१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

न्यु डायमन्ड केएनपी राष्ट्रिय भलिबल च्याम्पियन

काठमाडौँ — न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्विरस्थित राखेप कभर्डहलमा मंगलबार सम्पन्न फाइनलमा साबिक विजेता एपीएफ क्लबलाई ३–२ को सेटमा हराएर न्यु डायमन्डले उपाधि उचालेको हो । डायमन्डले २८–२६, १९–२५, २५–२२, २४–२६, १५–९ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।

न्यु डायमन्ड केएनपी राष्ट्रिय भलिबल च्याम्पियन

विजेता न्यु डायमन्डले ३ लाख रुपैयाँ पुरस्कार र ट्रफी जित्यो । न्यु डायमन्डीकी प्रगति नाथ प्लेयर अफ द म्याच भइन् । उनले १० हजार र ट्रफी जितिन् ।

एपीएफले १ लाख ५० हजार रुपैयाँ जित्यो । दोस्रो स्थानको पुरस्कार राशि चाँगुनारायण नगरपालिकाले प्रायोजन गरेको आयोजकले जनाएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान हो ।

नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पार्‍यो । पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१३ को सेटमा पराजित गर्दै तेस्रो स्थानको पुरस्कारवापत ७५ हजार प्राप्त गर्‍यो । पुलिसकी उषा भण्डारी प्लेयर अफ द म्याच घोषित भइन् । उनले १० हजारसहित जितिन् । उनी अघिल्लो दिनमात्र पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी खेलाडी हुन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमन्डकी प्रतिभा माली भइन् । उनले ५० हजारसहित ट्रफी जितिन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपिएफकी हीरा केसी, उत्कृष्ट सर्भरमा एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यु डायमन्डकी प्रगति नाथ, उत्कृष्ट लिबेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यु डायमन्डका कुमार राई र उदीयमान खेलाडीमा न्यु डायमन्डकी सलिना बुढामगर चुनिए । विधागतका उत्कृष्टले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।

सबै विजयी खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, ओलम्पियन दीपक विष्टलगायतले पुरस्कृत गरे । प्रतियोगितालाई बहुराष्ट्रिय कम्पनी केन्साई नेरोलेक पेन्टले मुख्य प्रायोजन गरेको थियो ।

प्रकाशित : माघ २४, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?