कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

राजर्षि जनक कप फुटबल : जावलाखेलको भाग्यमानी जित

विनोद पाण्डे

सर्लाही — विनोद केसीले मैदान प्रवेश गरेको १५ सेकेन्डभित्र गोल गरेपछि जावलाखेल युथ क्लबले सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजय हात पारेको छ । ललितपुरको टोली जावलाखेलले बुधबार नेपाल एपीएफ क्लबलाई १–० ले पराजित गर्‍यो । 

राजर्षि जनक कप फुटबल : जावलाखेलको भाग्यमानी जित

पहिलो हाफ पूर्ण रूपमा एपीएफको नियन्त्रणमा थियो । हरि कार्कीले खुला अवसरमा गोल गर्ने मौका चुकाउनु एपीएफका लागि दुर्भाग्य बन्यो । दोस्रो हाफमा जावलाखेलको खेलमा केही सुधार आएको थियो । त्यही मौकामा गरेको गोलले जावलाखेललाई क्वाटरफाइनलमा पुर्‍यायो ।

विपिन कँडेलको स्थानमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेर विपक्षी गोल पोस्टमा पुगेलगत्तै विनोदले हिसुब थपलियाको पासमा सुतेर हेड गोल गरे । मैदानमा प्रवेश गरेपछि उनले छोएको पहिलो प्रहार नै गोल भएको हो । पहिलो हाफमा छिरिङ लामाको प्रहार केहीबाहिर जानुबाहेक अन्य गतिलो आक्रामण नगरेको जावलाखेललाई त्यो गोलले निकै राहत मिल्यो ।

‘हामी यहाँ नयाँ टोली लिएर आएका हौं, टिमले राम्रै प्रयास गरेको हो, मुख्यचाहिँ मिहिनेत हो, त्यसको फल हामीले पाएका छौं,’ जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले भने, ‘पहिलो हाफमा एपीएफले धेरै दबाब दिएको थियो, त्यो रोक्न नसकेको भए गाह्रो हुन्थ्यो । हामी सहिद स्मारक लिग तयारी गरिरहेको टोली हौं, उनीहरू वर्षभर प्रशिक्षण गरेर बस्ने टोली हो । त्यसैले हामीले लिगका लागि अझ तयारी गर्नुपर्ने देखिएको छ ।’

दुवै टोली विदेशी खेलाडीविना थिए । श्रम स्वीकृतिविना खेल्न नपाउने नियमका कारण दुवै टोलीले विदेशी खेलाडी राख्न पाएका थिएनन् । प्रशिक्षक श्रेष्ठले ५ विदेशी खेलाडी आफ्नो टोलीमा राख्ने तयारी भइरहेको सुनाए । एपीएफ प्रशिक्षक रत्नकाजी महर्जनले विदेशी खेलाडी नहुँदा पनि आफ्नो टोलीलाई असर परेको बताए ।

‘हाम्रो सधैंको समस्या फिनिसिङ हो, यहाँ पनि त्यही दोहोरिएको हो,’ महर्जनले भने, ‘हाम्रो टोलीको महत्त्वाकांक्षा धेरै भयो । दबाब दिएर काउन्टर एट्याक गर्ने योजना बनाएका थियौं । जावलाखेलले भन्दा धेरै अवसर पाएका हौं, योजनाअनुसार खेल्नेमा हामी चुकेका छौं । त्यसैले यसको दोपी प्रशिक्षकका रूपमा मेरै हो ।’

जावलाखेलका गोलरक्षक अनिश देउला खेलका नायक थिए । उनी एपीएफका आधा दर्जन प्रहार रोक्दै प्लेयर अफ द म्याच बने । कप्तान नवीन लामा, श्याम नेपाली, प्रदीप लामा, सविन गुरुङको प्रहारलाई अनिशले राम्रो बचाउ गरेका थिए । रक्षक आदित्य चौधरीले पनि अनिशलाई राम्रो साथ दिए ।

वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको प्रतियोगितामा जावलाखेलले अब साबिक विजेता पिप्ले युथ क्लबसँग खेल्ने छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हेलिकप्टरबाट उत्रेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उनी निर्धारित तालिकाभन्दा केही समय ढिला आइपुगेका कारण मध्यान्तरमा पुनः प्रतियोगिताको उद्घाटन गरिएको थियो । त्यसक्रममा उनले मैदानमै निधन भएका प्रशिक्षक सन्तोष श्रेष्ठको शालिकमा मार्ल्यापण गरेका थिए । सन्तोषको मैदान बनाउने क्रममा निधन भएको हो ।

उद्घाटन खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक बिदा दिनुका साथै टिकट शुल्क निःशुल्क गरिएको थियो, जसका कारण दर्शक उपस्थिति बाक्लो थियो । आयोजकले अन्य दिनको टिकट मूल्य १०० र २०० रुपैयाँ राखेको छ । बिहीबार युनाइटेड खर्साङ क्लब दार्जीलिङ र सुदूरपश्चिम–११ बीच खेल हुनेछ ।

प्रकाशित : माघ २६, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×