कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एसीसी प्रिमियर कप : ओमान र यूएई सेमिफाइनलमा

काठमाडौँ — ओमान र यूएई एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । बुधबार लिग चरणको आ–आफ्नो अन्तिम खेलमा ओमानले साउदीलाई ७२ रन र यूएईले बहराइनलाई ८ विकेटले पराजित गरे ।

एसीसी प्रिमियर कप : ओमान र यूएई सेमिफाइनलमा

साउदी अरेबियाले टस जितेपछि ब्याटिङमा आएको ओमानले ५ ब्याटरको अर्धशतकमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ६६ रन बनायो । जवाफमा साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा अलआउट भयो ।

समूह ‘ए’ मा ओमान ६ अंकसहित शीर्षस्थानमा पुगेको छ । नेपाल यसअघि नै ३ खेलबाट ५ अंक जोड्दै सेमिफाइनलमा पुगिसकेको थियो । नेपाल बिहीबार हुने खेलमा कतारलाई पराजित गरेमा समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ ।

ओमानबाट पहिलो पाँच ब्याटरले अर्धशतक बनाए । त्यसमा रितिन्दर सिंह र कश्यप प्रजापतीले १८ ओभरभित्र १ सय २५ रन जोड्दै ओमानलाई बलियो आधार तयार पारिदिए । कश्यपले ५३ बल खेल्दै ६ चौका र २ छक्कासहित ५१ रन बनाए । रितिन्दर लगातार दोस्रो अर्धशतक बनाउन चुके । उनले ८८ रन बनाउनेक्रममा ७९ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरे ।

शोएब खानले ६८ रन बनाए । उनले ७० बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । कप्तान जेसन मक्सुदले ५४ र मोहम्मद नदिमले अविजित ७१ रन बनाए । मक्सुदले ४९ बल खेल्दै ४ चौका र छक्का तथा नदिमले ३८ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । ओमानले अन्तिम ५ ओभरमा ६२ रन जोडेका थिए । साउदीका अतिफ उर रहमानले ३ विकेट लिए ।

अब्दुल वाहिद र साद खानले दोस्रो विकेटमा १ सय ७७ रनको साझेदारी गरे पनि त्यो टुटेसँगै साउदीको आस सकिएको थियो । जय ओदेराले ३० औं ओभरमा दुवै जना आउट गर्दै ओमानलाई खेलमा फर्काए । बोल्ड हुनुपूर्व सादले ८० बल खेल्दै १० चौका र १ छक्कासहित ७८ रन बनाए । विकेटकिपरलाई क्याच दिन पुगेका वाहिदले ८६ बलमा ९५ रन बनाए । उनले १४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान हिसम शेखले ३२ बलमा ४ चौकासहित ३६ र अब्दुल वाहिद ‘बी’ ले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए । ओमानका बिलाल खानले ४ विकेट लिए । उनले ८.५ ओभरमा ७५ रन खर्चे । ओदेराले ९ ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । प्लेयर अफ द म्याच मक्सुद बने । उनले १० ओभरमा ४१ रन खर्चे ।

समूह ‘बी’ मा यूएई ६ अंकसाथ शीर्षस्थानमा उक्लिएको छ । हङकङ र कुवेतबीच बिहीबार हुने खेलको विजेताले यो समूहबाट सेमिफाइनल उक्लिने अर्को टोलीको निर्क्योल गर्नेछ । हङकङले कुवेतलाई पराजित गरेमा समूह विजेता बन्ने छ भने कुवेतले जित हात पारेमा यूएई समूह विजेता हुनेछ । अहिले हङकङसँग ५ र कुवेतसँग ४ अंक छ ।

तीन स्पिनर आयान खान, रोहन मुस्ताफा र कार्थिक मेइयापनले प्रभावकारी बलिङ गर्दै यूएईलाई विजयी बनाए । यी तीनले एक आपसमा ८ विकेट बाँडेपछि टस जितेर ब्याटिङमा आएको बहराइन मूलपानी क्रिकेट मैदानमा ४०.५ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।

प्लेयर अफ द म्याच देव्रेहाते आयानले १० ओभरमा ७ मेडन राख्दै ६ रन खर्चेर ४ विकेट लिए । मुस्ताफा र मेइयापनले २–२ विकेट लिए । मुस्ताफाले ९ ओभरमा ४ मेडन राख्दै १६ र मेइयापनले १० ओभरमा २ मेडन राख्दै ४८ रन खर्चे । जाहुर खानको नाममा एक विकेट रह्यो । बहराइनबाट कप्तान हैदर बट र अली दाउदले समान २३ रन बनाए ।

वृत्या अरविन्द र मुस्ताफाले अर्धशतक बनाएपछि यूएईले २७.४ ओभरमै १ सय २० रन बनायो । वृत्याले ८४ बल खेल्दै ५ चौका र १ छक्कामा ६२ रनमा अविजित रहे । विजयी चौका प्रहार गरेका मुस्ताफा ५६ बल खेल्दै ५० रन बनाएर अविजित रहे । उनले ५ चौका र १ छक्का प्रहार गरे । आर्यन लर्का ५ र कप्तान मोहम्मद वासिम १ रनमा आउट भए । बहराइनबाट दुवै विकेट अब्दुल मजिदले लिएका थिए ।

प्रकाशित : वैशाख १४, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?