अकी र आरभको जोडी विजयी


काठमाडौँ — नेपालका अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी आईटीएफ वर्ल्ड टेनिस टुरअन्तर्गत नेपाल सर्किट–२ को ब्वाइज डबल्समा सेमिफाइनल पुगेको छ ।सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट–१ का विजेता अकी र आरभको जोडीले अमेरिकाका मानव हरिराज र ताइपेईका काइ एन वूको जोडीलाई ६–१, ६–४ को सोझो सेटमा हरायो ।

भारतका प्रणव कोराडे र स्मिट निलेशभाइ पटेलको जोडी, भारतका सेहजसिंह पवार र देवाशिष साहुको जोडी तथा चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडी पनि सेमिफाइनल पुगेका छन् ।
गर्ल्स डबल्समा भारतका अनुष्का भोला र मेहक कपुर, भारतकी रजा किलारु र चीनकी झाङ क्विन वेइ, मंगोलियाका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभ तथा बेल्जियमका क्यामिली फिसेट र रुसकी मिलिना शुब्खानकुलोभाको जोडी सेमिफाइनलमा पुगेका छन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा चीनका वेन्बो, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, भारतका प्रत्यश, देवाशिष र सेहज तथा ताइपेईका काइ इन याङ क्वाटरफाइनल पुगेका छन् ।
गर्ल्स सिंगल्समा बेल्जियमकी क्यामिली, रुसकी मिलिना, मंगोलियाका मार्ता र मराल्गु, चीनकी झाङ तथा भारतका सिमरिन अहमद, दुर्गांसी कुमार र तमन्ना तकोरियाले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
टेनिस टोली श्रीलंका जाने
आईटीएफ वर्ल्ड जुनियर टेनिस प्रतियोगिता (प्रिक्वालिफाइङ इभेन्ट) मा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो जाँदै छ । फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्यालले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य छन् ।