आईसीसी टोली अकस्मात् काठमाडौंमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीसी टोली अकस्मात् काठमाडौंमा

‘कुनै क्रिकेट पदाधिकारीका कारण सिंगो नेपाली क्रिकेट पीडित हुनुहुँदैन, यसको भागीदार पनि हुन सक्दैन’
विनोद पाण्डे

काठमाडौँ — खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग क्रिकेट बदनाम भइरहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुई सदस्यीय प्रतिनिधिमण्डल बिहीबार अकस्मात् काठमाडौं आएको छ ।

लगत्तै उनीहरूले सरोकारवाला पक्षहरूसँग परामर्श थालेका छन् । आईसीसी इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको दुई सदस्यीय टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको नेपाल टी–२० लिगको बिहीबारको खेल अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिबारेमा बुझेको थियो । उनीहरूले दिउँसो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्षमै भेट गरेका थिए ।

नेपाली टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले मंगलबार खुला रूपमा नै ‘स्पट बेटिङ’ भएको दाबी गर्दै आफू कमेन्ट्री टोलीबाट अलग भएको जनाएका थिए । काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरेको पृष्ठभूमिमा आईसीसीको छानबिन टोली काठमाडौं आएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) सँग साझेदार बनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स प्रतियोगिताको बीचमै फरार भएपछि खेलाडी तथा अम्पायरको पारिश्रमिकलाई लिएर अन्योल छाएको छ । क्यान स्वयंले सेभेन थ्री स्पोर्टसबाट पाउनुपर्ने ३ करोड ९० लाख रकममध्ये ३० प्रतिशतमात्र पाएको छ ।

गृह मन्त्रालयले नेपाल टी–२० लिगको पारिश्रमिक नदिई आयोजकको एउटा पक्ष फरार भएको, बेटिङका जालो बनाएको विषयमा अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान सुरु गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्रिय खेलकुद परिषदको स्वीकृतिबिनै प्रतियोगिता गराइएको र विदेशी खेलाडीले श्रम स्वीकृतिविनै खेलेको विषयमा राय उपलब्ध गराउन राखेपलाई पत्र काटेको छ ।

नेपाल टी–२० लिगका सम्बन्धमा आईसीसी प्रतिनिधिमण्डलसँग छलफल भएको राखेप सदस्य–सचिव घिसिङले बताए । ‘श्रम स्वीकृतिका लागि क्यानको टोली राखेपमा आएको थियो, तर राखेपले त्यो प्रक्रिया अगाडि बढाएन,’ घिसिङले भने, ‘सार्वजनिक खरिद ऐनको विषय, विदेशी साझेदार कस्ता छन् भन्दै राखेपले क्यानसँग कागजात मागेको थियो । त्यसलाई क्यानले बेवास्ता गर्‍यो । यही विषय हामीले आईसीसीका प्रतिनिधिलाई जानकारी गराएका छौं । कुनै पनि क्रिकेट पदाधिकारीका कारण सिंगो नेपाली क्रिकेट पीडित हुनुहुँदैन । नेपाली क्रिकेट यसको भागिदार हुन सक्दैन भनेर उनीहरूलाई भनेका छौं ।’

राखेपले आफ्ना बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा नेपाल टी–२० लिग काण्डको छानबिनका लागि कार्यदल बनाइसकेको र त्यसको पहिलो बैठक बिहीबार बसिसकेको बारे घिसिङले आईसीसी टोलीलाई जानकारी गराएका छन् । उनले विगतमा पनि आईसीसीले क्यानमाथि आर्थिक निलम्बन र प्रतिबन्ध लगाएका कारण नेपाली क्रिकेटले ठूलो क्षति बेहोनुपरेको विषय पनि स्मरण गराएको घिसिङले जनाए ।

प्रकाशित : पुस २२, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

फिक्सिङ र बेटिङको जालो

‘जुन टिमले फिक्सिङ, बेटिङ र स्पट फिक्सिङ गर्छ, त्यो टोली हार्नका लागि खेल्छ, नेपाल टी–२० लिगमा कुन–कुन टोली हार्नका लागि खेलेका छन्, त्यो नाङ्गो आँखाले नै हेर्न सकिन्छ,’ क्यानकै एक सदस्य भन्छन्, ‘१–२ टोलीबाहेक अन्य सेभेन थ्री स्पोर्ट्सकै वरिपरिका हुन् ।’
विनोद पाण्डे

