इटहरी गोल्डकप : मछिन्द्र सेमिफाइनलमा स्तब्ध

कान्तिपुर संवाददाता

सुनसरी — ए डिभिजन टोली मछिन्द्र फुटबल क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङसँग ३–१ ले पराजित हुँदै दाबेदार मछिन्द्र बाहिरिएको हो ।

मछिन्द्रलाई सेमिफाइनलमा रोक्दै सगरमाथालाई उपाधिसामु पुर्‍याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले गोल गरेका थिए । मछिन्द्रबाट कप्तान ओलावाले अफिजले एक गोल फर्काए ।

सुरुबाटै आक्रामक खेल प्रस्तुत गरेको सगरमाथाले मछिन्द्रविरुद्ध १२ मिनेटभित्र दुई गोल गरिसकेको थियो । चौथो मिनेटमा मेसुकेको पासमा राजीवले गोल गरेर अग्रता दिलाए । त्यसको ८ मिनेटपछि स्टेफिनले सगरमाथाको गोलस्कोर दोब्बर बनाए । पहिलो हाफमा २–० ले अग्रता बनाएको सगरमाथा दोस्रो हाफमा एक गोल थप्दै मजबुत बन्यो ।

मेसुकेले ५१ औं मिनेटमा बायाँ भागबाट अघि बढाउँदै गरेको प्रहार सिधै जालीको सम्पर्कमा पुगेको थियो । ३–० ले पछि परेको अवस्थामा मछिन्द्रका कप्तान ओलावालेले ८८ औं मिनेटमा एक गोल गरे पनि पर्याप्त हुन सकेन । बक्सभित्र अभिषेक लिम्बूले ओलावालेलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरेका थिए ।

पहिलो रोजाइका खेलाडी जारी थ्री नेसन्स कपमा व्यस्त भएपछि मछिन्द्र दोस्रो रोजाइका खेलाडी लिएर आएको थियो । पहिलो हाफमा पाएको तीन उत्कृष्ट अवसर ओलावालेले सदुपयोग गर्न सकेनन् । पहिलो खेलमा ह्याटिकसहित ४ गोल गरेका उनका तीनवटै प्रहारमा सगरमाथाका गोलरक्षक बाधक बने । मछिन्द्रका अन्य खेलाडीले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको १५ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा विजय भुजेलले गोलरक्षक बिट गराए पनि गोल गर्न सकेनन् । १९ औं मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बूले रोकेर बाहिर पठाइदिए । उनले २२ औं मिनेटमा ओलावालेको प्रहार पनि रोके ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा मछिन्द थप आक्रमक बन्न सकेन । ६४ औं मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर खेर गयो । ८९ औं मिनेटमा सौरभ लिम्बूको फ्रिकिकमा उत्सव राईले गरेको हेडर पनि पोस्टमाथिबाट बाहिरियो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदान उत्रिएको सगरमाथाले अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो । २३ औं मिनेटमा स्टेफिनको बेजोड प्रहार गोलरक्षक प्रदीप भण्डारीले बचाए । २५ औं मिनेटमा डिफेन्डरबीच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकेले खेर फाले । मेसुकेको पासमा राजीव गोल गर्न चुके । लगत्तै मेसुकेले वान भर्सेस वानमा पाएको अवसर सदुपयोग गर्न सकेनन । म्यान अफ द म्याच सगरमाथाका स्टेफिन भए । उनले १० हजार प्राप्त गरे ।

सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचेअनुरुप प्रदर्शन नभएको बताए । यद्यपि सबै खेलाडीको सामूहिक प्रयासले जित निस्किएको बताए । विपक्षी खेलाडीहरू अफ्रिकीको कारणले दबाबमा परे पनि उनीहहरूबीच तालमेल राम्रो देखिएपछि नतिजा आफ्नो पक्षमा आएको बताए ।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा पाएको अवसरमा गोल गर्न नसक्दा पराजित हुनुपरेको बताए । उनले रेफ्रीको गल्तीका कारण दोस्रो गोल खान पुगेको आरोप लगाए । उनले पहिलो रोजाइका खेलाडीलाई आराम दिएर दोस्रो रोजाइका खेलाडीलाई अनुभवका लागि मैदान उतारेको बताए ।

सगरमाथाले बिहीबार हुने त्रिभुवन आर्मी र चर्च व्वाइज युनाइटेडबीचको विजेतासँग उपाधिका लागि शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख हात पार्नेछन् ।

प्रकाशित : चैत्र ८, २०७९ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्

रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव

सन्जु पौडेल

तिलोत्तमा — बुटवलका शिक्षा क्षेत्रका अगुवाले रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवासँग गरेको छलफल कार्यक्रममा क्याम्पस प्रमुख र अध्यक्षले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने थलोका रुपमा परिचित हुने अवस्था आएको भन्दै समयमै सोच विचार गर्न सुझाए ।

संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्राधिकारअनुसार रोजगार सिर्जना र आत्मनिर्भर बनाउने गरी नीति र कार्यक्रम ल्याउन उनीहरुको सुझाव छ ।

उनीहरुले विद्यार्थी न्यूनतम तह पूरा गर्नका लागिमात्रै अध्ययन गरिरहेको र विदेश जानेको संख्या दिनहुँ बढ्दै गएको भन्दै नीति कार्यक्रम ल्याउँदा गम्भीर हुन सुझाव दिए । कार्यक्रममा बोल्ने क्याम्पस प्रमुख तथा अध्यक्षहरुले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमार्फत गर्नुपर्ने काममा अलमल गरेको भन्दै अधिकार प्रयोगमा समेत चासो दिनुपर्नेमा जोड दिए । उनीहरुले शैक्षिक क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले यसतर्फ पनि सरकारी निकायले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षामा बुटवललाई अग्रणी बनाइराख्न सार्वजनिक, निजी क्षेत्रको उत्तिकै भूमिका रहने बताए । उनले बुटवल उपमहानगरपालिकाले समाधान गर्न सक्ने समस्या बुटवलबाटै समाधान गर्ने र अधिकार क्षेत्र बाहिरका समस्या संघ र प्रदेशमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बुटवलमा रोजगार सिर्जनाका लागि प्रयासरत रहेको र वैदेशिक रोजगारमा जानेलाई स्वदेशमै राख्ने गरी नीति बनाउन संघ र प्रदेशसँग समन्वय गर्ने बताए ।

प्रकाशित : चैत्र ८, २०७९ २२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×