कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

शैलुङमा अल्ट्रा म्याराथन हुने

टीकाप्रसाद भट्ट

रामेछाप — पश्चिमी रामेछापको सुन्दर पर्यटकीय स्थान शैलुङमा पहिलो पटक अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगिताअन्तर्गत ५५ किलोमिटर लामो, २५ किलोमिटर र ५ किलोमिटर दुरीका बेग्लाबेग्लै प्रतिस्पर्धा गराइने छ । 

शैलुङमा अल्ट्रा म्याराथन हुने

शैलुङको पर्यटक प्रवर्द्धनका लागि राष्ट्रिय खेलकुद परिषद्‌को सहयोगमा जिल्ला खेलकुद विकास समितिले चैत ४ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो । सुनापति गाउँपालिकाको हिलेदेवीस्थित साँदडाँडाबाट सुरु भएर खाँडादेवी मन्दिर, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, राजभीर हुँदै शैलुङ पुग्ने ५५ किमि दुरीको अल्ट्रा म्याराथनमा प्रथम हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ । दोस्रोलाई ३५ हजार र तृतीयलाई ३० हजार रुपैयाँ पुरस्कार दिने आयोजना समितिले जनाएको छ ।

त्यसैगरी २५ किमि म्याराथन साँदडाँडाबाट दोरम्बा हुँदै शैलुङ पुग्ने र ५ किमि म्याराथुन शैलुङ परिसरमा आयोजना हुने जनाइएको छ । २५ किमि म्याराथन जित्नेले ४० हजार र ५ किमिमा प्रथम हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

रामेछापमा यति लामो दुरीको म्याराथन पहिलो पटक हुन लागेको हो । शैलुङ म्याराथनका क्रममा ऐतिहासिक खाँडादेवी मन्दिर, माओवादी द्वन्द्वकालमा इतिहास लेखाएको दोरम्बा र डाँडाकटेरी, बौद्ध धर्मावलम्बीहरुको ऐतिहासिक राजभीर गुम्बा र शैलुङ अवलोकन गराइने छ ।

दोलखासँग सीमा जोडिएको ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङलगायत क्षेत्रलाई समेटेर नेपाल पर्यटन बोर्डले आदिवासी जनजाति पदमार्ग संचालनमा ल्याएको छ । प्रचार पुग्न नसक्दा काठमाडौंबाट नजिक भएर पनि शैलुङको पर्यटन प्रवर्द्धन हुन सकेको छैन । शैलुङबाट विभिन्न हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । दोरम्बा शैलुङ गाउँपालिकाले शैलुङ क्षेत्र विकास गर्न भन्दै विभिन्न क्रियाकलाप गर्दै आएको छ ।


प्रकाशित : फाल्गुन ६, २०७९ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×