काठमाडौँ — नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र भएको जनाएको छ । तर, पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग बदनाम बनेको छ । 

यी आरोपका बावजुद नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान भने आफ्नो बचाउमा उभिएको छ । यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बुधबार क्यानले भनेको छ, ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउँछ । म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्सन युनिट (एसीयु) मा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ ।’

नेपाली टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले अघिल्लो दिन सार्वजनिक रूपमा नै ‘स्पट बेटिङ’ भएको दाबी गर्दै आफू कमेन्ट्री टोलीबाट अलग भएको जनाएका थिए । काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले समेत आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरेका थिए । ‘हाम्रो टिमको एकजना खेलाडीलाई सट्टेबाजले प्रस्ताव राखेको थियो । नियमअनुसार नै हामीले त्यो एसीयूलाई रिपोर्ट गरेका थियौं,’ ज्ञानेन्द्रले भनेका थिए ।

सचिन र ज्ञानेन्द्र दुवै नेपाल टी–२० लिगका एक हिस्सा हुन् । सचिनले कमेन्ट्री दौरान जे देखे त्यसमा आफ्नो खुला भनाइ राखे । केही विदेशी टोलीका खेलाडी र नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डरले टी–२० लिगमा स्पट बेटिङ गरेको जनाउँदै उनले ‘भ्रष्टचारी र सट्टेबाजको हातमा’ यो लिग रहेको भनी शंकामात्र होइन ठोकुवा नै गरेका छन् । आफ्नो टोलीमाथि आपराधिक प्रस्ताव आएपछि ज्ञानेन्द्रले पनि एसीयूमा रिपोर्ट गरिसकेको विषयलाई उजागर गरिसकेका छन् ।

पूर्वकप्तान पारस खड्काले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको जनाएका थिए । पारस, सचिन र ज्ञानेन्द्रको यस्ता गम्भीर आरोप र दाबीमा छानबिन गरेर अगाडि बढ्नुपर्नेमा उल्टै भ्रामक र मिथ्या सूचना भनेर विज्ञप्तिबाजी गर्नु क्यानको हदैसम्मको लज्जाजनक कार्य हो । यस्ता गम्भीर प्रकारको फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित पेस गर्न भन्दै क्यान जिम्मेवारीबाट पछि हटेको भनी आलोचना सुरु भएको छ ।

क्यानले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर बनाएर भित्र्याए पनि सुरुदेखि नै सम्पूर्ण जिम्मेवारी उसैलाई सुम्पँदै क्यान आफू ‘अतिथि’ को भूमिकामा बस्दा स्पट फिक्सिङ र बेटिङको जालो सल्बलाएको खेलाडीहरू स्वयं बताउँछन् ।

‘खेलाडी तथा अफिसियललाई सट्टेबाजले बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव गर्नु अहिले सामान्य जस्तै हो, त्यो विषय एसीयूमा रिपोर्ट गरेपछि उसैले हेर्छ,’ नेपाल टी–२० लिगमा सहभागी एक खेलाडी भने, ‘यो लिगमा त भारतीय पक्ष सबै जस्तो सट्टेबाज हुन्, उनीहरू हरेक टिमका खेलाडी तथा अफिसियललाई खुलम खुला बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव गरिरहेका हुन्छन् ।’

स्रोतका अनुसार नेपाल टी–२० लिगका क्रममा ७–८ नेपाली खेलाडीले आफूलाई सट्टबाजले बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव गरेको उजुरी एसीयूमा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपाल टी–२० लिगको एसीयू प्रमुखका रूपमा वीर सिंह आएका छन् । खेलाडीको उजुरी र आफैंले दर्जनौं विदेशी खेलाडीमाथि गरेको छानबिनका आधारमा सम्भवतः सिंहलाई यसले सबैभन्दा व्यस्त प्रतियोगिता बनाएको छ ।

कमेन्टेटर सचिनले पोखरा एभेन्जर्सका पाकिस्तानी खेलाडी अमिर हमजाले एक खेलको अन्तिम ओभरमा ३ वटा नो–बल फालेर खेललाई प्रभावित पारेको आरोप लगाएका थिए । हमजाले डिसेम्बर ३० मा फारवेस्ट युनाइटेडसँगको खेलको इनिङ्सको अन्तिम ओभरमा ३ नो–बल र एउटा वाइड बल फालेका थिए । पहिलो ४ बलमा १८ रन दिएका हमजाले अन्तिम दुई बलमा रशिद खान र प्रकाश जैसीको विकेट लिएका थिए ।

