इटहरी गोल्डकपको उपाधि सगरमाथालाई

अर्जुन सुवेदी

सुनसरी — १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा चर्च ब्वाईजका मनोज राईको प्रहार बाहिरिएपछि सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, विदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोजको प्रहार आकाशिएको थियो ।

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र विवेक बर्माको प्रहार गोलमा परिणत भएपछि सगरमाथा चम्किएको हो । नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद १० लाख हात पारेको छ । उपविजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुँनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए ।

सगरमाथाका देब लिम्बु बेस्ट गोलकिपर, विशाल बस्नेत बेस्ट डिफेण्डर, स्टेफिन बिनोंग बेस्ट फरवार्ड र याम गुरुङ बेस्ट कोच घोषित भए । चर्च ब्वाइजका मौसम लिम्बु बेस्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार हात पारे । विजेता तथा उपविजेतालाई एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई र इटहरी उपमहानगरका जनप्रतिनिधिहरुले पुरस्कार वितरण गरे । चैत्र ४ गते सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता थियो ।

प्रकाशित : चैत्र ११, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्

टासी दोङले जिते गल्फ उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — गल्फर टासी छिरिङ दोङले गोकर्ण गल्फ क्लबमा शनिबार इन्डियन एम्बासडर आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

दुई ह्यान्डिक्यापसँग खेल्दै टासीले ४० स्टेबलफोर्ड अंक बटुलेर उपाधि जिते । टासी छिरिङ ३७ अंकसाथ उपविजेता भए । सद्भाव आचार्यले ३७ ग्रस अंक जोडेर बेस्ट ग्रसको अवार्ड जितेका छन् । लङ्गेस्ट ड्राइभको अवार्ड पनि उनैले जिते ।

महिलातर्फ तारा कार्की चित्रकार ३८ अंकसहित विजेता भइन् । गीता गुरुङ ३३ अंकसहित उपविजेता भइन् । सिनियर (६० वर्षभन्दा माथि) तर्फ मेजर विजय मोक्तान ३५ अंकसहित विजयी भए । सिनियर मोस्ट गल्फरको अवार्ड पूर्वप्रधानसेनापति प्रज्ज्वल शमशेर राणाले पाए ।

उत्कृष्ट फ्रन्टनाइनको अवार्ड पवित्रकुमार कार्की र उत्कृष्ट ब्याकनाइन अवार्ड श्याम तामाङले जिते । विजय श्रेष्ठ इन्हाउसले चार बर्डीसहित सर्वाधिक बर्डीको अवार्ड पाए । लेफ्टिनेन्ट कर्णेल निश्चयजंग रायमाझीले मोस्ट पार अवार्ड जिते । नोर्बुछिरिङ शेर्पाले क्लोजेस्ट टु द पिन अवार्ड पाए ।

समापनमा हालै सम्पन्न बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक जितेका सुवास तामाङ र सद्भाव आचार्यलाई सम्मान गरिएको थियो । युवा महिला गल्फर कश्मिरा शाह र जुनी गुरुङलाई जनही ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति भारतीय दूतावासद्वारा प्रदान गरिएको छ ।

प्रतियोगितामा १२ महिला गल्फरसहित ९५ गल्फरको सहभागिता थियो । विजेतालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, रक्षा सहचारी कर्णेल अमित शर्मा, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे, क्याप्टेन जोसेफ नाथन र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डेले पुरस्कार प्रदान गरेका थिए ।

गैरगल्फर्सबीचको पटिङ प्रतियोगितामा सारिका शर्मा विजयी भइन् भने काउन्टब्याकमा ऋतिका डे दोस्रो र निधि श्रीवास्तव तेस्रो भए ।

प्रकाशित : चैत्र ११, २०७९ २०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×