रुपेशले जिते चेस उपाधि


काठमाडौँ — अन्नपूर्ण आरसीटी खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवालले हात पारेका छन्। शनिबार सम्पन्न भएको आठौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारी र नवौं चरणको खेलमा नेपाल च्याम्पियनसँग बराबरी खेलेका थिए ।

उनले प्रतियोगितामा सात जित र दुई बराबरी खेली ८ अंकसहित उपाधि हात पारेका हुन् । उनले नगद पुरस्कार ३० हजार रुपैयाँ हात पारे ।
त्यस्तै नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं दोस्रो स्थानमा रहे । चौथो चरणको खेलमा पराजित भएका पुरुषोतम बाँकी खेलमा राम्रो नतिजा आत्मसात गरी ७ खेलमा सफलता हात पारे भने अन्तिम चरणमा रुपेशसँग बराबरी खेले । उनले आठौं चरणको खेलमा ललितपुर रका सरोज महर्जनलाई पराजित गरे। उनले नगद २० हजार पाए । उनको साढे ७ अंक रहेको छ ।
फिडे मास्टर क्षितिज भण्डारी ७ अंकसहित तेस्रो स्थानमा रहेर १० हजार रुपैयाँ हात पारे । उनले दुवै खेल बराबरी खेलेका थिए ।
महिलातर्फ काठमाडौंकी विनिता कपाली पहिलो र सिन्दीरा जोशी दोस्रो स्थानमा रहिन् । दुवैको समान ६ अंक नै भए पनि प्रोग्रेसिभ टाई ब्रेकको आधारमा विनिताले सिन्दिरालाई पछि पारेका हुन् । झापाकी पुनम प्रसाईं तेस्रो स्थानमा रहिन् ।
प्रकाशित : माघ ७, २०७९ १८:३९