विराटनगर सिटी च्याम्पियन

आयोजक विराटनगर ६ दशकपछि घरेलु मैदानमा उपाधि जित्न सफल
विनोद भण्डारीे

विराटनगर — आयोजक विराटनगर सिटीले सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद मैदानको फ्लडलाइटमा बिहीबार करिब ८ हजार दर्शकको ढुकढुकी शान्त पार्दै विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले पराजित गर्दै घरेलु मैदानमा ६ दशकपछि उपाधि जितेको हो ।

यसअघि विराटनगरले २०१९ सालमा तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करण यही मैदानमा जितेको थियो । विराटनगरको जितमा विमल घर्तीमगरको प्रदर्शन उत्कृष्ट रह्यो । उनले टिमका लागि एक गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए । लिग विजेता मछिन्द्र क्लबको सेट मैदान उतारेको विराटनगरले साताअघि चर्च ब्वाइजलाई हराएर इटहरी गोल्डकप उपाधि जितेको थियो ।

खेलको सातौं मिनेटमा अफिज ओलवालेको गोलबाट अग्रता लिएको विराटनगरले पूरै समय विपक्षीलाई दबाबमा राखेर खेलेको थियो । ओलावालेले विमलको सटिक पास पेनाल्टी क्षेत्रमा सदुपयोग गोल गरेर गोलकिपर सनफेरलाई प्रतिक्रियाविहीन बनाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको विराटनगरबाट थप तीन गोल खेलको अन्तिम १२ मिनेटभित्र सम्भव भयो । ७८ औं मिनेटमा विमलले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले युका सुजुकीको पास सदुपयोग गरे । त्यसअघि ७४ औं मिनेटमा केरलाका कप्तान अर्सादले बक्सभित्र ह्यान्ड गर्दा प्राप्त पेनाल्टी अवसर विराटनगरका स्टेफेनले सदुपयोग गर्न सकेनन् । उनको प्रहार भारतका गोलकिपर सनफेरले बचाए ।

खेलको ८९ औं मिनेटमा मुसाकाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाउँदा इन्ज्युरी समयको अन्तिममा अभिषेक गुरुङले विमलको पासमा गोल गरेसँगै रेफ्री प्रज्वल क्षेत्रीले अन्तिम सिठी फुकेका थिए ।

जितसँगै विराटनगरले ट्रफीसहित २० लाख १५ हजार रुपैयाँ पुरस्कार थाप्दा पाहुना टिमले १० लाख १५ हजारमा चित्त बुझाएको छ । केरलाको विदेशी मैदानमा उपाधि जित्ने धोको यसपालि अधुरै रह्यो ।

केरला प्रिमियर लिगको पाँचौं स्थानमा रहेको लुका सकर एफसीको यो पहिलो विदेशी सहभागिता थियो ।

क्वाटर र सेमिफाइनलमा संकटा र एपीएफलाई टाइब्रेकरमा हराउँदै उपाधि यात्रा गरेको केरलाले बिहीबार पनि रक्षात्मक खेल खेल्दै विपक्षी पोस्टमा दुई पटकमात्र आक्रमण बुन्न सक्यो । खेलको ११ औं मिनेटमा मोहमद फिजानले विराटनगरका रक्षापंक्ति बिट भएको स्थितिमा गोलकिपर विशाल श्रेष्ठलाई कटाउन नसक्दा खेलमा फर्कने अवसर गुमाएको हो । टोलीका अजाम ५१ औं मिनेटमा अवसर सदुपयोग गर्न चुकेका थिए । पाउलको पासमा अजामले बक्स भित्रबाट गरेको प्रहार गोलकिपर विशाल बिट भएको अवस्थामा पोस्ट हुँदै बाहिरिएको थियो ।

खेलको २० औं मिनेटमा विराटनगरका मुसाकाले गोलको अवसर चुकाउँदा दोस्रो गोलका लागि टिमले ७४ औं मिनेट पर्खनुपरेको थियो । स्टेफनको पासमा मुसाकाले गोलकिपर विपक्षी क्षेत्रमा भुलिएका वेला गरेको कडा प्रहार पोस्टमाथिबाट वाहिरियो । खेलको ३० औं मिनेटमा विमलको प्रहार पनि फ्रेममा नपर्दा विराटनगर पहिलो हाफमा १–० गोलमा सीमित रहयो । विराटनगरले क्वाटरफाइनलमा पुलिस र सेमिफाइनलमा जावलाखेलको चुनौती पन्छाएको थियो । म्यान अफ द फाइनल विराटनगरका सुरज बिक भए । उनले ११ हजार रुपैयाँ पाए ।

विधागत पुरस्कारमा पनि विराटनगरको वर्चस्व रह्यो । प्लेयर अफ द टुर्नामेन्ट विराटनगरका मेसुके भए । सर्वाधिक गोलकर्ता विराटनगकै अभिषेक गुरूङ भए । उनले २ गोल गरेका थिए । उत्कृष्ट फरवार्ड केरलाका चालिज क्युराको, उत्कृष्ट मिल्डफिल्डर विराटनगरका युका सुजुकी, उत्कृष्ट गोलकिपर विराटनगरका विशाल श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ र उत्कृष्ट प्रशिक्षक विराटनगरकै सन्तोष न्यौपाने भए । सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

महेन्द्र गोल्डकपका नाममा २९ औं पटक आयोजना गरिएको यो प्रतियोगिता २०६८ देखि विराट गोल्डकपका नाममा आयोजना हुन थालेको हो ।

प्रकाशित : चैत्र १६, २०७९ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्

ब्राउन सुगरसहित तीन युवक पक्राउ

कान्तिपुर संवाददाता

सिरहा — प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित प्रहरीले तीन युवकलाई बिहीबार सिरहाको मिर्चैयाबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सुचनाको आधारमा मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकबाट १८ ग्राम ५३ मिलिग्राम ब्राउन सुगरसहित मिर्चैया नगरपालिका–६ का २५ वर्षीय जितेन्द्र साह, १० का २५ वर्षीय ललित कुमार राम र वडा नम्बर ३ का २४ वर्षीय देवन यादवलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले मधेश प्रदेश ०१–००४ प २५६६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ २१:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×