फारवेस्टले करण केसी, विराटनगर सुपर किंग्सले रोहित पौडेल र जनकपुर रोयल्सले सोमपाल कामीलाई ‘मार्की’ खेलाडीको रूपमा लिएको थियो । यी तीनै नेपाली क्रिकेटमा जमेका खेलाडी हुन् । तर, यी तीनैको स्थानमा विदेशी खेलाडीलाई कप्तान बनाइएको थियो । यही निर्णयसँगै नै नेपाल टी–२० लिगमा फिक्सिङको गन्ध आएको नेपाली खेलाडीहरू सुनाउँछन् ।

करणको स्थानमा हसमतुल्लाह साहिदीलाई कप्तान बनाइएको थियो । साहिदी अफगानिस्तानको टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय कप्तान पनि भएकाले यसलाई सहज लिन सकिन्छ । तर नेपालका कप्तान रोहितको स्थानमा विराटनगरले एन्ड्रे म्याकार्थी र सोमपालको स्थानमा वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथलाई दिइएको जिम्मेवारीका हिसाबमा उनीहरूको प्रदर्शन निकै कमजोर देखिन्छ । रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । जबकि म्याकार्थीको नाममा दुई एकदिवसीय अन्तर्राष्ट्रिय र एक ट्वान्टी–२० अन्तर्राष्ट्रियमात्र रहेको छ ।

वर्ष २०२२ मा सोमपाल एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा ओमानका विलाल खानभन्दा मात्र पछाडि रहेर दोस्रो स्थानमा रहे । उनले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा विजेता बनाएका थिए । तर उनको स्थानमा केवल २१ प्रथम श्रेणीको खेल खेलेका ग्रिफिथलाई जनकपुर रोयल्सले कप्तानी जिम्मेवारी दिएको थियो ।

‘कप्तानी नपाउँदा नराम्रो अनुभव भएको थियो । तर यो निर्णय व्यवस्थापन र टिम मालिकको हो । हामीले त्यसमा केही गर्नै मिल्दैन । यो मेरो हातको कुरा पनि भएन,’ रोहितले अघिल्लो दिन भनेका थिए । उनले आफ्नो टोलीको केही विदेशी खेलाडीले स्वाभाविक खेल नखेलेको भन्दै क्यानमा सरोकारवालालाई गुनासो पनि गरेका थिए । पछिल्लो दुई खेलमा उनलाई विराटनगरको कप्तान बनाइएको छ ।

जनकपुरका भारतीय प्रशिक्षक उमेश पटवाल र विराटनगरबाट खेलेको जिम्वाबेका अलराउन्डर सिकन्दर राजा सुरुआती खेलपछि प्रतियोगिता छाडेर फर्किएका थिए । उनीहरूको प्रस्थानलाई पारिश्रमिक नपाएको तथा बेटिङका घटनासँग जोडिएर हेरिएको छ । त्यसयता विदेशी खेलाडी तथा अफिसियलको घर फर्किने लर्को छ । केही विदेशी खेलाडीले पारिश्रमिकभन्दा पनि आफूलाई घर फर्किने फ्लाइट टिकट चाहिएको भन्दै दुखेसो गरिरहेका छन् ।

‘जुन टिमले फिक्सिङ, बेटिङ र स्पट फिक्सिङ गर्छ, त्यो टोली हार्नका लागि खेल्छ, नेपाल टी–२० लिगमा कुन–कुन टोली हार्नका लागि खेलेका छन्, त्यो नाङ्गो आँखाले नै हेर्न सकिन्छ,’ क्यानकै एक सदस्यले भने, ‘१–२ टोलीबाहेक अन्य सेभेन थ्री स्पोर्ट्सकै वरिपरिका हुन् । फिक्सिङ र बेटिङको उजुरीपछि एसीयूका टोलीले ती टोलीका व्यवस्थापकलाई डग आउटमै जान रोकेको थियो । बेटिङबाट आउने रकमले प्रतियोगिता सञ्चालन गर्ने दाउमा रहेका भारतीय आयोजक त्यसपछि भागेको देखिन्छ ।’

प्रकाशित : पुस २१, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×