कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

च्यासलको नतिजा, सातदोबाटोलाई फाइदा

काठमाडौँ — अन्तिम ५७ मिनेट (इन्ज्युरी समयसहित) दस खेलाडीमा समेटिएको मछिन्द्र क्लबसँग च्यासल रंगशालामा शुक्रबार गोलरहित बराबरीमा रोकिएपछि चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिने अवसर गुमायो । त्यसको फाइदा सातदोबाटो युवा क्लबलाई भएको छ ।

च्यासलको नतिजा, सातदोबाटोलाई फाइदा

पाँचौं चरणमा च्यासलमै बिहीबार खुमलटारमाथि २–१ को जित निकालेको सातदोबाटो १२ अंकसहित शीर्षस्थानमा यथावत् रह्यो । अपराजित रहेर पनि लगातार दोस्रो खेलमा गोल गर्न असफल भएपछि चर्च ब्वाइजले शीर्षस्थानमा फर्किने अवसर गुमाएको हो । यो टिम ३ जित र २ बराबरीसँगै ११ अंक बनाएर दोस्रोमा छ ।

अब टोलीले चार जित र एक हार खेलेको सातदोबाटोलाई अन्तर्राष्ट्रिय खेलका लागि लिगले ९ दिनको विश्राम लिँदासम्म उछिन्न सक्ने छैन । नेपाली राष्ट्रिय टिमसहित लाओस र भुटानबीच हुने प्रधानमन्त्री कप (चैत ८–१७) पछि लिगको छैटौं चरणका खेल सुरु हुनेछ ।

चौथो चरणमा संकटाविरुद्ध गोलरहित भएको खेलमा घाइते भएका फरवार्ड अञ्जन विष्टको अनुपस्थितिमा चर्च ब्वाइजले राम्रो लयमा नरहेको मछिन्द्रको रक्षापंक्ति तोड्न सकेन । उत्कृष्ट लयमा रहेका अञ्जन सम्भवत् राष्ट्रिय टिमको प्रधानमन्त्री कपलाई पनि उपलब्ध हुने छैनन् ।

मिडफिल्डर पुजन उपरकोटीले ४२ औं मिनेटमै रातो कार्ड पाएर मैदान छाडेपछि डिफेन्डिङ च्याम्पियन मछिन्द्र संकटमा परेको थियो । चर्च ब्वाइजका जोसपेह बेम्पाहलाई कुहिनाले हानेपछि रेफ्री नवीन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए । तर, डिफेन्डर ओमोलाजा करिमको प्रदर्शनमा मछिन्द्रले चर्च ब्वाइजको आक्रामण निस्तेज पारिदियो ।

‘हाम्रो लक्ष्य च्याम्पियन हुने नै हो तर यस्तो प्रदर्शनले च्याम्पियन हुन सक्दैनौं,’ चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले भने, ‘युवा खेलाडीहरू फिनिसिङमा चुके । टिममा अञ्जनको अभाव भयो ।’ ५ खेलबाट ५ अंक (१ जित, २ बराबर, २ हार) मात्रै जोडेपछि मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले पुजनलाई दिइएको रातो कार्डबारे भने, ‘उनले गल्ती गरेका हुन् । टिमलाई घाटा हुने भइहाल्छ ।’ मुख्य प्रशिक्षक प्रवेश कटुवालले राष्ट्रिय टिममा सहायक प्रशिक्षक भएपछि सन्तोषले ‘टचलाइन’ सम्हाल्ने अवसर पाएका हुन् ।

जावलाखेल १–० थ्रीस्टार

एन्कोतो मसोबीले १६ औं मिनेटमा गोल गरेपछि जावलाखेलले एन्फा कम्प्लेक्समा भएको ‘ललितपुर डर्बी’ मा थ्रीस्टारलाई १–० ले पन्छाउँदै यो लिगमा तेस्रो जित हात पार्‍यो । यससँगै जावलाखेल तीन जित, एक बराबर र एक हारको नतिजापछि १० अंक बनाएर तेस्रो स्थानमा उक्लियो । पहिलो चरणमै एपीएफविरुद्ध २–० ले पराजित भएको थ्रीस्टारले तीन खेलमा ७ अंक बटुलेपछि जावलाखेलविरुद्ध हारेको हो ।

प्रकाशित : चैत्र ४, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×