राष्ट्रिय क्रिकेटका कप्तान पौडेल गृह नगरमा सम्मानित

रासस

नवलपरासी — आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा सानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले सम्मान गरेको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्तीका स्थायी बासिन्दा कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले मंगलबार सम्मान गरेको हो।

पौडेललाई गृहजिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो । लिग २ को खेलमा उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाईसम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा कप्तान पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन अहोरात्र खटिने प्रतिक्रिया दिए । मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको उनको भनाइ थियो ।

गृहजिल्ला आइपुगेका पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न सङ्घ/संस्था र स्थानीय तहले स्वागतसहित सम्मान गरेका छन् । नगरपालिका, जेसिज, खेलकुद विकास समिति, लायन्स क्लबलगायत संस्थाले विभिन्न कार्यक्रम गरी सम्मान गरेका हुन् ।

प्रकाशित : चैत्र ७, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

खुम्बुमा लेक लागेर विदेशी पर्यटकको मृत्यु

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक विदेशी पर्यटकको लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको मृत्यु भएको हो ।

अक्सिजन अभावका कारण जान्कोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए ।

खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ ।

जान्को ट्रेडिसनल एड्भेन्चर मार्फत हिमाल आरोहणका लागि यहाँ आएका थिए । खुम्बु पासाङल्हामु गाउँपालिका ४ गोरक्सेपको हिमालयन होटलमा सुतेकै अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

१३ जनाको समूहमा आएका उनी चैत्र १ गते नाम्चे प्रवेश गरेका थिए । मौसम प्रतिकुलताका कारण शव उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । खुम्बु क्षेत्रमा हिमपात हुँदा बुधबार मात्रै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र ७, २०७९ २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×