कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल एसिया कप नजिक

वर्षाको प्रभावबीच कुवेतविरुद्ध रोहितको कप्तानी इनिङ्स र करणको धारिलो बलिङ
विनोद पाण्डे

काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा यूएईको सामना गर्ने भएको छ । शनिबार वर्षाले प्रभावित सेमिफाइनल खेलबाट नेपालले कुवेत र यूएईले ओमानलाई पन्छाउँदै सोमबार हुने फाइनलमा स्थान पक्का गरेका हुन् ।

नेपाल एसिया कप नजिक

मौसम पूर्वानुमानअनुसार मंगलबारसम्म वर्षाको प्रभाव रहनेछ । सोमबार वर्षा भए फाइनलका लागि मंगलबार वैकल्पिक दिन राखिएको छ । प्रिमियर कप विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतसँगको खेल वर्षाले पूरा हुन नदिए पनि नेपाल फाइनलमा पुगेको हो । वर्षाका कारण दुई घण्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिलो ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो । तर, डकवर्थ लुइस नियममा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो ।

थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइनल पुगेको छ । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो । कुवेत समूह ‘बी’ मा ४ मध्ये ३ खेल जित्दै ६ अंक बटुलेर उपविजेता बनेको थियो । नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्नुपर्थ्यो । ६ विकेट गुमाइसकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो । डकवर्थअनुसार २० ओभरमा कुनै विकेट नगुमाएको अवस्थामा कुवेतलाई विजयनिम्ति ९८ रन बनाउन आवश्यक थियो ।

करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । उनले पहिलो ओभरमै एडनान इद्रिजलाई आउट गरी विकेट लिनेक्रम सुरु गरेका थिए । अर्को एक विकेट सोमपाल कामीले लिएका थिए ।

यसअघि रोहित पौडेलको कप्तानी इनिङ्समा नेपालले विशाल लक्ष्य प्रस्तुत गरेको थियो । रोहितले ९५ बलमा ९४ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । रोहित र कुशल मल्लले चौथो विकेटमा १ सय ९ रनको साझेदारी गरे । वर्षाले प्रभावित खेल पुनः सुरु भएपछि यी दुईले खुलेर खेल्न थाले । कुशलले ४४ बलमा समान ४ चौका र छक्का प्रहार गरी ५७ रन बनाए ।

कुशल भुर्तेल र आसिफ शेखले १० ओभरमा ७६ रन जोडेर नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल र आसिफले छैटौं ओभरमा नेपालको ५० रन पुर्‍याएका थिए । कुशल ११ औं ओभरमा ३९ बलमा ४३ रन बनाई आउट भए । उनले ७ चौका र १ छक्का प्रहार गरे । उनको स्थानमा आएका भीम सार्की ४ बलमात्र टिक्दै १ रनमै आउट भए । आसिफ शेख २८ बलमा ३१ रन बनाई पेभेलियन फर्किए । उनले ३ छक्का र १ चौका प्रहार गरे । उनका भाइ आरिफले पनि रोहितलाई राम्रो साथ दिँदा १९ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

दीपेन्द्रसिंह ऐरीको ब्याटले पुनः निराश बनायो । उनी दुई बल खेल्दै डकआउट भए । सन्दीप लामिछाने ५ र करण केसी ६ रनमा आउट भए । सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा अविजित रहे । कुवेतका इद्रिस र मोहम्मद अस्लामले ३–३ विकेट लिए ।

मूलपानी मैदानमा यूएईले पूरा ओभर खेल्दै २ सय ३६ रन बनायो । जवाफमा आएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाई १ सय ९० रन बनाएको अवस्थामा वर्षाले थप खेल हुन नदिँदा डकवर्थ लुइसमा यूएई २ रनले अगाडि रह्यो । निकै मजबुत अवस्थामा रहेको ओमानले वर्षाले खेल रोकिनु अगाडिको १० बलमा ३ विकेट गुमाउनु टोलीका लागि दुर्भाग्य बन्यो ।

मूलपानीमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने मूलपानी क्रिकेट मैदान नेपालको दोस्रो खेलस्थल बनेको छ । दुई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली यूएई र ओमान आमनेसामने भएसँगै मूलपानीले यो अवसर पाएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने मूलपानी विश्वको २ सय १६ औं मैदान हो । प्रिमियर कपबाटै मूलपानीको माथिल्लो मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको थियो । प्रिमियर कपमै नेपालले ओमानसँग खेलेको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थियो, जुन कीर्तिपुरमा भएको थियो । नेपाल र यूएईबीचको फाइनललाई पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । त्यो खेल कीर्तिपुरमै हुनेछ ।

सञ्जय चौथो अम्पायर

सञ्जय गुरुङ एकदिवसीय अन्तर्राष्ट्रिय अम्पायरिङ गर्ने नेपालका चौथो अम्पायर बनेका छन् । उनले शनिबार मूलपानीमा यूएई र ओमानबीचको खेलमा अनफिल्ड अम्पायरिङ गरेका थिए । नेपालबाट यसअघि बुद्धिबहादुर प्रधान, दुर्गानाथ सुवेदी र विनय झाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गरेका थिए । नेपालले सन् २००८ मा आयोजना गरेको एसीसी यू–१७ कपदेखि गुरुङले अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १७, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?