कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जीतपुरसिमरा गोल्डकप : वीरगन्ज युनाइटेड पराजित

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार डिफेन्डिङ च्याम्पियन एनआरटीले १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनल तय गरेको छ । फ्लडलाइटमा भइरहेको खेलमा दुवै प्रतिस्पर्धी टिममा खुबै घम्साघम्सी चल्यो ।

जीतपुरसिमरा गोल्डकप : वीरगन्ज युनाइटेड पराजित

‘बी’ डिभिजन क्लब वीरगन्ज युनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि निर्णायक गोल अशोक थापाले गोल गरेका थिए ।

खेलको २९ औं मिनटमा कृतिशरत्न चुन्जुको बक्सभित्र निकालेको पास सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज युनाइटेडले खेलमा केही आकर्षक अवसर बनाएको थियो । तर फिनिसिङमा चुक्दा बाहिरिन पुगेको थियो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वान भर्सेस वानको स्थितिमा चुक्न पुगे । विवेकको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।

पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटीविरुद्ध वीरगन्जले दोस्रो हाफमा सुधारिएको खेल खले । दोस्रो हाफको सुरुबाटै एनआरटीविरुद्ध आक्रामक खेल खेले पनि वीरगन्जले स्कोर बनाउन सकेन । खेलको ५४ औं मिनटमा वीरगन्जले एनआरटीविरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वान भर्सेस वानको स्थितिमा वीरगन्जका कृपा गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोलरक्षक पूजन होनाले सहज बचाउ गरेका थिए ।

खेलको ७४ औं मिनटमा वीरगन्जले अर्को आकर्षक अवसर गुमायो । नीरज थापा मगरको क्रसबलमा सागर चौधरीको हेडर क्रस बारमा ठोक्किएर बाहिरिन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको वीरगन्जले ८४ औं मिनटमा अर्को अवसर गुमाएको थियो । नीरज थापामगरको पासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनटमा वीरगन्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपरसमेत बिट गरिसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो ।

निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा एनआरटीले पनि केही आकर्षक गुमाएको थियो जसका कारण वीरगन्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा मिहिनेत गर्नुपरेको थियो ।

खेलको सातौं मिनटमा कृतिरत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । खेलको ६४ औं मिनटमा अशोक थापाले किपरसमेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार वीरगन्जका डिफेन्डरले गोललाइनबाट क्लियर गरेका थिए ।

एनआरटीलाई अन्तिम चारमा पुर्‍याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ द म्याच घोषित उनले १० हजार ट्रफी पाए ।

सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ ।

प्रकाशित : चैत्र १२, २०७९ २२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?