कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता

कूल १० टिम सहभागी हुने, प्रथम पुरस्कार ५ लाख ५ सय ५५ रुपैयाँ
आश गुरुङ

लमजुङ — यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको स्मार्ट भिलेज घलेगाउँले यसवर्ष पहिलोपटक आमन्त्रित गोल्डकप फुटबल खेलाइँदैछ । वैशाख १ गतेदेखि हुने प्रतियोगितामा आमन्त्रण गरिएअनुसार जिल्लाबाहिरका ६ टिम र जिल्लाभित्रका ४ टिम गरी कूल १० टिम सहभागी हुनेछन् ।

घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता

प्रतियोगितामा पहिलो हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्डकप र मेडल पुरस्कार राखिएको छ । दोस्रो हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ राखिएको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद १०/१० हजार रुपैयाँ राखिएको छ । घलेगाउँबासीले यसअघि ५ पटकसम्म खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक छैटौं संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले शुक्रबार सदरमुकाम बेंसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रेमबहादुर घलेले ग्रामीण भेगमा यतिका ठूला राशि राखेर आयोजना गरिने प्रतियोगिता यो सम्भवतः पहिलो रहेको बताए । ‘समुद्री सतहदेखि २१ सय मिटर उचाइमा यो प्रतियोगिता हुँदैछ । यो उचाइमा हुने फुटबल प्रतियोगितामा यति धेरै पुरस्कार राखेर आयोजना गरिएको यो पहिलो हुनसक्छ,’ उनले दाबी गरे । यो कार्यक्रम सक्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा जिल्ला बाहिरका कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाजकल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौं, गोरखा ब्वाइज बुटवल र (रड्स) रामपुर चितवनले खेल्नेछन् ।

लमजुङका क्लबमा लालीगुराँस युवा क्लव भुजुङ, त्रिवेणी युवा क्लब बेंसीसहर, बुद्ध युथ क्लब भोटेओडार र बेंसीसहर युथ सोसाइटी शेराले फुटबल खेल्नेछन् । आमन्त्रित भएकाले खेलाडीलाई खाना र बासको व्यवस्था निःशुल्क रहेको अध्यक्ष घलेले बताए । खेल संयोजक गंगा घलेले १० वटामात्रै टिम खेलाइने यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने टिम र खेलाडीले खेललाई थप रोचक बनाउने दाबी गरे ।

क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशिको फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने दाबी गरे । ‘घलेगाउँमा आफैंमा एउटा ब्राण्ड हो । यो प्रतियोगिताले घलेगाउँलाई थप उचाइमा पुर्‍याउनेछ ।’ क्व्होलासोंथार गाउँपालिका ३ का अध्यक्ष आसबीर गुरुङले घलेगाउँको प्रचारप्रसारका लागि यसअघि गीतिभिडियोसमेतको सहारा लिँदै आएकोमा उत्कृष्ट फुटबल प्रतियोगितामार्फत पर्यटन प्रवर्द्धन गरिने बताए ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका सचिव उमलबहादुर विकले पहिलो पुरस्कारको प्रायोजन पर्यटन समिति आफैंले गर्ने र दोस्रो पुरस्कार वडाध्यक्ष आसबीर गुरुङमार्फत गरिने बताए । उनले चर्चित कलाकारको सांगीतिक कार्यक्रमसमेत राखिएको र सबैको तयारी थालिएको बताए ।

प्रकाशित : चैत्र ४, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×