भारतमाथि अस्ट्रेलियाको रबाफिलो जित- खेलकुद - कान्तिपुर समाचार

भारतमाथि अस्ट्रेलियाको रबाफिलो जित

एएफपी

विशाखापट्टनम — मिचेल स्टार्कले घातक बलिङ गर्दै भारतीय ब्याटिङ क्रमलाई धराशायी बनाएपछि अस्ट्रेलिया दोस्रो डे/नाइट वान डेमा आइतबार १० विकेटले विजयी भएको छ ।

फास्ट बलर स्टार्कले ५३ रन दिएर पाँच विकेट लिए र भारत १ सय १७ रन मात्र बनाएर अलआउट भएको थियो । त्यसपछि ट्रेभिड हेड र मिचेल मार्स दुवैले आक्रामक ब्याटिङ गर्दै आ–आफ्नो अर्धशतक पूरा गरे र अस्ट्रेलियाले एकोहोरो जित निकाल्न सफल रह्यो ।

मार्सले ३६ बलमा ६६ रन बनाए । उनले चार चौका र छ छक्का प्रहार गरे । हेडले भने ३० बलमा ५१ रन बनाए । उनले १० चौका प्रहार गरे । अस्ट्रेलियाले जितसम्म पुग्न ११ ओभर मात्र खर्चेको थियो । विपक्षी टिम जितसम्म पुग्दा बाँकी रहेको बलका आधारमा यो भारतको सबैभन्दा ठूलो अन्तरको हार हो । अस्ट्रेलिया जितसम्म पुग्दा ३९ ओभर अर्थात् २ सय ३४ बल बाँकी रहेको थियो । अस्ट्रेलियाको यो जितपछि तीन खेलको सिरिज पनि १–१ को बराबरीमा पुगेको छ ।

‘हामी चाँडै जितसम्म पुग्यौं, ३७ ओभर बाँकी छँदै । यस्तो खेल प्रायः हुने गर्दैन । मेरो विचारमा हाम्रा बलरले निकै राम्रो बलिङ गरे,’ अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले भने, ‘विशेषतः स्टार्कले निकै धारिलो बलिङ गरे । त्यसपछि हेड र मार्सले टिमलाई सजिलै जितसम्म पुर्‍याए ।’ बलिङलाई मदत गरिरहेको पिचमा टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र त्यसमा घरेलु टिमले निकै खराब सुरुआत लिएको थियो ।

शुभमन गिल स्टार्कको पहिलो ओभरमै शून्यमा आउट भए । त्यसपछि १३ रन बनाएका रोहित शर्माले विराट कोहलीसँग दोस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यो नै सबैभन्दा ठूलो साझेदारी रह्यो । त्यसपछि भारतले एकपछि अर्को विकेट शृंखलाबद्ध रूपमा गुमाएको थियो । खेलले ९.२ ओभर छुँदा भारतले ४९ रन बनाएर पाँच विकेट गुमाइसकेको थियो । कोहलीले सर्वाधिक ३१ रन बनाए । त्यसबाहेक रवीन्द्र जडेजाले १६ र अक्षर पटेलले २९ रन बनाए ।

खेलपछि रोहितले पनि निराशा पोखे र भने, ‘यो हार निकै निराशाजन रह्यो । यसमा कुनै शंका छैन । हामीले सक्दो पनि खेलेनौं । यो पिचले बलरलाई मदत गर्ने निश्चित थियो, तर पनि यो पिच पक्कै पनि १ सय १७ रनको थिएन । स्टार्कले निकै राम्रो बलिङ गरे । उनलाई कसरी सामना गर्ने हो, अबका खेलमा हामीले ध्यान दिनुपर्ने हुन्छ ।’ अब तेस्रो, निर्णायक तथा अन्तिम खेल बुधबार चेन्नाईमा हुनेछ । मुम्बईमा भएको पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो ।

प्रकाशित : चैत्र ५, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

बिमा अभिकर्ताको व्यवस्थापन अब अनलाइनबाटै

कान्तिपुर संवाददाता

काठमाडौँ — नियामक निकाय बिमा प्राधिकरणले अब अनलाइन प्रणालीबाटै बिमा अभिकर्ता व्यवस्थापन गर्ने भएको छ । एक जना अभिकर्ता एकभन्दा बढी समान किसिमको बिमा कम्पनीमा आवद्ध हुन नपाउने विद्यमान कानुनी व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्ने उद्देश्यले प्राधिकरणले अनलाइन प्रणालीबाट व्यवस्थापन सुरु गरेको हो ।


नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले आइतबार अनलाइन प्रणालीमार्फत अभिकर्ता व्यवस्थापन गर्ने प्रणालीको शुभारम्भ गरे । उक्त प्रणालीले 'एक बिमक, एक बिमा अभिकर्ता' अनुरुप समान प्रकृतिको एक भन्दा बढी बिमा कम्पनीमा रहे/नरहेको बारे जानकारी दिन्छ । ‘अनलाइन प्रणालीका माध्यमबाट व्यवस्थापन भएपछि अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी हुने हुँदा उनीहरूको अनुगमन गर्न सहज हुन्छ,’ अध्यक्ष सिलवालले भने, ‘बिमा व्यवसाय वृद्धि भएसँगै अभिकर्ताको संख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारबोधका साथ अभिकर्ताले काम गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रभावकारी व्यवस्थापन जरुरी हुन्छ । जसको सुरुवात भइसकेको छ ।’

अनलाइन प्रणालीमार्फत् अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण प्रक्रिया सरल र सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त प्रणालीमा कुनै समस्या आउन नदिन र आएमा तत्काल समाधान गर्न पनि उनले निर्देशन दिए । ‘प्राधिकरणले अनलाइन प्रणाली मार्फत् एक बीमक, एक बिमा अभिकर्ताको व्यवस्थापन कार्यसँगै विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकबाट नवीकरण दस्तुर भुक्तानी गरी मध्यस्थकर्ता (बिमा अभिकर्ता र सर्भेयर) को इजाजतपत्र नवीकरण कार्यलाई निरन्तरता दिएको छ,’ उनले भने ।

बिमा कम्पनीमार्फत् प्राधिकरणको अनलाइन प्रणालीमा हालसम्म १ लाख ६३ हजार ९ सय २५ जना अभिकर्ताले स्थायी लेखा नम्बरसहित आवश्यक कागजात समावेश गरी विवरण अद्यावधिक गराएका छन् । अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएकाको संख्या २ लाख २१ हजार ८ सय ५० रहेकोमा १ लाख ६३ हजार ९ सय २५ को अद्यावधिक भएको र बाँकी ५७ हजार ९ सय २५ को भने अद्यावधिक प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

अनलाइन प्रणालीमा बिमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी कम्पनीमा कार्य गर्नेको संख्या ५ हजार ४५ रहेको पाइएको छ । एकभन्दा बढी बिमा कम्पनीमा कार्यरत अभिकर्तालाई एउटा मात्रै छान्न मिल्ने व्यवस्था (वान टाइम पासवर्ड–ओटीपी) मार्फत गरिएको प्रधिकरणले जनाएको छ । यस्तै, अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेल मार्फत सम्बन्धित व्यक्तिलाई पठाइने व्यवस्था समेत अनलाइन प्रणाली मार्फत मिलाइएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×