खप्तड जित्नेमा मनाङ र थ्रीस्टार ढुक्क

चित्रांग थापा

धनगढी — ए डिभिजनका हस्ती टोली थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लब छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आमनेसामने भएका छन् । शनिबार धनगढी रंगशालामा उपाधिको छिनोफानो हुनेछ ।

शुक्रबार प्रिम्याच कन्फ्रेन्समा दुवै टिमको उद्देश्य प्रभावशाली प्रदर्शन गर्दै उपाधि जित्ने रहेको छ । दुवै टिमका कप्तानले छैटौं संस्करण आफूहरूले जित्ने दाबी गरेका छन् ।

थ्रीस्टारका कप्तान विक्रम लामाले सन्तुलित टिम रहेकाले उपाधिमा आफ्नो स्वाभाविक दाबी रहेको बताए । सेमिफाइनलमा रातो कार्ड खाएका मिडफिल्डर दीपेश गुरुङ फाइनलमा हुने छैनन् । कप्तान लामाले दीपेशको अनुपस्थित भए पनि प्रदर्शनमा असर पर्न नदिने बताए ।

प्रशिक्षक मेघराज केसीको रणनीतिअनुसार आफ्नो भूमिका रहने कप्तान विक्रमले बताए । विक्रमले खेलाडीको रिकोभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । उनले भने, ‘तर फाइनलका लागि टिम मानसिक रूपमा तयार छ ।’

विक्रमले भने, ‘तेस्रो पटक खप्तड गोल्डकप फाइनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । यस गोल्डकपबाट टिम सेट हुने अवसर मिलेको छ ।’

एन्फाले प्रतियोगिता क्यालेन्डर व्यवस्थित बनाएको भए मोफसलमा प्रतियोगिताहरूमा आयोजकको मिहिनेतले नेपाली फुटबलमा राम्रो योगदान गर्न सक्ने तर्क उनको थियो ।

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरू तयार रहेको बताए । टिमको अवस्थाबारे उनले भने, ‘विदेशी फरवार्ड कोफी टिमोती कुवडुले फाइनल खेल्नेछन् । डियाग उत्कृष्ट लयमा छन् । उनको प्रदर्शनले टिमलाई धेरै सहज भएको छ ।’ उनले मनाङ जस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महसुस भएको र तेस्रो पटक खप्तड गोल्डकप जित्न आफू आतुर रहेको बताए ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगिता विजेताले उपाधिसहित २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीले जनही १५ हजार र म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रकाशित : चैत्र १७, २०७९ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्

ललित र दीपेश सम्मानित

कान्तिपुर संवाददाता

विराटनगर — विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको छ ।

महानगर प्रमुख नागेश कोइरालाले खेलाडीद्वयलाई १ लाख १ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । दुवै विराटनगरका स्थानीय हुन । उनीहरूले क्रिकेटका माध्यमबाट मुलुकको नाम उच्च राखेको भन्दै महानगरले सम्मान गरेको हो ।

विश्वकप लिग २ बाट नेपाली राष्ट्रिय क्रिकेट विश्वकप ग्लोबल क्वालिफायरमा छनोट भएपछि उनीहरूलाई सम्मान गर्ने विराटनगर महागरले घोषणा गरेको थियो ।

प्रकाशित : चैत्र १७, २०७९ २२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×