१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०
नेपाल टी-२० 

'म्याच फिक्सिङ' र 'लाइभ बेटिङ' को आशंकामा सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँ — नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता विवादबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ । सीआईबीले नेपाल टी-२० मा 'म्याच फिक्सिङ' र 'लाइभ बेटिङ' भएको भन्ने उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । 

'म्याच फिक्सिङ' र 'लाइभ बेटिङ' को आशंकामा सीआईबीले थाल्यो अनुसन्धान

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै भने, 'खेलमा म्याच फिक्सिङ र लाइभ बेटिङ भइरहेको छ भन्ने विभिन्न उजुरी आएपछि हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ ।'

त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि मंगलबार प्रहरीलाई खेलमा देखिएको विवादबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले पारिश्रमिक नदिई आयोजक भागेकोबारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विस्तृत जानकारी पनि मागेको छ ।

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । यही विवादका कारण मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल केहीबेर रोकिएको समेत थियो ।

मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमका केही खेलाडीलाई 'फिक्सिङ' लागि प्रस्ताव आएको बताएका छन् । उनले यसबारे आधिकारिक निकायमा रिपोर्टिङ गरिसकेको पनि बताए ।

त्यस्तै प्रतियोगितामा कमेन्टेटरका रूपमा काम गर्दै आएका सचिन तिमल्सेनाले पनि नेपाल टी-२० मा शंकास्पद गतिविधि देखिएको बताएका छन् । उनले मंगलबारदेखि नै कमेन्टेटरको भूमिका छाडेका छन् । उनले भनेका छन्, 'नेपाल टी-२० लाई कमेन्टेटरका रूपमा नजिक बाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन्। आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन ।'

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । मंगलबारसम्म ३४ मध्ये २२ खेल सम्पन्न भइसकेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा नआएको जनाए ।

प्रकाशित : पुस १९, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?