नेपाललाई थ्री नेसन्स कपको उपाधि

हिमेश

काठमाडौँ — मनीष डाँगीको निर्णायक गोलको मद्दतले नेपालले शुक्रबार लाओसलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । उनले खेल सकिन तीन मिनेट अगाडि गोल गरे । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला अञ्जन विष्टले सिर्जना गरेको अवसरमा मनीषले गोल गरेका हुन् । नेपालले १ गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।

नेपालले यसअघि सन् २०२१ मा बंगलादेश र कीर्गिस्तान यू–२३ टिम सम्मिलित थ्री नेसन्स कप जितेको थियो । यस जितसँगै नेपालले पाँच हजार डलर पनि हात पारेको छ । नेपाल पूरा प्रतियोतिगामा अपराजित रह्यो । यसअघि लिग चरणको खेलमा नेपालले लाओसलाई नै २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा लाओसले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि ‘डिफ्लेक्ट’ भएको बलमा साङभिलले गोल गरे । लाओसको अग्रता लामो समय भने टिकेन् । नेपाल २४ औं मिनेटमा गोल फर्काउन सफल रह्यो । एरिक विष्टको पासमा आयुष घलानले गोल गरे । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको लाओसले त्यसलाई दोस्रो हाफमा दोहाउन सकेन् ।

दोस्रो हाफ पूर्णतः नेपालको पक्षमा रह्यो । आयुषले ६१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेड पोस्टको केही माथिबाथि बाहिरिएको थियो । यस्तै खेलका ६८ औं मिनेटमा निशान खड्काले प्रहार गरेको फ्रि किक पोस्टमा लागेर फर्केको थियो । मनीषले ७५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिए पनि त्यो ‘अफ साइड’ मा रह्यो र त्यसले मान्यता पाएन् ।

‘फिफा विन्डो’ मा नपरेको हुनाले यो खेलको औपचारिक अन्तर्राष्ट्रिय मान्यता भने हुने छैन ।

प्रकाशित : चैत्र १७, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

भरत जर्घामगर

सिरहा — सिरहामा चट्याङ लाग्दा शुक्रबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार चट्याङ लागेर रौतहट चन्द्रपुर नगरपालिका–८ का ४३ वर्षीय नेत्रप्रसाद गौतमको मृत्यु भएको हो । 

मिर्चैया नगरपालिका–१ स्थित सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएको ना.५ ख ३७२१ नम्बर ट्रकका चालक गौतम ट्रकमा तिरपाल बाँधिरहेका बेला अपराह्व हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते भएका थिए ।

घाइते गौतमको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×