सहज रूपमा राख्न सक्नुपर्छ । दुवै टोलीलाई उत्तिकै दबाब छ, फाइनल खेलमा जसले बढी त्यो दबाब झेल्न सक्छ त्यही टोलीले उपाधि जित्ने मौका हुन सक्छ ।’

प्रकाशित : वैशाख १८, २०८० ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?